
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको नेपाल मोबिलिटी एक्स्पोको स्टल बुकिङ खुला भएको छ । २०८२ श्रावण २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा नेपाल मोबिलिटी एक्सपो–२०२५ आयोजना हुन गइरहेको छ जसको बुकिङ खुला गरिएको हो ।
उक्त प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्नुहुने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले गरेको छ ।
साथै, अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीहरुलाई एउटै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गर्ने विश्वास आयोजकको छ।
प्रदर्शनीमा सहभागिताको लागि स्टल बुकिङ वैशाख २२ देखि २९ गते (सन् २०२५ मे ५ देखि मे १२) सम्म खुला रहनेछ । इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन् र अन्तिम स्टल बाडफाड पारदर्शी लटरी प्रणाली मार्फत गरिने बताइएको छ ।
दुई र चार पाङ्ग्रे सवारी साधन तथा हलुका व्यावसायिक सवारी साधन का लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको छ ।
यस प्रदर्शनीको व्यवस्थापन र संयोजन प्रदर्शनी व्यवस्थापन र आयोजनाको क्षेत्रमा एक अग्रणी संस्था मिडिया स्पेस सोलुसन्स प्रा. लि. द्वारा गरिनेछ । विगतका अन्य प्रदर्शनीहरूको तुलनामा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुने जनाइएको छ । ‘नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ,’ नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भनिन्, ‘हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौं र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं ।’
प्रतिक्रिया