यमनका हूतीहरूले पनि इजरायलमाथि थाले हवाई आक्रमण



एजेन्सी । इरानसँग साझेदारी गरेका यमनका हूती समूहले आइतवार इजरायलमाथि आक्रमण गरेका छन् ।
तेहरानसित मिलेर इजरायलविरुद्ध संयुक्त कारवाही थालेको घोषणा हूतीहरूले गरेका हुन् ।

हूतीहरूले विगत २४ घन्टामा इजरायलको जाफामा अनेकौं बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको सेनाका प्रवक्ता येहया सारियाले टेलिभिजन सम्बोधनमा बताए ।

‘दमन गरिएका प्यालेस्टाइनी र इरानीहरूको विजयका लागि यो कारवाही गरिएको हो,’ उनले थपे, ‘अपराधी इजरायली शत्रुविरुद्ध इरानी सेनाले गरिरहेको सैन्य कारवाहीमा हाम्रो एक्यबद्धता रहेको छ ।’

इरान र यमनबाट क्षेप्यास्त्र प्रहार भएपछि देशभरि खतराको साइरन बजाइएको इजरायली सेनाले जनाएको छ ।

इजरायलले शुक्रवारबाट इरानमाथि सैन्य कारवाही थालेपछि दुई देशबीच प्रत्याक्रमणको सिलसिला जारी छ ।

इजरायलले इरानमाथि आक्रमण गरेर्क दिन यमनबाट इजरायलतर्फ आएको एक क्षेप्यास्त्र पश्चिम किनारको हेब्रोनमा खसेको थियो । तर, त्यतिखेर हूतीहरूले क्षेप्यास्त्र आक्रमणको जिम्मेवारी लिएका थिएनन् ।

हूतीहरूले प्यालेस्टाइनीहरूको समर्थनका लागि भन्दै विगत डेढ वर्षदेखि इजरायलमाथि समयसमयमा आक्रमण गर्र्दै आएका छन् ।

त्यसको बदलामा इजरायलले पनि हूतीहरूमाथि आक्रमण गरिरहेको छ । सन् २०२५ को आरम्भतिर अमेरिकाले पनि हूतीहरूमाथिको आक्रमण चर्काएको थियो । हूतीहरूले अमेरिकी जहाजमा आक्रमण नगर्ने सहमति गरेपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आक्रमण रोक्ने आदेश दिएका थिए ।