इजरायली आक्रमणमा इरानका गुप्तचर अधिकृतको मृत्यु


इजरायल र इरानबीचको द्वन्द्व चौथो दिनमा प्रवेश गर्दा आइतवार इजरायलले गरेको आक्रमणमा इरानको रिभोल्युशनरी गार्‌ड्सका गुप्तचर प्रमुख मोहम्मद काजेमी र उनका सहायकको मृत्यु भएको इरानको अर्धसरकारी समाचार संस्था तस्निमले खबर दिएको छ ।

आइतवार अमेरिकाको फक्स न्युजलाई अन्तर्वार्ता दिँदै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी गुप्तचर अधिकृतको हत्या गरेको पुष्टि गरे ।

इजरायली आक्रमणमा इरानका २२४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । मर्नेमध्ये ९० प्रतिशत गैरसैनिक नागरिक भएको उनको भनाइ छ ।

इजरायलले इरानमा सैन्य लक्ष्यमा प्रहार गर्ने सर्जिकल स्ट्राइकको दाबी गरेको भए पनि आवासीय क्षेत्रमा रहेका महिला र बालबालिका उक्त आक्रमणमा मारिएको इरानको दाबी छ ।

त्यस्तै इरानी आक्रमणमा परेर १४ जना इजरायलीले ज्यान गुमाउनुपरेको बताइएको छ । सयौं मानिस घाइते छन् र तीनजना हराइरहेका छन् ।

यसैबीच अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच छिट्टै शान्तिबहाली हुने बताए । शान्तिबहालीका लागि अनेकौं बैठक र फोनकलहरू भइरहेको उनको भनाइ छ ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीलाई हत्या गर्ने इजरायलको योजनालाई ट्रम्पले रोकिदिएको दुईजना अमेरिकी अधिकृतले रोयटर्स समाचार संस्थालाई आइतवार बताए । इजरायलले इरानमाथि थालेको भीषण आक्रमणपछि अमेरिकी अधिकारीहरू इजरायली समकक्षीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ । त्यसैक्रममा आयातोल्लाहलाई मार्ने अवसर यही हो भनी इजरायली अधिकारीहरूले भन्दा ट्रम्पले त्यसलाई रोकेका थिए ।

इरानी समाचार संस्था तस्निमले दिएको एउटा खबरमा उल्लेख भएअनुसार इरानका सुरक्षाफौजहरूले राजधानी तेहरानको दक्षिणपट्टि रहेको शहर–ए रे नामक स्थानमा गोप्य ड्रोन उत्पादन केन्द्र फेला पारेका छन् । उक्त केन्द्रको भवनको तेस्रो तल्लामा घरेलु बम र २०० किलोभन्दा बढी विस्फोटक पदार्थ फेला परेको हो ।

इजरायली एजेन्टहरूले ड्रोन बनाउन र भण्डारण गर्न उक्त स्थानको उपयोग गरिरहेको इरानी सुरक्षाकर्मीहरूको दाबी छ ।