टिकटकबाट वार्षिक ३ अर्ब कमाउने स्टारले किन छाडे अमेरिका ?


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुविरुद्ध कडा नीति लिइरहँदा त्यहाँ रहेका आप्रवासीहरुमा असुरक्षित भविष्यको भय फैलिरहेको छ । हालै मात्र एक जना टिकटक स्टार खेबी लेमको पक्राउको विषयले ट्रम्पको आप्रवासी विरोधी नीतिलाई थप उजागर गरेको छ ।

यससँगै खेबी लेमले अमेरिका छाडेको घटना ट्रम्पको कडा नीतिकै परिणामको रुपमा देखिएको छ । हालै मात्र सेनेगल मूलका इटालियन कन्टेन्ट क्रिएटर तथा टिकटक स्टार खेबी लेमले अमेरिका छाडे ।

२५ वर्षीय खेबी भिसा अवधिभन्दा धेरै अमेरिका बसेको आरोपमा शुक्रबार मात्रै लास भेगासस्थित ह्यारी रेड इन्टरनेसनल एयरपोर्टमा पक्राउ परेका थिए । र त्यसलगत्तै उनलाई अमेरिका छाड्न बाध्य पारियो ।

यद्यपि उनी अमेरिका छाडेर कहाँ गए भन्नेबारे अमेरिकी अधिकारीहरुले प्रष्ट पारेका छैनन् । लेम सेनेगलमा जन्मिएका थिए र पछि परिवारको साथमा इटालीको टुरिनमा गएर बसोबास गरे । आधिकारिक रुपमा उनी इटालीका नागरिक हुन् ।

तर यसपटक अमेरिका छाडेपछि उनी इटाली नै फर्किए कि अन्यत्र गए भन्ने प्रष्ट छैन । जवकि उनले सोमबार आफ्नो इन्स्टाग्राममा ब्राजिलको साओ पाओलो लोकेसन देखाउँदै एक तस्बिर पोस्ट गरेका थिए ।

को हुन् खेबी लेम ?

खेबी लेख टिकटकमा सर्वाधिक फलोअर्स भएका कन्टेन्ट क्रिएटर हुन् । जसका १६२ मिलियन अर्थात् १६ करोड २० लाख फलोअर्स छन् । यसैगरी उनको इन्स्टाग्राममा ८ करोड र १२.५ मिलियन युट्युब सब्सक्राइबर्स छन् । जब कोरोना महामारीको बेला जागिर गुमाए त्यसपछि उनले टिकटकमा कन्टेन्ट बनाएर राख्दाराख्दै उनी टिकटक स्टार बन्न पुगे ।

‘लाइफ ह्याक’ थिममा मकिङ भिडियो बनाएर राख्दा राख्दै उनले व्यापक रुपमा आफ्ना फलोअर्स बढाएका हुन् ।

प्रारम्भिक दिनहरुमा उनले भिडियो गेम खेलेको र डान्स गरेको भिडियोहरु पोस्ट गर्थे । तर कोरोना महामारीमा जागिरबाट निकालिएपछि उनले आफ्नो फुर्सदको समयलाई यसरी सदुपयोग गरे कि त्यसपछि टिकटक भिडियोमै आफ्नो नयाँ करिअर बनाए । लाइफ ह्याक नामको उनको थिम नै व्यापक चर्चित बन्यो । भिडियोमा कुनै वाक्य नबोलेरै उनले इसारा र एक्सप्रेसनबाटै धेरैलाई आकर्षित गर्न थालेका थिए ।

उनको चर्चा यति चल्यो कि, २०२१ को अगस्टमा उनी जुभेन्टस फुटबल क्लबको म्यानुएल लोक्याटेली घोषणाको क्रममा को स्टारको रुपमा देखिए । साथै २०२१ को सेप्टेम्बरमा विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा विशेष अतिथिको रुपमा सहभागी भएका थिए । २०२२ मा भने उनी फोब्र्सको ४० वर्षमुनिका ४० युवा साथै ३० वर्षमुनिका ३० प्रभावशाली युवाको सूचीमा परे ।

