इजरायलको आलोचना गर्ने अमेरिकी सैनिक अधिकृतलाई त्यहाँको रक्षा मन्त्रालयले गर्‍यो बर्खास्त



एजेन्सी । सामाजिक सञ्जालमा छद्नामबाट इजरायलविरोधी सामग्री निरन्तर पोस्ट गर्दै आएका अमेरिकी सैनिक अधिकृत कर्नेल नेथन मककोर्माकलाई त्यहाँको रक्षा मन्त्रालय पेन्टागनले जिम्मेवारीबाट बर्खास्त गरेको छ ।

जोइन्ट चीफ्‌स अफ स्टाफको जे५ योजना निर्देशनालयमा लेभान्ट र इजिप्ट शाखा प्रमुख रहेका मककोर्माकलाई उक्त पदबाट बर्खास्त गरेर अनुसन्धानको दायरामा राखिएको छ ।

जुइस न्युज सिन्डिकेट नामक यहुदीहरूको मिडिया संगठनले मककोर्माकको आपत्तिजनक पोस्टहरूको रिपोर्टिङ गरेको थियो ।

अहिले मककोर्माकको अकाउन्टलाई बन्द गरेर उनीविरुद्धको अनुसन्धान आरम्भ गरिएको हो । उनले नेट नामक अकाउन्टमा आफ्‌नो व्यक्तिगत विवरण र पद तथा जिम्मेवारीको सूचना पनि राख्ने गरेका थिए । इजरायली डिफेन्स फोर्सेससँग गरेको कुराकानीको विवरण पनि उनले अकाउन्टमा पोस्ट गरेका थिए ।

ती पोस्टहरूमा मककोर्माकले नेतान्याहु र उनका अमेरिकामा रहेका यहुदी सर्वोच्चतावादी साथीहरूले इजरायललाई खराब व्यवहार गर्न दुरुत्साहन गरेको लेखेका थिए । अमेरिकामा रहेका इजरायलसमर्थक अभियन्ताहरूले अमेरिकाको वास्तविक अन्तर्राष्ट्रिय सरोकारलाई थाती राखेर इजरायलको समर्थन गराइरहेको पनि उनले लेखे ।

इजरायलले गाजामा जातिसफाया गरिरहेको र लेबननविरुद्धको युद्ध सुरु नगर्नका लागि अमेरिकाले दिएको चेतावनीलाई पनि बेवास्ता गरेको पनि उनले लेखेका थिए ।