
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले थप ३६ मुलुकका नागरिकहरूमाथि अमेरिका यात्रामा बन्देज लगाउने तयारी गरिरहेको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।
यही जुन महिनाको आरम्भमा ट्रम्पले १२ वटा मुलुकका नागरिकलाई अमेरिका पस्न प्रतिबन्ध लगाएका थिए । ‘विदेशी आतंकवादी’ बाट अमेरिकालाई जोगाउनका लागि यो कदम आवश्यक रहेको उनको भनाइ थियो ।
आफ्नो दोस्रो कार्यकालको आरम्भदेखि नै ट्रम्पले आप्रवासीहरूप्रति कठोर रवैया अपनाइरहेका छन् । उनले भेनेजुएलाको आपराधिक समूहका भनिएका सयौं व्यक्तिलाई एल साल्भादोरतर्फ पठाएका छन् । त्यस्तै उनले अमेरिकी विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीलाई भर्ना लिनबाट रोक्ने र कतिपय विद्यार्थीलाई देशनिकाला गर्ने कदम चालेका छन् ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले हस्ताक्षर गरेको आन्तरिक कूटनीतिक पत्रमा ३६ वटा मुलुकहरूमा विभिन्न समस्या रहेको र तिनको समाधान नभएसम्म ती देशका नागरिकलाई अमेरिका आउन नदिने भनिएको छ ।
ती देशहरूले आफ्ना नागरिकलाई भरपर्दो पहिचानपत्र दिन नसकेको र देशको राहदानीको सुरक्षाका विषयमा प्रश्न उठाउने ठाउँ रहेको अमेरिकाको विदेश मन्त्रालयको परिपत्रमा उल्लेख छ ।
कतिपय देशका नागरिकले अमेरिकी भिसाको अवधि नाघेको भए पनि अमेरिकामा बसिरहेको र तिनलाई हटाउने सवालमा अमेरिकालाई सहयोग नगरेको आरोप पनि परिपत्रमा लगाइएको छ ।
यी सरोकारलाई सम्बोधन नगर्ने देशमा पूर्ण वा आंशिक प्रतिबन्ध लगाइने भनिएको छ । ती देश हुन् : अंगोला, एन्टिगा यान्ड बार्बुडा, बेनिन, भुटान, बुर्किना फासो, काबो भेर्दे, कम्बोडिया, क्यामरून, कोते दआइभोर, कंगो, जिबुटी, डोमिनिका, इथियोपिया, इजिप्ट, गाबोन, द गाम्बिया, घाना, किर्गिजस्तान, लाइबेरिया, मलावी, मौरिटानिया, नाइजर, नाइजेरिया, सेन्ट किट्स यान्ड नेभिस, सेन्ट लुसिया, साओ टोमे यान्ड प्रिन्सिपे, सेनेगल, दक्षिण सुडान, सिरिया, तान्जानिया, टोंगा, टुभालु, युगान्डा, भानुआतु, जाम्बिया र जिम्बाब्वे ।
प्रतिक्रिया