
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ सकिन २ महिना बाँकी हुँदा सरकारको आम्दानी र खर्चबीचको असन्तुलन २ खर्ब रुपैयाँभन्दा बढी देखिएको छ । सरकारले वैशाख मसान्तसम्ममा ९ खर्ब २२ अर्ब रुपैयाँमात्रै राजस्व संकलन गरेको छ भने यसबाट गरेको खर्च भने ११ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । यद्यपी सरकारले कर राजस्व, गैरकर राजस्व, वैदेशिक अनुदान र अन्य कर गरेर ९ खर्ब ४९ अर्ब रुपैयाँ वैशाख मसान्तसम्म संकलन गरेको भएपनि खर्च भने आम्दानीभन्दा २ खर्ब बढी अर्थात ११ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ ।
सरकारको आम्दानी भन्दा खर्च बढी भएर घाटाको बजेटमा चलिहेका बेला पनि बजेट खर्च भने चालु आर्थिक वर्षको १० महिना पूरा हुँदासमेत ६२ प्रतिशतमात्रै देखिएको छ । यस्तो तथ्यांक अनुसार आगामी दुई महिनामा ३८ प्रतिशत खर्च गर्न मुश्किल पर्ने अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।
सरकारले यो अवधिसम्ममा लक्ष्यको ६४ प्रतिशतमात्रै राजस्व संकलन गरेको छ । १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले चालु आव सकिन २ महिनामात्रै बाँकी हुँदा ९ खर्ब २२ अर्ब मात्रै राजस्व संकलन गर्नुले पनि सरकारलाई आम्दानी र खर्चको सन्तुलन मिलाउन निकै सकस परिरहेको छ ।
यो अवधिमा सरकारले ६७ प्रतिशत अर्थात ७ खर्ब ७३ अर्ब रुपैयाँ चालू खर्च गरेको छ । यो अवधिसम्ममा पुँजीगत खर्च ३४ प्रतिशत अर्थात १ खर्ब २० अर्ब रुपैयाँ मात्रै भएको छ । विकास निर्माणको लागि हुने पुँजीगत खर्च कमजोर हुँदा देशविकासको गति पनि सुस्त भएको देखिन्छ ।
प्रतिक्रिया