
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवाप्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौन रहेको टिप्पणी गरेका छन्।
अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै सांसद महतले यस्तो टिप्पणी गरेका हुन् ।
बजेट सरकारी संरचनाहरुलाई छिटो छरितो बनाउने कुरालाई सम्बोधन गर्न नसकेको उनको आरोप छ ।
स्थानीय मदिराको ब्राण्डिङ तथा व्यावसायीकरणको विषय समेत बजेटले सम्बोधन गर्न नसकेको उनले बताए ।
आफू अर्थमन्त्री भएको समयमा कार्यविधि समेत अगाडि बढिसकेको भए पनि अगामी आर्थिक वर्षको बजेटमा स्थानीय मदिरा ब्राण्डिङको विषयमा मौन रहेको उनको टिप्पणी छ ।
उनले भने, ‘बजेट सरकारी संरचनाहरुलाई छिटो छरितो बनाउने र अनावश्यक संरचनाहरु हटाउने कुरामा बजेट मौन छ । जाँडलाई ब्राण्डिङ गर्ने कुरा मैले पनि बजेटमा बोलेको थिए । त्यो कार्यविधि अगाडि पनि बढेको थियो । यसपटकको बजेट त्यसमा पनि मौन छ । सम्रगमा विनियोजनको विधेयक प्राप्त भएपछि परिणामुखी कति छ भन्नेकुरा आउँछ । ’
उनले वितरणमुखी योजना हटाउन तीन करोडभन्दा तलका योजनाहरु नराख्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताए ।








प्रतिक्रिया