गोकुल बास्कोटाले भने- पोखरा एयरपोर्टको प्रतिवेदन अपूरो छ, थप छानविन गरौं


काठमाडौं । नेकपा एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको बताएका छन् ।

बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा प्रतिवेदनमा आफ्नो फरक मत नभइ पूरक मत भएको बताएका छन् । उनले प्रतिवेदन बनाउन धेरै मेहनत भएपनि कहीँ अपूरो रहेको बताए । उनले विमानस्थलको सम्झौता, ह्याण्ड्ओभर, चाभी हस्तान्तरणबारे पनि अध्ययन जरुरी रहेको बताए। अझै राम्रोसँग अध्ययन जरुरी रहेको देखियो ।

उनले भने ‘मेरो फरक मत होइन । एक प्रकारले भन्दा पूरक मत हो । पूरक मत के हो भने यो प्रतिवेदनको विषयमा मेहनत भएको छ । तर त्यसको केही चिजहरुमा मेरो अलिकति पुगेन भन्ने छ ।’ उनले भने ‘हामीले जति तथ्यांक पत्ता लगाउन सक्थ्यौँ, त्यो तथ्यांकहरु त्यसरी गएन’

‘यो विषयमा छानविन हुनुपर्छ । तर छानविन के पत्ता लगाउने भनेर गर्ने भन्दा पनि के रहेछ भनेर गर्नुपर्छ । यसमा आएका कुराहरु संयोजकज्युले प्रतिवेदन बुझाएकै दिन मिडियाका साथीहरुले सोध्नुभएको थियो । यसमा सबै छ तर केही पनि छैन । त्यो पनि भनेको हो । अर्थात यो अपूरो छ । अझै राम्रोसँग जानुपर्ने जरुरी छ,’ उनले भने ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे थप अध्ययन जरुरी रहेको बताएका बास्कोटा आफैं उपसमितिको सदस्य समेत हुन । उनले प्रतिवेदनको अन्तिम ड्राफ्टमा फरक मत राखेर मात्रै हस्ताक्षर गरेका छन् । त्यो मत फरक नभएर पूरक भएको दाबी बास्कोटाको छ ।