एयर इन्डियाको प्लेन उडेको ३० सेकेन्डमै दुर्घटनामा पर्नुका यी हुन् सम्भावित ४ कारण

कारण खोज्न भारत, बेलायत र अमेरिकाका विज्ञहरू एकजुट

2.2k
Shares

एजेन्सी । भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १.५ किलोमिटर टाढा टेकअफ गरेलगत्तै दुर्घटनामा परेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनरको कारण पत्ता लगाउन अधिकारीहरू प्रयासरत छन् ।

यो उद्देश्यका लागि भारत, बेलायत र अमेरिका मिलेर संयुक्त अनुसन्धान गर्नेछन् । सन् २०११ मा व्यावसायिक उडानमा आएको ७८७-८ ड्रीमलाइनरको लागि यो पहिलोपटक यस्तो गम्भीर दुर्घटना हो । बिहीवार भएको दुर्घटनामा विमानमा सवार २४१ जना यात्रु र विमान खसेको स्थानमा रहेका केही व्यक्तिहरुको मृत्यु भएको पुष्टि भएको छ ।

बीबीसीले भारतमा रहेका विमान चालक र उड्डयन विज्ञहरूसँग विमान उडेको केही क्षणमै सघन बस्तीमाथि खस्नुको सम्भावित कारणबारे छलफल गरेको छ । तीमध्ये धेरैले नाम उल्लेख नगर्ने सर्तमा बोलेका छन् ।

विमानले उचाइ लिन सकेन ?

दुर्घटनाग्रस्त विमानका कप्तान सुमित सबरवाल र सहचालक क्लीभ कुन्दर अत्यन्तै अनुभवी पाइलट थिए । उनीहरूले संयुक्त रूपमा ९,००० घण्टाभन्दा बढी उडान गरेका थिए भने सबरवालसँग मात्र २२ वर्षभन्दा बढीको व्यावसायिक अनुभव थियो ।

२४२ यात्रु बोकेको यो विमान एअर इन्डियाका अनुसार स्थानीय समयअनुसार दिउँसो १३:३९ बजे उडेको थियो । गृहमन्त्री अमित शाहका अनुसार उडानका बेला विमानमा १०० टन इन्धन थियो, अर्थात् इन्धन ट्याङ्क पूर्ण भरिएको थियो ।

उडानपछि तुरुन्तै विमानले ‘मेडे कल’ गरेको भारतीय हवाई नियामकले जनाएको छ । त्यसपछि कुनै प्रतिक्रिया प्राप्त भएन । दुर्घटनाबाट जीवित बच्न सफल एक यात्रुका अनुसार विमानले उचाइ लिन संघर्ष गरिरहेकै बेला एक ठूलो आवाज आएको थियो ।

बीबीसीले प्रमाणित गरेको सीसीटीभी फुटेजमा विमान अत्यन्तै होचो उचाइमा सघन बस्तीमाथि उडेको देखिन्छ । पछिल्लो तथ्यांकअनुसार विमान ६२५ फिटको उचाइमा पुगेपछि झर्न थाल्यो र रुख तथा घरहरूसँग ठोक्किएको थियो, जसपछि एक ठूलो विस्फोट भएको देखिन्छ ।

एक पाइलटका अनुसार, ‘यदि दुवै इन्जिनले काम नगरेको भए, पाइलटले प्रतिक्रिया जनाउने मौका नै पाउँदैनथे ।’ फुटेज अनुसार विमान लगभग ३० सेकेन्ड मात्र हावामा थियो ।

विमान खसेको ठाउँमा सरकारी भवन, अस्पताल र आवासीय संरचनामा गम्भीर क्षति पुगेको छ ।

दुईवटै इन्जिन फेल भएको आशंका

दुईवटा इन्जिन फेला दुर्घटनाको कारण भएको हुनसक्ने अनुमान लगाइए पनि, यसको पुष्टि सीधा भिडिओ हेरेर गर्न सम्भव छैन।

विस्तृत अनुसन्धानका लागि विमानको ‘ब्ल्याक बक्स’ र भग्नावशेषको परीक्षण गरिनेछ । भिडिओहरू अनुसार विमान जमिनबाट उचाइ लिन नै संघर्ष गरिरहेको देखिन्छ ।

कसैकसैले आपतकालीन ऊर्जा उत्पन्न गर्ने ‘र्‍याम एअर टर्बाइन’ सक्रिय गरिएको थियो कि थिएन भन्ने प्रश्न उठाएका छन् । यो प्रणाली मुख्य इन्जिन नचल्दा स्वतः काम गर्न थाल्छ ।

