केएल दुगड ग्रुपको विकास फुड प्रोडक्टले एकै वर्ष गर्‍यो पौने ३ अर्बको व्यापार

308
Shares

काठमाडौं । केएल दुगड ग्रुपको विकास फुड प्रोडक्टले एकै वर्ष पौने ३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा २ अर्ब ७४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२३ मा २ अर्ब ७९ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब २५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् १९९४ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका पीठोजन्य सामग्रीको प्रशोधन र उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले दाल, लिटो, चामलसँगै चिउरालगायत अन्य पीठो तथा गहुँजन्य सामग्रीको व्यापार गर्दै आएको छ । कम्पनीले उत्पादित सामग्री ज्ञान र आशिर्वाद ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

नरेश दुगड र कुमुद दुगडको स्वामित्व रहेको कम्पनीले सन् २०२४ मा ४१ हजार ५ सय २७ मेट्रिक टन सामग्रीको कारोबार गरेको थियो । सन् २०२३ मा ४० हजार ९ सय ५६ मेट्रिक टनको कारोबार गरेको थियो ।

कम्पनीले सन् २०२४ मा सन् २०२३ को तुलनामा ३० लाख रुपैयाँ कम खुद नाफा कमाएको छ । सन् २०२३ मा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बाँकेमा प्लान्ट रहेको कम्पनीले वार्षिक ८६ हजार ९ सय ७६ मेट्रिक टन उत्पादन क्षमता छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब १७ लाख रुपैयाँको रेटिङ गराएको छ ।