
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ होङ्बोसँग भेटवार्ता भएको छ । ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा जनेभामा भएको भेटवार्तामा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष ढकालले महासंघ मर्यादित श्रम र समावेशी आर्थिक वृद्धिका लक्ष्यहरूमा प्रतिबद्ध रहेर काम गर्दै आएको बताउँदै रोजगारदाता लक्षित सहयोग विस्तारमा जोड दिए । उनले आइएलओको निरन्तर सहयोगबाट नेपालका श्रमिक तथा उद्यम दुवैले ठोस प्रगति गर्न सक्नेमा आफु विश्वस्त रहेको बताउँदै आउने दिनमा थप सहयोगको अपेक्षा गरेको बताए ।
‘नेपाल सन् २०२६ मा अतिकमविकसित देशको श्रेणीबाट स्तरोन्नती हुँदैछ, त्यसपछि नयाँ व्यापार नियमहरू लागू हुनेछन् । यसले हाम्रो निर्यात क्षमतामा र त्यससँग जोडिएका रोजगारीहरूमा असर पर्न सक्छ । त्यसैले यो अवस्थामा हाम्रो लागि सहयोगको खाँचो छ’ उनले भने ।
नेपालको निजी क्षेत्रको एकमात्र आधिकारिक रोजगारदाता संगठनका रूपमा महासंघले त्रिपक्षीय श्रम प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष ढकालले स्पष्ट पारे । आइएलओसँगको निरन्तर सहकार्यप्रति आभार प्रकट गर्दै, अध्यक्ष ढकालले काठमाडौंस्थित आइएलओ कार्यालयबाट प्राप्त सहयोग प्रति आभार व्यक्त गरे ।
११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको क्रममा जेनेभामा रहेका अध्यक्ष ढकालले रोजगारदाताहरुको अन्तरराष्टिय संगठन इन्टरनेशनल अर्गनाइजेशन अफ इम्पोलयर्स (आइओइ) का महासचिव रोबर्टो स्वारेज सान्तोस तथा डब्ल्यूटीओका उपमहानिर्देशक झाङ शियाङछेन्सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया