
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल आरम्भ गरेपछि टिकटकलाई बेच्ने वा बन्द गर्ने विकल्पको समयावधि तेस्रोपटक सारेका छन् ।
टिकटकलाई चलाइरहनका लागि राष्ट्रपति ट्रम्पले थप कार्यकारी आदेशमा हस्ताक्षर गर्ने ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लिभिटले जानकारी दिइन् ।
टिकटक चलाउने चिनियाँ कम्पनी बाइटडान्सले गत जनवरी महिनाभित्रमा अमेरिकी कम्पनीलाई बेच्नुपर्ने निर्देशनलाई पालना नगरेपछि त्यसमाथि प्रतिबन्ध लगाइने अपेक्ष थियो ।
ट्रम्पले थप ९० दिनको अवधि दिएर टिकटकको सबै डेटा अमेरिकामा नै रहने गरी चलाउन दिनका लागि सम्झौता गराउन खोजेको लिभिटले बताइन् ।
ट्रम्प स्वयंले पनि टिकटकलाई अमेरिकामा चल्न दिइरहने आशय व्यक्त गरेका छन् । चीनका राष्ट्रपति सी चिनपिङको स्वीकृतिपछि टिकटकको डेटा अमेरिकामा नै रहने गरी अमेरिकामा टिकटक चल्ने ट्रम्पको भनाइ छ ।
ट्रम्पले यस्तो इच्छा व्यक्त गरेको भए पनि अमेरिकी संसद्ले टिकटकलाई कि बेच्न कि प्रतिबन्ध लगाउने विधेयक पारित गरिसकेको छ । निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त विधेयकमा हस्ताक्षर गरेर कानुन बनाइसकेका छन् ।
टिकटकमा १७ करोड अमेरिकी प्रयोगकर्ताहरू छन् । त्यसलाई चीन सरकारले जासुसी र राजनीतिक अभीष्ट पूरा गर्नका लागि दुरुपयोग गर्न सक्ने भनी अमेरिकी नेताहरू डराएका छन् ।
गत निर्वाचनमा टिकटकमा सक्रिय युवाहरूकै भोटले गर्दा जीत हासिल गरेकाले टिकटकप्रति ट्रम्प नरम धारणा राख्छन् ।
अहिले ट्रम्पले टिकटकको भाग्य निर्धारण गर्ने समयावधिलाई लगातार पछि सारिरहेकाले आफ्नो कार्यकालमा उनी त्यसमाथि प्रतिबन्ध लगाउने पक्षमा नरहेको विश्लेषकहरूले बताएका छन् ।








प्रतिक्रिया