
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत खाद्यान्न, गेडागडी, दुग्धजन्य, फलफुल, वनस्पतिजन्य, पशुजन्य पदार्थमा भन्सार विन्दुमा लाग्दै आएको अग्रिम आयकर खारेज गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले बजेट वक्तव्यमार्फत यस्तो अग्रीम आयकर खारेज भएको घोषणा गरेका हुन् ।
सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत कृषिजन्य वस्तु आयात गर्दा भन्सार विन्दुमै अग्रीम आयकर लगाउने व्यवस्था गरेको थियो । यसले गर्दा आम उपभोक्ताको टाउकोमा महँगीको भार थपिएको थियो ।
नेपाल चामल, तेल, दाल उद्योग संघले अग्रीम आयकर नीति खारेज गर्न सरकारसँग माग गर्दैआएको थियो ।
संघले नेपालीको भान्सामा दैनिक रुपमा प्रयोग हुने चामल, तेल र दाल लगायतका उद्योगमा लगाइएको करको दरमा छुट दिन सरकारसँग माग गरेको थियोे ।
उद्योग प्रयोजनको लागि कच्चा दाल, गेडागुडी, धान, दुग्धजन्य, फलफुल, वनस्पतिजन्य, पशुजन्य पदार्थ आयात गरी प्रशोधन गरेर बिक्री वितरण गर्दा भन्सार विन्दुमा २.५ प्रतिशत अग्रिम आयकर लगाइएको थियो ।
अग्रीम आयकरका कारण उत्पादन लागत खर्च अत्यधिक वृद्धि भएर उद्योग नै बन्द हुने अवस्थामा पुगेको थियो ।







प्रतिक्रिया