कसैको पक्ष वा विपक्षमा नलाग्ने प्रतिबद्धतालाई क्लिकमान्डुले कायम राख्ने अपेक्षा छः अर्थमन्त्री पौडेल

91
Shares

काठमाडौं । नेपाल सरकारका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले क्लिकमान्डुले कसैको पक्ष वा विपक्षमा उभिने छैन भनेर गरेको प्रतिबद्धता आगामी दिनमा पनि कायम राख्ने अपेक्षा व्यक्त गरेका छन् ।

सोमबार क्लिकमान्डु डटकमले आयोजना गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’को कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । ‘क्लिकमान्डुले कसैको पक्ष वा विपक्षमा उभिँदैन भन्ने प्रतिबद्धतालाई आगामी दिनमा पनि सधैं कायम राख्छ भन्ने लाग्छ । कुनै पनि सञ्चार हाउसले कसैको पक्ष वा विपक्षमा नलागी स्वस्थ र आलोचनात्मक पत्रकारिता गर्नुपर्दछ,’ अर्थमन्त्री पौडेलले भने, ‘मौद्रिक सुशासन प्रकाशनले हाम्रो मौद्रिक नीतिको महत्व, यसले पार्ने प्रभावका विषयमा उल्लेखनीय बोलेको छ जुन निकै पठनीय छ ।’

उनले सबैतिर मौद्रिक नीतिको सन्दर्भमा केही प्रश्नहरु उठ्ने गरेको बताए । मौद्रिक सुशासनका विषयमा हामीले कहाँ र कसरी काम गर्नुपर्छ भन्ने विषयमा छलफल हुनुपर्ने पनि उनले औंल्याए । मौद्रिक नीति र वित्त नीति, नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालय र गभर्नर तथा अर्थमन्त्रीको सम्बन्धका विषयमा हाम्रोमा धेरै प्रश्न उठ्ने गरेको भएपनि त्यसलाई सन्तुलन गरेर लैजाने उनले बताए ।

‘नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालय दुई निकाय र मौद्रिक नीति तथा वित्त नीति एकअर्कामा सन्तुलन कायम गरेर जानुपर्छ भन्ने छ । गभर्नरले पनि वित्त नीति र मौद्रिक नीति एक अर्कोलाई रोक्ने भन्दा पनि सन्तुलन मिलाएर जानुपर्छ भन्ने कुरा गर्नु भएको छ,’ पौडेलले भने, ‘यसले पनि आगामी दिनमा हाम्रो मौद्रिक तथा वित्त नीतिमा सन्तुलन नहोस् भनेर चाहनेहरु पछाडि छोडिने निश्चित छ ।’ उनले दुई नियकाबीच समन्वय गरेर अगाडि बढ्ने बताए ।

क्लिकमान्डुको मौद्रिक सुशासन जस्तै आगामी दिनमा यो भन्दा पनि राम्रो प्रकाशसनहरु ल्याउन उनले आग्रह गरे । यसले नेपालको अर्थन्त्रमा योगदान गर्ने भएकाले यस्ता महत्वपूर्ण पुस्तक ल्याउन जरुरी भएको उनले औंल्याए ।