साढे २ करोड रुपैयाँको लागतमा धादिङमा बन्यो अत्याधुनिक कृषि तथा पशुपन्छी सेवा केन्द्र

203
Shares

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्धघाटन गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) ले निर्माण गरेको उक्त भवनको हस्तान्तरण तथा उद्धघाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री अधिकारीले केन्द्रको सञ्चालनसँगै माटो, खेती वाली तथा पशुपन्छीमा लाग्ने रोगको परिक्षणका लागि किसानलाई सहज भएको बताए ।

किसानलाई आफनै गाँउ ठाँउमा सहज तरिकाले सेवा प्रदान होस भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको बताउँदै मन्त्री अधिकारीले मन्त्रालयले गरेका पछिल्ला निर्णय र प्रयासहरुले कृषि क्षेत्रमा छिट्टै सकारात्मक परिवर्तन देखिने जानकारी दिए ।

उनले भने, ‘सरकारले आगामी आर्थिक वर्षका लागि वजेट प्रस्तुत गर्देछ, कृषि क्षेत्र सुधारका लागि हाम्रा थुप्रै अपेक्षाहरु छन, केहीको सम्वोधन वजेट मार्फत हुनेछ ।’

पछिल्लो समय रासायनिक मल खरिदलाई सरलीकृत गर्न खरिद नियमावलीमै केही संशोधन समेत भएको चर्चा गर्दे मन्त्री अधिकारीले यसवाट मल खरिदमा लाग्ने समय केही छोटो हुने उनको विश्वास छ ।

मन्त्री अधिकारीका अनुसार धादिङको सल्यानटार आसपासमा कृषि अनुसन्धान परिषद (नार्क) को अनुसन्धान केन्द्र स्थापनाको गृहकार्य अन्तिम चरणमा पुगेको र यस कार्यका लागि पालिकालाई अग्रसरता लिन पनि मन्त्री अधिकारीले आग्रह गरेका छन् ।

कार्यक्रममा रिडका परियोजना निर्देशक डा चन्द्रप्रसाद रिसालले सेवा केन्द्रको सञ्चालन मार्फत किसानहरुले आफनै पालिकामा एकै छानामुनी विष्ठिकृत सेवा प्राप्त गर्न सक्ने जानकारी दिए । यो सेवा केन्द्र दुई करोड ४३ लाख रुपैयाँको लागतमा निर्माण भएको हो ।