महँगीदर ४ वर्षपछिकै कम, दैनिक उपभोग्य वस्तुको मूल्य घट्दा राहत

140
Shares

काठमाडौं । पछिल्लो केही महिनायता देशमा महँगीदर घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ ।

यो महँगिदर ४ वर्षयताकै न्युन रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७७/७८ को चैतमा वार्षिक बिन्दुगत मुद्रास्फीति ३.१० प्रतिशत थियो । २०७८ वैशाख ३.६५ प्रतिशत थियो । त्यसयता हरेक महिनाको वार्षिक बिन्दुगत मुद्रास्फीति ३.३९ प्रतिशत वा त्यसभन्दा तल आउन सकेको छैन । २०७८ भदौमा ३.४९ प्रतिशतसम्म झरेपछि पनि बढेर २०७९ भदौमा वार्षिक बिन्दुगम मुद्रास्फीति ८.६४ प्रतिशत पनि पुगेको थियो ।

२०८१ असार मसान्तमा ३.५७ प्रतिशतको बिन्दुसम्म झरेको वार्षिक उपभोक्ता मुद्रास्फीति त्यसपछि बढेर मंसिरमा ६.०५ प्रतिशतसम्म पुगेको थियो ।

पछिल्लो केही महिनायता खाद्य तथा पेय पदार्थ समुहको मूल्यवृद्धिदर निरन्तर ओरालो लाग्दा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीतिको दर पनि घटेको छ । खाद्य तथा पेय समुहको मूल्य सुचकांको वृद्धिदर २०७८ भदौयताकै न्युन छ । जसले समग्र मूल्यवृद्धिदर नै घटेको देखिन्छ । २०७८ भदौमा खाद्य तथा पेय समुहको मूल्य सुचकांक वार्षिक बिन्दुगत आधारमा १.७४ प्रतिशतले मात्रै बढेको थियो ।

खाद्य तथा सेवा समुहको मूल्य सुचकांक बीचमा ९.९९ प्रतिशतसम्मले बढेपनि पछिल्लो केही महिनायता निरन्तर घट्दो क्रममा देखिएको छ । २०८१ मंसिर मसान्तमा खाद्यय तथा पेय समुहको वार्षिक बिन्दुगत मूल्य सुचकांक सबैभन्दा धेरै बढेको देखिन्छ । २०८१ मंसिरमा यस्ते सुचकांक ९.९९ प्रतिशतसम्मले बढेको थियो । वार्षिक बिन्दुगम उपभोक्ता मुद्रास्फीति नै ८.६४ प्रतिशत हुँदा खाद्य तथा पेय समुहको मूल्य सुचकांक ७.८४ प्रतिशत र गैर खाद्य सेवा समुहको मूल्य सुचकांक ९.१८ प्रतिशतले बढेको थियो ।

चालु आवको चैत मसान्तमा भने खाद्य तथा पेय समुहको मूल्य सुचांकको वार्षिक बिन्दुगत वृद्धिदर २.४५ प्रतिशत हुँदा गैरखाद्य तथा सेवा समुहको यस्तो सुचकांक ३.९० प्रतिशतले बढेको छ । २०८१ मंसिरमा गैर खाद्य तथा सेवा समुहको वार्षिक बिन्दुगत मूल्य सुचकांक ९.९२ प्रतिशतले बढेको थियो ।

चैतमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.२४ प्रतिशत, मरमसलाको २.३२ प्रतिशत र माछा तथा मासुको ०.८९ प्रतिशतले घटेको छ । जसले गदा खाद्य तथा पेश पदार्थ समुहको मूल्य सुचकांकको वृद्धिदर समेत घट्न पुगेको छ ।

चैतमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.६९ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र सुर्तिजन्य पदार्थको ४.८३ प्रतिशतले बढेको छ ।

चैतमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.७८ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.२५ प्रतिशतले बढेको छ । प्रदेशगत रुपमा कोशी प्रदेशकोे वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९१ प्रतिशत, मधेश प्रदेशको ३.५९ प्रतिशत, बागमती प्रदेशको २.८० प्रतिशत, गण्डकी प्रदेशको २.८३ प्रतिशत, लुम्बिनी प्रदेशको ३.११ प्रतिशत, कर्णाली प्रदेशको ३.११ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.५१ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.९५ प्रतिशत, तराईको ३.३१ प्रतिशत, पहाडको ३.४६ प्रतिशत र हिमालको ४.४७ प्रतिशत रहेको छ ।

सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति दर ५ प्रतिशतमा सिमित राख्ने लक्ष्य राखेको छ । चैतसम्मको तथ्यांकले सरकारलाई महँगी दर योजना अनुसार नै रहने संकेत देखाएको छ । चालु आवको ९ महिनाको औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको केन्द्रिय बैंकको तथ्यांक छ । यसले मुद्रास्फीति मौद्रिक नीतिको वार्षिक लक्ष्मयभित्रै रहेको देखाउँछ ।