एआईले दक्ष कामदारको रोजगारी खोस्छ ? के भन्छन् प्रविधि क्षेत्रका विज्ञ ?


एजेन्सी । आजभोलि कम्पनीहरूले कृत्रिम बुद्धिमत्तालाई ग्रहण गरी स्वचालित प्रणाली अपनाउन थालेपछि एआईले दक्ष कामदारको जागिर खोस्न सक्ने डर बढ्न थालेको छ ।

विशेषगरी भर्खरै मात्र श्रम बजारमा प्रवेश गरेका मानिसलाई कृत्रिम बुद्धिमत्ता (एआई) का कारण रोजगारी गुम्ने डर बढेको छ ।

एआईले कर्मचारीलाई विस्थापित गराउने वा उनीहरूको तलब घटाउने डरका बीच एनभिडिया कम्पनीका सीईओ जेनसेन ह्‌वाङले एआई युगमा रोजगारीहरूको विकास हुने भए पनि नवप्रवेशी दक्ष कामदारहरू भूमिकाविहीन नहुने बताएका छन् । ह्‌वाङले संसारको सबभन्दा बहुमूल्य प्रविधि कम्पनी एनभिडियाको नेतृत्व गर्छन् ।

‘कतिपय रोजगारी हराउँछन् तर धेरै नयाँ जागिर पनि सिर्जना हुन्छन्,’ ह्‌वाङले गत साता भिभाटेक कन्फरेन्समा सम्बोधन गर्दै बताए, ‘कम्पनीहरूले उत्पादन बढाउँदा झन् धेरै मानिस नियुक्त गर्छन् ।’

एन्थ्रोपिक कम्पनीका सीईओ दारियो आमोदेईले हालै गरेको दाबीमाथि प्रतिक्रिया दिँदै ह्‌वाङले यो टिप्पणी गरेका थिए । आमोदेईले लगभग ५० प्रतिशत नवप्रवेशी दक्ष कामदारको जागिर एआईले सिध्याइदिने र आगामी ५ वर्षमा बेरोजगारी २० प्रतिशतले बढ्ने चेतावनी दिएका थिए ।

‘पहिलो कुरा, एआई डरलाग्दो भएकाले एन्थ्रोपिकले मात्र त्यसलाई व्यवस्थापन गर्न सक्छ भन्ने कुरा सोच्छन् उनी,’ ह्‌वाङले भने, ‘दोस्रो कुरा, एआई महँगो भएकाले अरू कसैले पनि यसलाई व्यवस्थापन गर्नुहुँदैन भन्छन् उनी । अनि तेस्रो कुरा, एआई अविश्वसनीय रूपमा शक्तिशाली भएकाले सबैले जागिर गुमाउँछन् र उनीहरूको कम्पनीले मात्र एआई बनाउनुपर्छ भनी सोच्छन् उनी ।’

ह्‌वाङले थपे, ‘मलाई लाग्छ, एआई निकै महत्त्वपूर्ण प्रविधि हो । हामीले यसलाई बनाएर सुरक्षित एवं जिम्मेवार ढंगले यसलाई अघि बढाउनुपर्छ । कुनै पनि कुरा सुरक्षित र जिम्मेवार ढंगले अघि बढाउन खुला भएर गर्नुपर्छ । अँध्यारो कोठामा काम गरेर यो सुरक्षित छ नभन्नुहोला ।’

एआईले भविष्यमा थप रोजगारीको अवसर सिर्जना गर्छ भन्ने कुरामा ह्‌वाङले विश्वास गरेको भए पनि ओपनएआई कम्पनीका साम अल्टम्यानले फरक धारणा राखेका छन् । अल्टम्यानका अनुसार, एआई विकसित हुँदै जाँदा विभिन्न किसिमका रोजगारीहरू निमिट्यान्न हुन्छन् ।

‘प्राविधिक प्रगतिको दर बढिरहनेछ र मानिसहरू जे कुरामा पनि अनुकूलन भइदिन्छन्,’ उनले गत साता एउटा ब्लग पोस्ट लेखेर तर्क गरे ।

‘एकातिर कतिपय रोजगारीहरू गुम्नेछन् भने अर्कातिर संसार द्रुत गतिमा धनी हुन्छ र हामीले नयाँ अवधारणाहरूलाई विकसित गर्न सक्छौं,’ उनले लेखे, ‘हामीले नयाँ सामाजिक सम्झौता ग्रहण गरिहाल्नुपर्दैन तर केही दशकपछि अहिलेको समयलाई फर्केर हेर्दा क्रमिक परिवर्तनहरू कुनै ठूलो परिणाममा विकसित भएको देख्न पाउँछौं ।’

