फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री


काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले फुड सप्लिमेन्ट (आहारपुरक) को नियमन गर्ने अधिकार कानूनले नै कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तरगतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई दिएकाले सरकारको अन्य निकायले त्यसमा हस्तक्षेत्र गर्न नमिल्ने बताएका छन ।

नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल तथा कस्मस्युटिकल समाज (फ्यानकन) को वार्षिक साधारण सभालाई राजधानीमा बिहीबार सम्बोधन गर्दे कृषि मन्त्री अधिकारीले कुनै पनि व्यवसाय कानून अनुसार चल्ने बताउँदै फुड सप्लिमेन्ट हेर्ने अधिकार कानूनले नै कृषि मन्त्रालयको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई दिएकाले त्यसमा अन्य मन्त्रालय वा विभागको हस्तक्षेप गर्न नमिल्ने बताएका हुन ।

पछिल्लाो केही वर्ष यता फुड सम्पिलेन्टको नियमन गर्ने अधिकार स्वास्थ्य मन्त्रालय हुनुपर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको औषधि व्यवस्था विभागले कुरा उठाउन थालेपछि कृषि मन्त्री अधिकारीको यो भनाई आएको हो ।

यो विषयमा छलफलका लागि भन्दै स्वास्थ्य मन्त्रालयले पटक पटक आफुलाई बोलाएको बताउँदै मन्त्री अधिकारीले ऐनले नै फुड सप्लिमेन्ट हेर्ने अधिकारी कृषि मन्त्रालयलाई दिएकाले यसमा कसैले हस्तक्षेप गर्न नमिल्ने आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताए ।

उनले भने, ‘ हामी कानूनले बाँधिएका छौ । फुड सप्लिमेन्ट हेर्ने अधिकार कृषि मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो । हामी नियमन गरिरहेका छौ । त्यसैले यो व्यवसायमा लागेका व्यवसायीले हतोत्साहित हुनु पर्ने कुनै कारण छैन । ’

भोलिका दिनमा कानून परिवर्तन भएछ भने सोच्न सकिने भएपनि अहिले नै सरकारको एक निकायले अर्को निकायको क्षेत्र अधिकारभित्र हस्तक्षेप स्विकार गर्न नसकिने मन्त्री अधिकारीको स्पष्ट संकेत थियो । फुड सप्लिमेन्ट व्यवसायीहरुले पनि नियम कानूनको परिधि भित्र रहेर आफ्नो व्यवसाय गर्ने पर्नेमा मन्त्री अधिकारीले जोड दिए ।

साधारण सभामा नेपाल चिकित्सक संघका महासचिव डा सन्जिव तिवारीले फुड सप्लिमेन्ट व्यवसायीलाई हतोत्साहित पार्नु भन्दा राज्यले प्रोत्साहन गर्नु पर्ने आवश्यकता रहेको बताए ।

डा तिवारीले भने, ‘ उपभोक्ताले सस्तोमा फुड सप्लिमेन्ट उपभोग गर्न पाउने अवस्था सिर्जना गर्न सरकारले यसमा लाग्ने गरेको चर्को कर घटाउनु पर्छ ।’

यो व्यवसायलाई व्यवस्थित गर्नका लागि सरकारका दुई निकाय कृषि र स्वास्थ्य मन्त्रालय बिचको जुङाको लडाई बन्द गर्नु पर्ने डा तिवारीले बताए ।

कार्यक्रममा फ्यानकेनका उपाध्यक्ष शम्भु यादवले कानून अनुसार दर्ता भएर, राज्यलाई कर तिरेर व्यवसाय गरेका फुड सप्लिमेन्ट व्यवसायीलाई औषधि व्यवस्था विभागले दुख दिइरहेको बताए । फ्यानकेनका मधेश अध्यक्ष शिवजी यादवले कानून अनुसार व्यवसाय गर्ने व्यवसायीलाई राज्यको अर्को निकायले हस्तक्षेत्र गर्न नहुनेमा जोड दिए ।

आहारपुरक उत्पादक संघका अध्यक्ष रोशनकुमार लोले फुड सप्लिमेन्ट व्यवसायलाई व्यवस्थित बनाउन र दरो रुपमा खुट्टा टेक्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई आग्रह गरेका थिए । फ्यानकनका महासचिव गौरव श्रेष्ठले राज्यको एक निकायले अनुमति दिने र अर्कोले नियन्त्रण गर्न खोज्ने अवस्था तत्काल बन्द गरिनु पर्नेमा जोड दिए ।

फ्यानकनका केन्द्रीय अध्यक्ष सुरेन्द्र मानन्धरले फ्यानकन मातहतका फुड सप्लिमेन्ट व्यवासायी कानून अनुसार व्यावसाय गरिरहेको दावी गर्दै कसैको अनावश्यक हस्तक्षेत्र स्विकार्य नहुने बताए । फ्यानकन खाद्य, आयर्वेदिक, न्युट्रास्यटिकल तथा कस्मसयुटिकल व्यवसायीको छाता संगठन हो । १० वर्ष पहिले स्थापना भएको फ्यानकनमा तिन सयभन्दा बढी व्यवसायी सदस्य छन् ।