
लिस्बन । युरोपेली देश पोर्चुगलले आप्रवासनमा कडाइ गर्दै २३ हजार ५ सयभन्दा बढी आवेदकको बसोबास अनुमति (रेजिडेन्स पर्मिट) खारेज गरिसकेको छ । तीमध्ये ४ हजार ५ सय जनालाई २० दिनभित्र देश छाड्न स्वयंप्रस्थान गर्न निर्देशन दिइएको ‘द पोर्चुगल न्युज’ ले जनाएको छ । खारेजमा परेका व्यक्तिहरूमा नेपाली नागरिकसमेत परेका छन्।
पोर्चुगलको एक सरकारी स्रोतले एक्सप्रेसो नामक पत्रिकालाई दिएको जानकारीअनुसार एजेन्सी फर इन्टिग्रेसन, माइग्रेशन एन्ड एसाइलम (एआईएमए)को मिसन स्ट्रक्चर अन्त्य हुनुभन्दा केही हप्ता अगाडि ४ लाख ४६ हजार ९२१ वटा एक्सप्रेसन अफ इन्टरेस्ट (बसोबासका लागि चासो अभिव्यक्ति) मध्ये १ लाख २३ हजारवटा आवेदन स्वीकृत भइसकेका छन्, जुन कुलको २७.५ प्रतिशत हो ।
शुरुआती चरणमा १ लाख ७१ हजारवटा आवेदन शुल्क नबुझाएको कारण रद्द गरिएपछि एआईएमएले २ लाख ७५ हजारवटा आवेदन मात्र प्रक्रियामा ल्याएको थियो । तीमध्ये ४४.७ प्रतिशतलाई बसोबास अनुमति (रेजिडेन्स कार्ड) दिन स्वीकृति दिइएको छ । अहिले पनि करिब १ लाख १७ हजार केस बाँकी छन्, तर ती सबै निर्णय प्रक्रियाको अन्तिम चरणमा रहेको समाचारमा जनाइएको छ ।
गत साता पोर्चुगलका मन्त्रीले स्वयंप्रस्थान प्रक्रिया सुरु भइसकेको जनाउँदै १८ हजार आवेदन अस्वीकृत भएको बताएका थिए। तर अहिले यो संख्या २३ हजार ५०० नाघिसकेको छ र जुन ३ तारिखसम्म अझै बढ्ने सरकारी अपेक्षा छ ।
यससँगै एआईएमएले लागू गरेको कार्यान्वयन प्रक्रिया अन्तर्गत सन् २०२४ भरी ४२ वटा प्रशासनिक निष्कासन र २०२५ को पहिलो त्रैमासमा १० वटा जबर्जस्ती निष्कासन गरिसकेको छ ।
एआईएमएले नयाँ आवेदनको प्रक्रिया मात्र होइन, पोर्चुगिज भाषी राष्ट्रहरू (सीपीएलपी) का नागरिकहरूको बसोबास अनुमति नवीकरण तथा कार्ड परिवर्तनसमेत गरिरहेको छ । सन् २०२५ को फेब्रुअरीदेखि सीपीएलपी नागरिकहरूलाई कागजी अनुमति प्लास्टिक कार्डमा रूपान्तरण गर्न बोलाइएको छ । यस क्रममा उनीहरूको आपराधिक विवरण, व्यक्तिगत तथा बायोमेट्रिक विवरण सङ्कलन भइरहेको छ।
एजेन्सीले चाँडै नै नयाँ मिति तोकी छुटेका सीपीएलपी नागरिकहरूलाई फेरि बोलाउने तयारी गरिरहेको छ । यसअघिका मिसन सेन्टरहरू गत सेप्टेम्बरदेखि सञ्चालनमा आएपछि एआईएमएले झन्डै ४.४ लाख पुराना केसहरूमा प्रक्रिया अगाडि बढाएको छ ।
हालसम्म २.२ लाख सीपीएलपी नागरिकहरूलाई नयाँ कार्डका लागि बोलाइएको छ भने करिब ५० हजारवटा गोल्डेन भिसा तथा फ्यामिली रियुनिफिकेसन (पारिवारिक पुनर्मिलन) आवेदनहरू प्रक्रिया बाँकी छन् ।
पोर्चुलमा कति छन् नेपाली ?
पोर्चुगल सरकारको २०२३ को आँकडा अनुसार, करिब १५ हजार नेपाली पोर्चुगलमा कानूनी रूपमा बसोबास गरिरहेका छन् । यो संख्या हालैको वर्षहरूमा नेपालीहरूको युरोप प्रतिको बढ्दो रुचि र पोर्चुगलको पहिलेको ‘खुला बसाइसराइ नीति’ को कारण तीव्र भएको हो ।
नेपालीहरू मुख्यतया लिस्बन, पोर्टो र सेतुबल जस्ता शहरहरूमा कृषि, होटल उद्योग र निर्माण क्षेत्रमा काम गर्दै पाइन्छन् ।
पोर्चुगलको एजेन्सी फर इन्टिग्रेसन, माइग्रेसन एन्ड एसाइल (एआईएएमए) ले २०२३ मा जारी गरेको प्रतिवेदन अनुसार ४ लाखभन्दा बढी बसाइसराइ आवेदन बक्यौता छन् । यसमा नेपालीहरू पनि समावेश हुन सक्छन् तर राष्ट्रियताको विवरण सार्वजनिक गरिएको छैन ।
हालै पोर्चुगिज नीतिले अवैध वा कागजात नभएका नेपालीहरूलाई प्रभाव पार्न सक्ने सम्भावना छ ।
प्रतिक्रिया