
काठमाडौं । जम्मु–कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको दुई हप्ता पछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानहरूमा आक्रमण गरेको छ । भारतले यी आक्रमणहरूलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ ।
भारतले पाकिस्तानका नौवटा लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ ।
पाकिस्तानका विदेशमन्त्री इसहाक डारले आक्रमणमा आठ जना पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् र यस्ता आक्रमणमा अन्य ३५ जना घाइते भएको बताएका छन् ।
भारतीय सेनाका एक प्रवक्ताले कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन जना भारतीय नागरिकको मृत्यु भएको जनाएका छन्।
पाकिस्तान र भारत दुवैले धेरै क्षेत्रका विद्यालय र कलेजहरू बन्द गरेका छन् ।
भारतीय सेनाले ‘अपरेसन सिन्दूर’ सुरू गरेपछि धेरै एअरलाइन्सहरूले यात्रासम्बन्धी सल्लाह (ट्राभल एडभाइजरी) जारी गरेका छन्।
पाकिस्तानको हैदरावादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ ।
पाकिस्तानको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इस्लामाबादले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई ‘भारतको आक्रामकण र यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा उत्पन्न गरेको खतरा’ बारे जानकारी गराएको बताएको छ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई पाकिस्तानसँग संयुक्त राष्ट्र चार्टरको अनुच्छेद ५१ अन्तर्गतको आत्मरक्षा अधिकारअनुसार, आफूले रोजेको समय र स्थानमा यो आक्रमणको उचित जवाफ दिने पूर्ण अधिकार रहेको सूचित गरेको छ ।
पाकिस्तानले भारत-नियन्त्रित कश्मीरसँगको सीमामा रहेको एक सैन्य पोस्टमा भारतीय सैनिकहरूले सामान्यतया आत्मसमर्पणको प्रतीक मानिने सेतो झन्डा उठाएका दाबी गरेका छन् ।
यो दाबी पाकिस्तान सरकारको आधिकारिक एक्स एकाउन्टमार्फत सार्वजनिक गरिएको अलजजिराले लेखेको छ ।








प्रतिक्रिया