ट्रम्पको कम्पनीले ल्यायो सुनौलो स्मार्टफोन



अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको कम्पनी ट्रम्प अर्गनाइजेशनले अमेरिकामै एसेम्बल गरिएको मोबाइल फोन बजारमा ल्याउने भएको छ ।

ट्रम्प मोबाइल नाम दिइएको सुनौलो टी१ फोनमा ट्रम्पको लोगो छ र त्यसलाई अमेरिकी वायरलेस नेटवर्कमा जोडिने अपेक्षा गरिएको छ ।

कम्पनीले टी१ फोन आगामी अगस्ट महिनामा आउने र त्यसलाई ४९९ डलर पर्ने जनाएको छ । फोनको प्याक ४७.४५ डलर प्रतिमहिनामा खरिद गर्न सकिन्छ ।

फोन लउन्च समारोहमा ट्रम्प अर्गनाइजेशनका उपाध्यक्ष एरिक ट्रम्पले परिश्रमी अमेरिकीहरूलाई पूर्ण अमेरिकी उत्पादन आवश्यक रहेका र आफूहरूले गुणस्तरीय र सस्तो मोबाइल उपलब्ध गराएको बताए ।

उक्त मोबाइलको नेटवर्क अमेरिकाभरि उपलब्ध हुने र ग्राहक सेवाका लागि विदेशमा आउटसोर्सिङ नगरिने पनि ट्रम्प अर्गनाइजेशनले जनाएको छ । ट्रम्प ब्रान्ड प्रयोग गर्ने ग्राहकहरूका लागि भर्चुअल मेडिकल केयर, मानसिक स्वास्थ्य परामर्श र औषधि आपूर्तिको सुविधा लगायतका अन्य विशेष सुविधाहरू पनि उपलब्ध गराइनेछ ।

यसअघि २०२४ फेब्रुअरीमा ट्रम्प अर्गनाइजेशनले ट्रम्प स्नीकर्स जुत्ता बजारमा ल्याएको थियो । ट्रम्पका समर्थकहरूलाई लक्षित गरी रातो, सेतो र नीलो जुत्ताहरू बिक्रीमा राखिएको छ ।