
काठमाडौं । नेपाल क्यान मुभ प्रालि नामक एक कुरियर तथा कार्गो कम्पनीले अष्ट्रेलियामा सर्भर राखेर कर छली गरेकोभन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिका सेयरधनी र सञ्चालकहरुलाई राजस्व चुहावटको कसुरमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।
कम्पनीले व्यवसायिक कारोबारको लागि प्रयोगमा ल्याएको अनलाइन प्रणालीको सर्भर अष्ट्रेलियामा राखेर सेवा बिक्रीको विवरण लुकाइृ कर छली गरेको विभगाले जनाएको छ ।
‘कम्पनीले सेवा बिक्रीको ठूलो कारोबार आन्तरिक राजस्व विभागमा पेश गरेको मूल्य अभिवृद्धि कर’ आय विवरणमा नदेखाई आय विवरण लुकाएर मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएकोले ६ जना विरुद्ध राजस्व चुहावटको कसुरमा मुद्दा दायर गरिएको छ,’ विभागले विज्ञप्ती जारी गर्दै भनेको छ ।
नेपाल क्यान मुभ प्रालीको एकल सेयरधनी नेपाल क्यान ग्रुप प्रालीका सेयरधनी तथा सञ्चालकहरु सुदिप आचार्य, जीवन ज्ञवाली, गंगाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र कम्पनीका उप–कार्यकारी निर्देशक संगम पौडेलविरुद्ध राजस्व चुहावटको मुद्दा दायर गरेको विभागले जनाएको छ ।
उनीहरूले मिलेमतोमा ६८ करोड ४४ लाख ५७६० रुपैयाँ बिगो बराबरको कर छली गरेको दाबीसहित त्यसको शतप्रतिशत जरिवानासमेत गरी एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० असुल उपर गर्नुपर्ने मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको विभागले जनाएको छ ।
मतियारका रूपमा काम गरेको भन्दै उप–कार्यकारी निर्देशक संगम पौडेलकोलाई भने अन्य कसुरदातालाई हुने भन्दाआधा मात्रै सजाय माग गरिएको छ ।
कम्पनीको कारोबार स्थलमा गरेको आकस्मिक निरीक्षणबाट आफ्नो व्यावसायिक कारोबारका लागि प्रयोगमा ल्याएको अनलाइन प्रणाली नियन्त्रणमा लिई आव २०७६/०७७ देखि आव २०८१/८२ को फागुन महिनासम्मको कारोबार खुल्ने ‘ट्रायल ब्यालेन्स’ लगायत महत्त्वपूर्ण कागजात तथा प्रमाणहरू बरामद गरी अनुसन्धान गरेको विभागले जनाएको छ ।
अनुसन्धानका क्रममा कम्पनीले उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी सेवा बिक्रीको ठूलो कारोबार आन्तरिक राजस्व विभागमा पेस गरेको मूल्यअभिवृद्धि कर आय विवरणमा नदेखाई बिक्री आय लुकाई ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको पाइएको जनाएको छ ।
नेपालको कर प्रशासनको निगरानीलाई छल्न उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी नेपालमा सेवा बिक्री लुकाउने र छिपाउने कार्य गरेको दाबी गरिएको छ ।
अनुसन्धानका लागि कम्पनीको मुख्य लगानीकर्ता सुदीप आचार्य (५५.३३ प्रतिशत) र जीवन ज्ञवाली (१६ प्रतिशत) लाई विभागले पटकपटक ताकेता गर्दा समेत उपस्थित नभई फरार भएको विभागले उल्लेख गरेको छ ।
कम्पनीले सेवा बिक्रीलाई तोडमोड गरी म्यानुअल तवरले बिलिङ गरी वास्तविक बिक्री कारोबार लुकाएको विभागले जनाएको छ । यसरी लुकाएका वास्तविक कारोबार ७८ करोड २८ लाख ४६ हजार ७६७ रुपैयाँको १३ प्रतिशत मूल्य अभिवृद्धि कर र र शत प्रतिशल जरिवाना १० प्रतिशतले हुने थप दस्तुर र १५ प्रतिशतले हुने ब्याज समेत गरी २६ करोड ७ लाख ५० हजार ६१५ रुपैयाा ४३ पैसा विगो कायम भएको छ ।
साथै आयकर तर्फ थप कायम गर्नुपर्ने सेवा बिक्री रकम ७८ करोड २८ लाख ४६ हजार ७६७ रुपैयाँलाई तत् तत् वर्षको आयमा समावेश गरी प्रचलित कानुन अनुसरको आयकर र शत् प्रतिशतले हुने जरीवानका साथै १५ प्रतिशतले हुने किस्ताबन्दी ब्याज तथा १५ प्रतिशतले नै हुने ब्याज समेत ४२ करोड ३६ लाख ५५ हजार २४५ रुपैयाा विगो कायम गरेको छ ।
मूल्य अभिवृद्धि कर र आयकर छलीमा गरी कुल ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो । साथै विगोको शत् प्रतिशत जरिवाना समेत गरी कुल १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० रुपैयाँ र कैद सजायको मागदाबी सहित विभागले मुद्दा दायर गरेको छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ विपरित ६८ करोड ४४ लाख ५७६० रुपैयाँ बिगो बराबरको कर छली गरेको विभागको दाबी छ । प्रतिवादीहरूले एकापसमा मिलोमतो गरी उक्त कम्पनीको सर्भर अष्ट्रेलियाबाट सञ्चालन गरेर नेपालको कर प्रशासनको पहुँचभन्दा बाहिर राखी मूल्य अभिवृद्धि कर र आयकरसमेत छली गरेको तथ्य प्रमाणि भएको विभागले जनाएको छ ।
प्रतिक्रिया