भारतको मिसाइल र एयर डिफेन्स प्रणाली पाकिस्तानको तुलनामा कस्तो छ ?

2.7k
Shares

एजेन्सी । भारतले पाकिस्तान र पाकिस्तानद्वारा प्रशासित कश्मीरमा मंगलबार मध्यराति सैन्य अपरेशन सुरू गरेको छ ।

भारतले यस सैन्य कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । भारतले यो आक्रमण ‘आतंकवादी ठेगानाहरूमा’ गरिएको दाबी गरेको छ ।

भारत र पाकिस्तानबीचको ताजा तनावपछि दुवै देशको सैन्य क्षमताको चर्चा सुरु भएको छ ।

आउनुहोस्, बुझौं भारत र पाकिस्तानसँग कस्ता-कस्ता मिसाइलहरू छन् र तिनीहरूको हवाई सुरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) कस्तो छ भन्ने बारे ।

भारतको अग्नि–५ मिसाइल जमिनबाट ५ हजार देखि ८ हजार किलोमिटरसम्म प्रहार गर्न सक्छ।

त्यसैगरी पाकिस्तानको शाहीन–३ मिसाइलको मारक क्षमता २ हजार ७५० किलोमिटर रहेको छ ।

हतियारको मामलामा भारत बढी रूसी प्रविधिमा र पाकिस्तान चिनियाँ प्रविधिमा निर्भर छन् ।

पश्चिमी देशहरूले लामो समयसम्म भारतलाई मिसाइल प्रविधि दिनबाट जोगिँदै आएका थिए तर फ्रान्स र भारतले मिलेर मिसाइल प्रविधिमा सहकार्य गरेका छन् ।

यीमध्ये अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) पनि पर्छ । विश्वमा केवल सातवटा देशहरूसँग मात्र आईसीबीएम रहेको छ ।

एन्टी-ब्यालेस्टिक मिसाइल सिस्टम

रक्षा विश्लेषक ह्यारिसन कासले द नेशनल इन्ट्रेस्ट मा लेखेका छन्, ‘भारत त्यस्ता थोरै देशहरूमध्ये एक हो, जससँग एन्टी-ब्यालेस्टिक मिसाइल सिस्टम छ । भारतसँग दुई प्रकारका मिसाइलहरू छन्- पहिलो, पृथ्वी एयर डिफेन्स (पीएडी) मिसाइल, जसले उच्च उचाइमा मिसाइल आक्रमण रोक्छ, र दोस्रो, एडभान्स एयर डिफेन्स (एएडी), जसले न्यून उचाइमा आउने मिसाइल आक्रमण रोक्छ । भारतको एन्टी-ब्यालेस्टिक मिसाइल प्रणालीले कम्तीमा ५ हजार किलोमिटर टाढाबाट आउने मिसाइल आक्रमणलाई पनि रोक्न सक्छ भन्ने अपेक्षा गरिएको छ।’

भारतले रुससँग मिलेर ब्रह्मोस र ब्रह्मोस–२ हाइपरसोनिक क्रूज मिसाइल पनि विकास गरेको छ । जसलाई जमिन, आकाश, समुद्र र सब–सी प्लेटफर्मबाट प्रक्षेपण गर्न सकिन्छ ।

ह्यारिसन कासका अनुसार ‘भारतसँग परम्परागत र आणविक दुवै प्रकारका मिसाइलहरूसँगै मिसाइल आक्रमण रोक्ने पनि क्षमता छ।’

त्यसैगरी पाकिस्तानसँग पनि परम्परागत र आणविक दुवै प्रकारका मिसाइलहरूको विकल्प छन् । दुवै देशले एक अर्काबाट हुने खतरा ध्यानमा राखेर आफ्नो मिसाइल क्षमता विकास गरेका छन् ।

तर भारतजस्तै पाकिस्तानसँग आईसीबीएम छैन।

धेरैजसो रक्षा विश्लेषकहरूका अनुसार पाकिस्तानलाई यसको धेरै आवश्यकता पनि छैन ।

चीन र भारतबीच पनि युद्ध भइसकेको छ र भारत त्यसलाई ध्यानमा राखेर आफ्नो रक्षा क्षमता विकास गरिरहेको छ ।

अर्कातर्फ पाकिस्तान केवल भारतलाई नै आफ्नो मुख्य शत्रु ठान्छ ।

ह्यारिसन कासका अनुसार ‘पाकिस्तानलाई भारतविरुद्ध आईसीबीएमको धेरै आवश्यकता छैन । पाकिस्तानको मिसाइल क्षमता क्षेत्रीय लक्ष्य प्राप्त गर्न पर्याप्त छ।’

पाकिस्तानसँग आईसीबीएम छैन

‘मामला आईसीबीएमसम्म पुग्यो भने त्यसपछि केही बाँकी रहँदैन,’ भारतका चर्चित रक्षा विश्लेषक राहुल बेदी भन्छन्, ‘आईसीबीएमको उडान समय १५ देखि २० सेकेन्ड मात्र हुन्छ । यो एक रणनीतिक हतियार हो र भारतले यसलाई चीनलाई ध्यानमा राखेर विकास गरेको हो । पाकिस्तानसँग आईसीबीएम छैन । पाकिस्तानलाई यसको आवश्यकता पनि छैन । पाकिस्तानको पूरै तयारी भारतलाई ध्यानमा राखेर गरिएको छ, जबकि भारतको मुख्य फोकस चीन हो । १९९८ मा भारतले आणविक परीक्षण गर्दा अटल बिहारी वाजपेयीले अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलाई लेखेको पत्रमा पनि यही कुरा उल्लेख गरिएको थियो।’

