डीडीसीका कर्मचारीले सित्तैमा पाउँदै आएको दूध र घिउको पोका अबदेखि बन्द, महाप्रबन्धकमा पाण्डे नियुक्त

2k
Shares

काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) अन्तरगतका कर्मचारीहरुले सित्तैमा पाउँदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घिउको सुबिधा कटौती गरेको छ ।

मन्त्रालयले दुग्ध किसानलाई करोडौं रुपैयाँ भुक्तानी गर्न नसकेको डीडीसीका कर्मचारीले सुविधा उपभोग गर्नु नैतिकताले न मिलेको भन्दै मन्त्रालयले उक्त सुविधा कटौती गरेको हो दुग्ध किसानहरुलाई दिनुपर्ने भुक्तानी, सरकारवाट लिएको ऋण चुक्ता गर्नुपर्ने अवस्थालगायतका कारण यो सुबिधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

अन्य सार्वजनिक संस्थानहरुमा पनि संस्था घाटामा पुगेको अवस्थामा सुबिधा नलिने गरिएको अभ्यास रहेको उल्लेख गर्दै मन्त्रालयले दूध तथा दुग्ध जन्य पदार्थ बिक्रि गरि आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेको परिस्थितिमा सुधार ल्याउन पनि सुबिधा कटौती जरुरी रहेको ठहर गरेको छ ।

यस अघि मन्त्रालयले संस्थान व्यवस्थापनसंग खाई पाई आएको सेवा सुबिधाको जानकारी मागेको थियो ।

कृषि मन्त्री रामनाथ अधिकारीले आजै संस्थानको महाप्रबन्धकमा सहसचिब जगदीश पाण्डेलाई नियुक्त गरेका छन् । यसअघिका महाप्रबन्धक तथा सहसचिव डा सूर्य पौडेल अवकाश भएपछि लामो समयदेखि महाप्रबन्धकको पद रिक्त थियो ।