
संयुक्त अरब अमिरात यूएईको राजधानी अबु धाबीमा रहेको एक कम्पनीले एक दिन पनि काम नगरेको कर्मचारीलाई १ लाख १० हजार ४०० दिरहाम तिर्नुपरेको खलीज टाइम्सले खबर दिएको छ ।
ती कर्मचारीले कम्पनीबाट अफर लेटर पाएका थिए तर उनलाई काममा राखिएन । त्यसपछि उनले कम्पनीविरुद्ध मुद्दा दायर गर्दै ११ नोभेम्बर २०२४ देखि ७ अप्रिल २०२५ सम्मको तलब रोकिएकाले त्यो दिलाइपाउन मागदाबी गरेका थिए ।
नाम नखुलाइएका ती कर्मचारीले कम्पनीसँग निश्चित अवधिको सम्झौता गरेका थिए । सम्झौतामा उनको बेसिक तलब ७२ सय दिरहाम र कुल मासिक प्याकेज २४ हजार दिरहाम तोकिएको थियो ।
तर सम्झौतामा हस्ताक्षर गरेपछि पनि कम्पनीले उनलाई काम थाल्ने मिति सारेको सार्यै गर्यो ।
यस अवधिमा आफू तलबबाट वञ्चित भएको भन्दै उनले कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतले सबै कागजात हेरेर कर्मचारीलाई काम गर्न ढिलाइ हुनुमा कम्पनी नै दोषी भएको निर्णय गरेको थियो ।
श्रम कानुनअन्तर्गत रोजगारदाताले श्रमिकलाई निश्चित समयभित्रै तलब दिइसक्नुपर्छ ।
अहिलेसम्म नदिएको तलब जोड्दा कम्पनीले कर्मचारीलाई १ लाखभन्दा बढी तलब दिनुपर्ने फैसला गरेको हो ।
कम्पनीले चाहिँ ती कर्मचारी एक दिन पनि काममा नआएको र बिदामा बसेकोले पूरा तलबको हकदार नभएको तर्क गरेको थियो । तर कम्पनीले कर्मचारी गयल भएको विषयमा कुनै पनि अनुसन्धान गरेको प्रमाण पेश गर्न नसकेको र कर्मचारीलाई काम गराउन ढिलाइ हुनुमा कम्पनी नै दोषी रहेको निष्कर्ष अदालतले निकालेको थियो ।
ती कर्मचारीले ८ दिन चाहिँ बिदामा बसेको स्वीकार गरेपछि त्यति दिनको तलब कटाएर बाँकी रकम उनलाई दिइएको थियो ।








प्रतिक्रिया