पाकिस्तानले चीनसँग मिलेर शाहीन सिरिजका मिसाइलहरू बनाएको छ । पाकिस्तानका शाहीन मिसाइलहरू सर्ट, मिडियम र लामो दूरीसम्म प्रहार गर्न सक्छन् ।

पाकिस्तान पनि एन्टी-ब्यालेस्टिक मिसाइल सिस्टममा काम गरिरहेको छ, जसले भारतका आक्रमणहरू रोक्न सकोस् ।

ह्यारिसन भन्छन्, पाकिस्तानसँग एचक्यू-९बीई छ, तर भारतले ब्रह्मोस मिसाइल प्रयोग गरेमा पाकिस्तानलाई त्यसलाई रोक्न सजिलो हुने छैन।’

पाकिस्तानी संसदमा ब्रह्मोस सुपरसोनिक मिसाइलको विषयमा विपक्षी सांसदहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । मे २०२२ मा भारतले एक मिसाइल गल्तीले पाकिस्तानतिर प्रक्षेपण भएको जनाएको थियो ।

त्यसबेला पाकिस्तानका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले भनेका थिए, ‘एक सुपरसोनिक प्रोजेक्टाइल ४० हजार फिटको उचाइबाट सीमा पार गर्दै पाकिस्तानमा खसेको थियो । त्यो मिसाइल अन्तर्राष्ट्रिय र आन्तरिक व्यावसायिक एयरलाइन्सका मार्गहरूसँग निकै नजिकबाट गएको थियो । यो निकै गैरजिम्मेवारपूर्ण हो कि भारतले पाकिस्तानलाई यसको जानकारीसमेत दिएन।’

पाकिस्तानी अधिकारीहरूले मिसाइल भारतको सिमानादेखि ७५ किलोमिटर भित्र पर्ने मियाँ चानू नामको सानो शहरमा खसेको जनाएका थिए ।

यसपटक के भयो?

राहुल बेदी भन्छन्, ‘भारतले यसपटक पाकिस्तानमा पसेर आक्रमण नगरी आफ्नै क्षेत्रबाट हमला गरेको छ । सबैभन्दा ठूलो कुरा के हो भने भारतले यसपटक पाकिस्तानको मुख्य भूभाग पंजाबमा आक्रमण गरेको छ।’

भारत र पाकिस्तानको मिसाइल क्षमताको सन्दर्भमा राहुल बेदी भन्छन्, ‘भारतसँग बीएमडी सिस्टिम (ब्यालेस्टिक मिसाइल डिफेन्स) छ, तर पाकिस्तानसँग छैन । यद्यपि बीएमडी सधैं १०० प्रतिशत सफल हुँदैन। हामीले देख्यौं कि इजरायलको आयरन डोम पनि केही अवस्थामा असफल भएको थियो। यति हुँदाहुँदै पनि बीएमडी सिष्टम ठूला आक्रमणहरू रोक्न उपयोगी हुन्छ।’

राहुल बेदी भन्छन्, ‘भारतसँग रणनीतिक र परम्परागत दुवै प्रकारका मिसाइलहरू छन्। जस्तै अग्नि रणनीतिक मिसाइल हो र ब्रह्मोस परम्परागत। यदि यी मिसाइलहरूको पाकिस्तानको गौरी र बाबरसँग तुलना गरियो भने भारतको मिसाइलहरूको मारक क्षमता धेरै अगाडि छ । भारतको निगरानी प्रणाली (सर्विलेन्स सिस्टम) पनि अहिले निकै राम्रो भएको छ।’

दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको नेशनल सेक्युरिटी सेन्टरका प्राध्यापक लक्ष्मण कुमार भन्छन्, ‘भारतको एयर डिफेन्स सिस्टम आकाश र एस ४०० धेरै उपयोगी हुनेछन् । पाकिस्तानसँग यति प्रभावशाली हवाई सुरक्षा प्रणाली छैन । मलाई लाग्दैन कि पाकिस्तान भारतका सैन्य ठेगानाहरूमा आक्रमण गर्नेछ । तर जवाफ त दिने निश्चित छ।’

भारत र पाकिस्तानको मिसाइल तथा एयर डिफेन्स प्रणाली तुलना तालिका

विषयभारत 🇮🇳पाकिस्तान 🇵🇰
एंटी-बैलिस्टिक सिस्टमPAD, AAD – दुई-स्तरीय मिसाइल डिफेन्सHQ-9BE (चिनियाँ), आंशिक परीक्षणमा
सुपरसोनिक मिसाइलब्रह्मोस (Mach 2.8–3)बाबर (Subsonic)
अन्तरमहादेशीय मिसाइल (ICBM)अग्नि–५ (5,000–8,000 किमी)छैन
मिसाइल विविधताअग्नि, पृथ्वी, ब्रह्मोस, निर्भयशाहीन, बाबर, अब्दाली
एयर डिफेन्स सिस्टमS-400, आकाश, NETRA AEW&Cतुलनात्मक रूपमा कमजोर, चीनमा निर्भर

बीबीसीबाट