
काठमाडौं । नेपाली बजारमा बीएमडब्लूको नयाँ विद्युतीय एसयूभी ‘आइएक्स टू’को बिक्री सुरु भएको छ । बीएमडब्लूको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले आफ्नो ‘आइएक्स टू’ गाडीको नेपाली बजारमा बिक्री सुरु गरेको हो । यसअघि ‘आइएक्स वान’ र ‘आइएक्स थ्री’ उपलब्ध गराइसकेको कम्पनीले अहिले ‘आइएक्स टु’ बजारमा ल्याएको हो ।
यस गाडीको मुख्य आकर्षण भनेको यसको शक्तिशाली इलेक्ट्रिक मोटर हो जसले २०४ हर्सपावर शक्ति उत्पादन गर्दछ । यो गाडीले ८.६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति प्राप्त गर्न सकिन्छ ।
यसको ६६.५ किलोवाट घण्टाको उच्च क्षमताको ब्याट्रीले एक पूर्ण चार्जमा ४७५ किलोमिटरसम्मको यात्रा गर्न अनुमति दिन्छ जुन काठमाडौं देखि पोखरा सम्मको यात्रा एकै चोटिमा गर्न पर्याप्त छ ।
राती यात्रा गर्दा यसले प्रदान गर्ने एलईडी हेडलाइटले सडकलाई पूर्ण रूपमा उज्यालो बनाउँछ भने हाई बीम असिस्टेन्टले अँध्यारो बाटोमा पनि अरू गाडीहरूलाई असर नगरी स्वचालित रूपमा हाई बीम नियन्त्रण गर्छ ।
गाडी भित्र उपलब्ध हार्मन कार्डनको प्रिमियम साउन्ड सिस्टमले यात्रालाई मनोरञ्चक बनाउँछ भने हेड–अप डिस्प्लेले गति र अन्य आवश्यक जानकारीहरू सीधै विण्डस्क्रिनमा प्रोजेक्ट गरेर ड्राइभरलाई सडकमा ध्यान केन्द्रित गर्न सहयोग गर्दछ ।

सुरक्षाको दृष्टिले पनि यो गाडी निकै आकर्षक छ । फ्रन्ट, साइड र हेड एयरब्यागहरूले कुनै दुर्घटना भएमा यात्रुहरूलाई सुरक्षित राख्ने सहयोग गर्दछ भने इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेकले ढलान भएका ठाउँहरूमा पनि गाडी स्थिर राख्छ ।
गाडीको डिजाइन र आरामका लागि पनि विशेष ध्यान दिइएको छ । प्यानोरामिक सनरूफले प्राकृतिक उज्यालो भित्र पस्न दिन्छ भने वायरलेस चार्जिङ सुविधाले मोबाइल फोन चार्ज गर्न सजिलो बनाएको छ ।
सिटहरू लेदरले बनेका छन् र इलेक्ट्रिक समायोजन सुविधा सहितको छन् जसले गर्दा ड्राइभर र यात्रुहरूले आफ्नो अनुकूलताको अनुसार सिट समायोजन गर्न सक्छन् ।

नेपाली सडक र यातायात अवस्थालाई ध्यानमा राखेर यस गाडीको आकार र क्षमता पनि उपयुक्त बनाइएको छ । ४.५५ मिटर लम्बाइ, १.८४ मिटर चौडाइ (मिरर सहित २.१० मिटर) र १.५६ मिटर उचाइ भएको यो गाडी नेपाली सडकका लागि उपयुक्त छ ।
यसले ५२५ लिटर सामान बोक्न सक्षम छ भने सिटहरू फोल्ड गरेमा यो क्षमता १४०० लिटरसम्म पुग्छ जुन नेपाली परिवारहरूका लागि पर्याप्त छ । नेपाली बजारमा यो गाडीको मूल्य १ करोड ७९ लाख रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया