
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असार ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना भएको भन्दै त्यस क्षेत्र हुँदै बग्ने भोटेकोशी नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनका अनुसार चीनको प्रहरी कार्यालयमार्फत प्राप्त सूचनामा भोटेकोशी र सुनकोशी नदीको जलस्तर बढ्ने जोखिम देखिएकोले सावधानी अपनाउन आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा बुधबार जारी सूचनामा भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका भोटेकोशी तथा सुनकोशी नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन भनिएको छ ।
प्रशासनले नदी किनार आसपासका नागरिक, स्थानीय निकाय र सरोकारवालाहरुलाई आवश्यक सतर्कता र पूर्वतयारी गर्न अनुरोध गरेको छ।
त्यस्तै काभ्रेपलाञ्चोक प्रशासनले पनि सूचना जारी गरेको छ ।
काभ्रेको भुम्लु, तेमाल र रोशी गाउँपालिकाको सुनकोशी नदी किनारको वस्तीमा जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।








प्रतिक्रिया