
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग)सम्बन्धि शंकास्पद कारोबार तथा गतिविधि ४९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय जानकारी इकाई (एफआईयू नेपाल)को प्रतिवेदनले शंकास्पद कारोबार तथा गतिविधि ४९ प्रतिशतले बढेको देखिएको हो ।
वित्तीय जानकारी इकाईले सन् २०२४ का गतिविधिसम्बन्धी न्यूजलेटर सार्वजनिक गर्दै यस वर्षको जनवरीदेखि डिसेम्बरसम्मको उक्त तथ्यांक प्रकाशन गरेको हो ।
प्रकाशित तथ्यांकमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या सन् २०२३ मा ६ हजार २५५ रहेकोमा सन् २०२४ मा सो संख्या करिब ४९ प्रतिशतले वृद्धि भई ९ हजार ३०४ पुगेको उल्लेख छ ।
‘प्राप्त प्रतिवेदनहरूमध्ये सन् २०२४ मा इकाईले जम्मा १ हजार ८९४ प्रतिवेदन विश्लेषण गरेकोमा सो मध्ये १ हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने र अनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सो मध्ये ८०८ वटा प्रतिवेदन इकाईले भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ ।’
प्रतिवेदनमा सूचक संस्थाहरूले इकाईमा सन् २०२३ मा १७ लाख ८३ हजार १८३ वटा सीमा कारोबारको विवरण पेस गरेकोमा सन् २०२४ मा सो संख्या १९ लाख ७२ हजार ८५५ पुगेको उल्लेख छ ।
प्रतिक्रिया