अल्टम्यानका अनुसार, रोजगारी क्षेत्र आगामी केही वर्षमा परिवर्तन हुन सक्छ तर सुपरइन्टेलिजेन्सले नयाँ अवसर पनि सिर्जना गर्नेछ ।

‘शायद कुनै एक वर्ष हामी उच्च ऊर्जा भौतिकशास्त्रका समस्या समाधान गरिरहेका हुन्छौं भने अर्को वर्ष अन्तरिक्षमा बस्ती बसाल्ने काम गर्न सर्न सक्छौं । वा, पदार्थविज्ञानमा कुनै फड्को मारेर अर्को वर्ष उच्च ब्यान्डविथ भएको ब्रेन–कम्प्युटर इन्टरफेसमा प्रवेश गर्न सक्छौं ।’

एआई र रोजगारीका सम्बन्धमा दह्रो विचार राख्ने सीईओ ह्‌वाङ र अल्टम्यान मात्र हैनन् । जोहो मेलका संस्थापक श्रीधर भेम्बुले पनि रोजगारीमा एआईले पार्ने असरका बारेमा स्पष्ट विचार राखेका छन् ।

भेम्बुका अनुसार, कृत्रिम बुद्धिमत्ताले रोजगारी बजारलाई उथलपुथल बनाएमा त्यसका दुईवटा सम्भावित परिणाम आउन सक्छन् । पहिलो, स्वचालित यन्त्रले बनाएका वस्तु र दिएका सेवाको मूल्य स्वाट्टै घट्छ वा दोस्रो, मानिसले मात्र काम गर्न सक्ने जागिरमा तलब ह्‌वात्तै बढ्छ ।

‘एआई र रोजगारीको सवालमा सफ्‌टवेयर विकासलाई स्वचालित बनाउने हो भने म जस्ता सफ्‌टवेयर इन्जिनियरहरू बेरोजगार हुनेछौं तर मानिसले गर्ने काम केही पनि नहुने भन्ने हुँदैन,’ भेम्बुले थपे ।

भेम्बुले यसको बृहत्तर आर्थिक चुनौतीलाई पनि इंगित गरेका छन् । ‘कामदार नियुक्त नगर्ने स्वचालित कारखानाहरूबाट निस्कने सामानलाई मानिसहरूले कसरी किन्न सक्छन् ?’

उता, लिंक्डइन कम्पनीका सहसंस्थापक रीड होफम्यानले कलेजमा के सिकियो भन्ने कुराले जागिर पाउने कुरालाई सुनिश्चित नगर्ने बताए । होफम्यानका अनुसार, जागिर पाउनका लागि एआई टूलको उपयोग गर्ने क्षमता हुनुपर्छ र मानिसहरूसँगको सम्पर्कबाट फाइदा उठाउनुपर्छ ।

उता, गूगलका पूर्व सीईओ एरिक स्मिटले कामदारहरूलाई प्रतिस्पर्धात्मक बन्नका लागि एआई अँगाल्न सुझाव दिएका छन् ।

‘तपाईं कलाकार, शिक्षक, चिकित्सक, व्यापारी वा प्राविधिक जे भए पनि तपाईंले एआई उपयोग नगरेमा आफ्‌ना समकक्षी, प्रतिस्पर्धी र सफलताको खोजी गरिरहेका मानिसमाझ सान्दर्भिकता गुमाउनुहुनेछ,’ स्मिटले टेड २०२५ मा प्रवचन दिँदै बताए । छिट्टै एआई ग्रहण गर्न उनले आग्रह गरे ।

एआईका कारण व्यापक रूपमा रोजगारी गुम्ने सम्भावनालाई केही अन्य सीईओले खारेज गरेका छन् । गूगलका सीईओ सुन्दर पिचाईले एआईलाई उत्पादकत्व तथा नयाँ रोजगारीको उत्प्रेरकका रूपमा वर्णन गरेका छन् । तर यस विषयमा विशद छलफल गर्नु जरुरी रहेको उनको भनाइ छ ।

गूगल डीपमाइन्डका प्रमुख डेमिस हासाबिसले एआईबाट श्रमिकलाई जोखिम हुने भन्दा पनि त्यसको बृहत्तर खतरा रहेको बताएका छन् । उता बिल गेट्सले चाहिँ विभिन्न उद्योगहरूमा आवश्यक रहेको विज्ञतालाई एआईले थप विस्तार गर्ने भनाइ राखेका छन् ।