२०२२ को जुनपछि नै उनले सर्वाधिक टिकटक फलोअर्स भएका व्यक्तिहरुमा पहिले बनेका हुन् । जवकि उनले क्रिएटर तथा डान्सर चार्ली डि एमेलियोलाई पनि उछिनेका छन् । अमेरिकामा पक्राउ पर्नुभन्दा केही साताअघि उनी न्युयोर्कस्थित मेट गालामा सहभागी थिए ।

अमेरिकाभर विशेषगरी, लस एन्जलसमा आप्रवासीहरुलाई लक्षित गर्दै विरोध प्रदर्शन भइरहँदा लेम पक्राउ परेका थिए । जहाँ प्रहरीले दर्जनौँ आप्रवासीहरुलाई हिरासतमा लिएपछि शनिबारसम्म विरोध प्रदर्शन हिंसात्मक बनिसकेको हो ।

हाल लस एन्जलसमा नेसनल गार्डहरुलाई तैनाथ गरिएको छ । मंगलबारसम्म लस एन्जलस अशान्त बनिसकेको छ । साथै विभिन्न हिंसात्मक घटना भइसकेका छन् ।

खेबीले कति कमाउँछन् ?

नेपाली टिकटकरहरुले छाटो अवधिमै करोडौं कमाएर घर बनाएका र सामाजिक काम गरेका समाचार त सुनिएकै छ । विशेषगरी टिकटकमा लाइभ बसेर गिफ्ट माग्दै पैसा कमाउने नेपाली युवाहरुको संख्या व्यापक बढ्दो छ ।

यसरी टिकटक लाइभ बसेर कमाउने क्रममा कतिपयले त नग्न शरीर प्रदर्शन गर्ने गरेको पनि पाइन्छ । जसकारण नेपालमा टिकटक प्लेटफर्म नै आलोचित पनि बनेको छ ।

तर अमेरिकामा बसेर लेमले टिकटकबाट कमाएको र प्रभाव जमाएको देख्दा जोकसैलाई लोभ लाग्नसक्छ । लेम सामाजिक सञ्जालबाट सर्वाधिक पैसा कमाउने कन्टेन्ट क्रिएटरमध्ये एक हुन् । २०२४ सम्म भने उनी सोसल मिडियाबाट धेरै कमाउनेमध्ये १०औं नम्बरमा थिए । जतिबेलादेखि नै उनले वार्षिक २ करोड अमेरिकी डलर कमाएका छन् । यसवाहेक उनी २०२२ मा फोर्ब्सको युरोप आर्ट्स एन्ड कल्चर अन्तर्गत ३० वर्षमुनिका ३० युवाहरुको सूचीमा सूचीकृत भएका थिए ।

पछिल्लो तथ्यांक अनुसार लेमले वार्षिक रुपमा २ अर्ब ७४ करोड ३० लाख २० हजार ७२३ नेपाली रुपैयाँ बराबर कमाउँछन् । अर्थात् मासिक रुपमा २२ करोड, साप्ताहिक रुपमा ५ करोड २७ लाख ५० हजार ३९८ र दैनिक रुपमा १ करोड ५ लाख ५० हजार नेपाली रुपैयाँ बराबर कमाउँछन् ।

सोसल मिडिया प्लेटफर्म मात्रै नभएर अन्य क्षेत्रको तुलनामा पनि उनको यो कमाइ आकर्षक मात्रै नभएर जोसुकै नेपालीको भन्दा धेरै हो । अर्थात् विश्वभरका धनाढ्य व्यक्तिहरुकै स्तरमा उनले कमाउँदै आएका छन् ।

पछिल्लो समय ट्रम्पले आप्रवासीहरुविरुद्ध कडा नीति अवलम्वन गरेपछि लेमले अमेरिका छाडे । जुन विषयलाई धेरैले चासो साथ हेरेका छन् । यसले लेमका समर्थक मात्र नभएर अन्य स्वतन्त्र व्यक्तिहरुले पनि ट्रम्पको नीतिको विरोध गरिरहेका छन् ।