
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दूध उत्पादन गर्ने किसानलाई आफ्नै पारिवारिक सदस्य मानेर उद्योगीले बक्यौंता रकम तत्कालै भुक्तानी गर्नुपर्ने बताएका छन् ।
डेरी उद्योग संघको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले उद्योगीहरु आफ्नो नाफा मात्रै हेरेका कारण दूध किसानको भुक्तानी हुन नसकेको आरोप समेत लगाएका छन् ।
‘हामी आफ्नो नाफा र बजार मात्रै हेर्यौ, दिनको १०– ५० लिटर दूध उत्पादन गरी त्यसबाटै जिविकोपार्जन गर्दैआएका किसानको समस्या र आँशुलाई हेर्न सकेनौं,’ मन्त्री अधिकारीले भने,‘यसले गर्दा किसान, उद्योग र अन्ततः मुलुकलाई घाटा गर्छ । किसानलाई भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम तत्कालै उपलब्ध गराउन विशेष आग्रह गर्छु । जिम्मेबारी कोहि पनि पन्छिन मिल्दैन ।’
मन्त्री अधिकारीका अनुसार अहिले पनि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) ले एक अर्ब र निजी क्षेत्रले करिब ४ अर्ब रुपैयाँ गरी ५ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
उद्योगीको व्यवसाय चल्नुका साथै किसानको पनि चुल्हो बल्नुपर्ने मन्त्री अधिकारीको भनाई थियो ।
केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष पछिल्लो ३ वर्षदेखि किसानले नियमित रुपमा दूध बिक्री वापत भुक्तानी पाउन नसकेको औल्याए । उनले किसानलाई भुक्तानी गर्न सरकारी संंस्थान र निजी क्षेत्रका उद्योगीले सहयोग गर्नुपर्ने बताए ।
दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादबले बजारमा अहिले पनि गुणस्तरयुक्त कच्चा दूध आउन नसकेको बताए ।
डेरी उद्योगी विश्वराम खड्काले उद्योगीसँग स्टक बसेको दुग्धजन्य पदार्थलाई धितोमा राखेर सहुलियत दरमा बैंकबाट ऋण उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइए किसानलाई भुक्तानी गर्न सहज हुने सुझाव दिएका थिए ।
नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले दूधको बजार बढाउनका लागि स्वदेशमा दूध र दुग्धजन्य पदार्थको उपभोग दर बढाउनुका साथै निर्यातमा पनि राज्यले सहयोग गर्नुपर्ने बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिब शबनम शिवाकोटीले दूधको उत्पादन, उद्योगबाट खरिद हुने परिमाण, उद्योगबाट बजारमा जाने परिमाण र उद्योगबाट गर्नुपर्ने भुक्तानीको वास्तविक तथ्याँक उपलब्ध नहुँदा मन्त्रालयलाई नीतिगत व्यवस्था गर्न कठिनाई भएको जानकारी दिइन् ।
डेरी उद्योग संघको अध्यक्ष राजकुमार दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका उपाध्यक्ष तथा सुजल डेरी प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठले दुग्ध क्षेत्रमा रहेको अनौपचारिक क्षेत्रका कारण भइरहेको समस्याको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्लिकमान्डुकर्मी राजेश बर्मासहित ५ जना पत्रकारलाई दशकका उत्कृष्ट कृषि पत्रकारबाट सम्मानित गरिएको थियो







प्रतिक्रिया