‘डबल इन्जिन फेल’ घटना अत्यन्तै दुर्लभ मानिन्छ । यस्तै एक चर्चित घटना सन् २००९ मा भएको ‘मिरकल अन द हड्सन’ थियो, जसमा यूएस एयरवेजको विमान चरासँग ठोक्किएर दुवै इन्जिन फेल भए पनि पाइलटले सुरक्षित अवतरण गराएका थिए ।

एक वरिष्ठ पाइलटका अनुसार इन्धनको अशुद्धता वा पाइपको अबरोधले पनि डबल इन्जिन फेल हुन सक्छ, जसले इन्धन आपूर्ति रोकेर इन्जिन बन्द गरिदिन्छ ।

तर, पूर्वपाइलट मार्को चानले फुटेजका आधारमा यस्तो निष्कर्षमा पुग्न अझै प्रमाण अपर्याप्त रहेको बताएका छन् । उडान विश्लेषक मोहन रङ्गनाथनले पनि यस्ता घटना ‘अत्यन्तै दुर्लभ’ भएको बताएका छन् ।

इन्जिन निर्माता जीई एरोस्पेसले अनुसन्धान टोली भारत पठाइरहेको छ भने बोइङले पनि एअर इन्डियालाई पूर्ण सहयोग दिने जनाएको छ।

चरासँग ठोक्किएको हुन सक्ने

दुर्घटनाको अर्को सम्भावित कारण चरासँग ठक्कर हुनसक्ने पनि विज्ञहरूले औँल्याएका छन् । चरासँग ठोक्किँदा विमानको इन्जिन गम्भीर रूपमा क्षतिग्रस्त हुन सक्छ ।

विगतमा जेजु एअरको दुर्घटनामा यस्तै घटनाले १७९ जनाको मृत्यु भएको थियो ।

अहमदाबाद विमानस्थल चरासँग ठोक्किने घटनामा कुख्यात मानिन्छ । बीबीसीसँग कुराकानी गरेका तीन पाइलट र विश्लेषक रङ्गनाथनले भने, ‘त्यहाँ चरा त सधैं हुन्छन् ।’

पछिल्ला पाँच वर्षमा गुजरात राज्यमा ४६२ पटक विमानहरू चरासँग ठोक्किएको घटना भएको छ । सन् २०२२–२३ मा मात्र अहमदाबादमा ३८ घटना भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा ३५% ले वृद्धि थियो ।

यद्यपि, एक वरिष्ठ पाइलटका अनुसार सामान्यतया चरासँग ठोक्किँदामात्रै यति गम्भीर दुर्घटना हुँदैन जबसम्म दुवै इन्जिन एकैचोटि प्रभावित हुँदैनन् ।

पखेटा समस्याको आशंका

केही विशेषज्ञले टेकअफका बेला विमानका पखेटा पूर्णरूपमा फैलिएका थिएनन् भन्ने आशङ्का व्यक्त गरेका छन् । यद्यपि अरू पाइलटहरूले उक्त तर्कमाथि प्रश्न उठाएका छन् ।

पखेटा टेकअफका बेला विमानलाई कम गतिमा पनि उचाइ लिन मद्दत गर्ने महत्त्वपूर्ण संरचना हो । यदि यी पूर्ण रूपमा खुलाइएनन् भने, उचाइ लिन कठिन हुन्छ, विशेष गरी तातो मौसम, बढी इन्धन र पूर्ण सिट क्षमतामा ।

अहमदाबादमा दुर्घटना भएको दिन तापक्रम ४० डिग्री सेल्सियस थियो । यस्तो अवस्थामा पखेटा बढी खुलिनुपर्ने र इन्जिनले पर्याप्त थ्रस्ट दिनुपर्ने हुन्छ । सानो त्रुटिले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

सीसीटीभी फुटेज अनुसार विमानले टेकअफपछि उचाइ लिन असफल भयो र बिस्तारै झर्न थाल्यो ।

बीबीसीसँग कुराकानी गरेका पाइलटका अनुसार यदि पखेटा नखुलाइ उडाइएको भए, पाइलटलाई ‘टेकअफ कन्फिगरेशन वार्निङ’ प्रणालीबाट सूचना मिल्ने थियो ।

पूर्वपाइलट चानका अनुसार हालसम्म प्राप्त फुटेजबाट पखेटा फैलिएको वा नफैलिएको पुष्टि गर्न सकिएको छैन । तर उनले भने, ‘पखेटा विस्तारण पाइलटहरूले टेकअफअघि प्रक्रिया अनुसार अनिवार्य रूपमा गर्नुपर्छ, अन्यथा मानवीय त्रुटि मानिन्छ ।’

बीबीसीबाट