चीनले बनायो स्टीलको हाइपरसोनिक क्षेप्यास्त्र, कम लागतमै खतरनाक हतियार निर्माण


एजेन्सी । चिनियाँ वैज्ञानिकहरूले स्टेनलेस स्टील उपयोग गरी हाइपरसोनिक क्षेप्यास्त्र बनाएका छन् । अत्यधिक ताप हुँदा स्टील पग्लने भए पनि यो नयाँ स्टीलमा पग्लिने समस्या छैन ।

परम्परागत रूपमा हाइपरसोनिक क्षेप्यास्त्रका पाटपुर्जाहरू टुंगस्टेन जस्ता दुर्लभ र महँगा पदार्थबाट बन्ने गर्छन् । तिनीहरू अत्यन्तै धेरै तातेपछि मात्र पग्लिने स्थितिमा पुग्छन् ।

स्टेनलेस स्टील भने १२ सय डिग्री सेल्सियसमै पग्लन थाल्छ । त्यसैले हाइपरसोनिक क्षेप्यास्त्र प्रणालीका लागि स्टील खासै उपयोग गरिँदैनथियो ।

तर चिनियाँ अनुसन्धाताहरूले विकसित गरेको ताप संरक्षण प्रणालीले स्टेनलेस स्टीललाई हाइपरसोनिक उडानको समयमा ३ हजार डिग्री सेल्सियसभन्दा बढीको तापक्रम पनि थेग्न सक्ने बनाएका छन् ।

यस आविष्कारले हाइपरसोनिक क्षेप्यास्त्रको उत्पादन लागत घटाएको मात्र नभई चीनलाई अत्याधुनिक क्षेप्यास्त्र द्रुत गतिमा बनाउन पनि क्षमतावान बनाएको छ ।

रक्षा क्षेत्रमा बाहेक पनि यो आविष्कारले एयरोस्पेस र ऊर्जा क्षेत्रमा पनि लाभ दिनेछ । विशेयागरी पुनः प्रयोग गर्न सकिने अन्तरिक्षयान तथा अत्याधुनिक पावर प्लान्ट जस्ता उच्च तापक्रम आवश्यक हुने उद्योगलाई पनि लाभान्वित बनाउनेछ ।

भौतिक विज्ञानको क्षेत्रमा यो कोशेढुंगा भएको विज्ञहरूको भनाइ छ । चीनले स्थापित मान्यतालाई दिएको चुनौती र लामो समयदेखि रहिआएका समस्याको सिर्जनात्मक समाधान खोज्ने उसको क्षमतालाई यसले दर्शाएको विज्ञहरू बताउँछन् ।

ध्वनिको गतिभन्दा पाँच गुणा बढी छिटो उड्ने हाइपरसोनिक क्षेप्यास्त्रको प्रतिरक्षा गर्ने प्रणाली कुनै पनि देशले बनाउन सकेका छैनन् । अहिले चीन र रुससँग हाइपरसोनिक क्षेप्यास्त्रहरू छन् ।