
तस्बिर स्रोत : रोयटर्स
भारतको उत्तर प्रदेशस्थित गाजियाबादको हिन्डन विमानस्थलबाट कोलकाताका लागि उड्न लागेको एयर इन्डिया एक्सप्रेसको विमानमा प्राविधिक समस्या देखिएपछि धावनमार्गमै एक घन्टा राखिएको छ ।
उडान नं आईएक्स १५११ लाई समस्या देखिएपछि हिन्डन विमानस्थलको धावनमार्गमा नै राखेर मर्मतसम्भार गरिएको थियो । हिन्डन विमानस्थल खासमा सैन्य प्रयोजनका लागि बनाइएको हो तर अहिले त्यसमा सीमित रूपमा कमर्सियल उडान पनि गर्न थालिएको छ ।
एयर इन्डिया एक्सप्रेस एयर इन्डियाअन्तर्गतकै विमान कम्पनी हो । उसले एक प्रेस विज्ञप्ति जारी गरेर उडानमा ढिलाइ भएको र यात्रुगणलाई पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी रहेको जनायो ।
यात्रुहरूलाई अर्को उडानको व्यवस्था गरेको र उड्न नचाहेका यात्रुलाई पूरा भाडा फिर्ता गरेको जानकारी पनि उसले दियो ।
विमानस्थल स्रोतहरूलाई उद्धृत गर्दै एनडीटीभीले दिएको खबरअनुसार, विमान धावनमार्गसम्म गुडाएर ल्याइसकेपछि विमान कर्मचारीले प्राविधिक समस्या पत्ता लगाएका थिए । ग्राउन्ड इन्जिनियरहरूलाई तत्कालै बोलाएर जाँचबुझ गर्न लगाइएको थियो । जाँचबुझ गर्दा १ घन्टा लागेको थियो ।
के प्राविधिक समस्या आइलागेको हो भनी एयर इन्डिया एक्सप्रेसले खुलाएको छैन ।










प्रतिक्रिया