तीन करोडभन्दा कमका टुक्रे आयोजना संघीय सरकारको बजेटमा नराख्ने गरी राष्ट्रिय योजना आयोगले आयोजना बैंक मापदण्ड लागू गरेसँगै पुरानाभन्दा नयाँ आयोजनाको प्रभावकारिता धेरै हुने अनुमानका साथ नयाँ बजेट आउने छ । योजना केन्द्रमा बस्ने र पैसा प्रदेश तथा स्थानीय तहमा जाने समस्यालाई कम गर्नदेखि बजेट खर्च प्रभावकारी बनाउन आगामी आर्थिक वर्षदेखि बजेटको न्यूनतम सीमा तोकिने भएका छन् ।

काठमाडौं । राष्ट्रिय योजना आयोगले फागुन अन्तिममा आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा साना आयोजना समावेश नगर्न मापदण्ड बनाएको थियो । आयोगले राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड २०८१ जारी गरेर तीन करोड मुनिका टुक्रे आयोजनामा आयोजना बैंकमा नराख्ने व्यवस्था गरेको छ ।
आयोजनाको पहिचान, वर्गीकरण, मूल्यांकन, छनोट तथा प्राथमिकीकरण र पुनः प्राथमिकीकरण गरेर अनलाइन सिस्टममा राख्ने र कार्यान्वयन गर्न योग्य आयोजनाको विवरण भएको ‘आयोजना बैंक’मा रहेन व्यवस्था छ । यो वर्षका लागि आयोगले तीन करोड रुपैयाँभन्दा बढी लागतका आयोजना मात्रै ‘आयोजना बैंक’मा राख्ने मापदण्ड बनाएको छ ।
आयोगले तयार पारेको मापदण्ड विपरीत आगामी आर्थिक वर्षको बजेटमा ३ करोड भन्दा कमका आयोजना राख्न राजनीतिक नेतृत्वबाटै दबाब आइरहेको छ । अर्थ मन्त्रालयमा दिनहुँजसो राजनीतिक पहुँच भएका व्यक्ति र निकायको बाक्लो उपस्थित भइरहेको छ । उनीहरुलाई आआफ्नै क्षेत्रमा बजेट राख्न र उपयुक्त आयोजनालाई महत्व दिन भन्दै दबाब दिने काम भइरहेका छन् ।
अर्थ मन्त्रालयका अनुसार आयोजना बजेटमा राख्न र पार्ने विषयलाई दबाब नभएर सुझावका रुपमा अग्रहण गर्ने काम भइरहेको छ । अर्थ मन्त्रालयमा तीन करोड रुपैयाँ भन्दा कमका आयोजना पनि राख्नुपर्ने गरी सुझाव आइरहेको छ । त्यस्तो सुझावलाई समेट्न अर्थमन्त्रीले अधिकतम प्रयास गर्ने भन्दै आगन्तुलाई पठाउने गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । अर्थ मन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार विभिन्न निकायबाट आएको सुझाव ग्रहण गर्दै बजेट निर्माणको काम अगाडि बढिरहेको छ ।
अर्थमन्त्री विष्णु पौडेलको स्पिरिट पनि संघीयताको मर्मत अनुसार काम गर्ने र सोही अनुसारको बजेट विनियोजना गर्ने भन्ने मै छ । अर्थ मन्त्रालयमा विभिन्न निकायबाट तीन करोडको सीमा राख्न हुँदैन भनेर आएको दबाब भन्दा पनि यसलाई सुझावका रुपमा लिइएको अर्थाइएको छ ।
अर्थ मन्त्रालयका अनुसार खानेपानी, पर्यटन र खेलकूद मन्त्रालय अन्तर्गतका आयोजनामा चाहिँ ३ करोडभन्दा कम कमको पनि हुनुपर्छ भन्ने सुझाव आएको छ । अरु विकासे मन्त्रालय र पूर्वाधारका आयोजनाको हकमा भने तीन करोड रुपैयाँ माथिका मात्रै आयोजनामा बजेट राख्ने गरी काम भइरहेको छ ।
आगामी वर्षको बजेटमा विगतमा जस्तो टुक्रे योजना नपर्ने गरी बजेट बनाउनकै लागि बजेटको सीमा तोकिएको राष्ट्रिय योजना आयोगको भनाइ छ । आयोगका सूचना अधिकारी दिबाकर लुईटेल आयोगले जारी गरेको मापदण्ड अनुसार नै तीन करोडभन्दा ठूला आयोजना मात्रै आयोजना बैंकमा प्रविष्ट भएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश श्रेष्ठका अनुसार हालसम्म ७ हजार वटा आयोजना ‘आयोजना बैंकक’मा प्रविष्ट भइसकेका छन् । आयोजना बैंकमा तीन करोडभन्दा कमका आयोजना प्रविष्ट गर्न मन्त्री तथा सांसदहरुको दबाव आइरहेको छ । मापदण्ड नपुगेको आयोजना प्रविष्ट नै गर्न नमिल्ने भएकोले विगतका वर्षभन्दा यो वर्ष बजेट बनाउँदा आयोजना छनोटमा सहज हुने अनुमान पनि श्रेष्ठको छ ।
श्रेष्ठले संघीय कार्यक्रम तीन करोड भन्दा माथिका मात्रै आयोजना राख्ने काम सम्बन्धित मन्त्रालयबाटै भइरहेको छ । विगतका वर्षहरुमा कुरा मात्रै हुने भएपनि यो वर्ष भने मापदण्डमै राखेर बजेटको न्यूनतम सीमा तोकेकोले पनि राजनीतिक रुपमा दबाब आउनु स्वभाविक भएको बुझाइ श्रेष्ठको छ ।
आयोजना बैंकमा सबैभन्दा धेरै सहरी विकास, भौतिक पूर्वाधार, खानेपानी, ऊर्जासहितका मन्त्रालयअन्तर्गतका आयोजना समावेश छन् । यसमध्ये सहरी विकासका आयोजना २ हजार वटा आयोजना बैंकमा प्रविष्ट भएका छन । खानेपानी मन्त्रालय अन्गर्ततको २ हजार वटा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत १ हजार वटा आयोजना बैंकमा समावेश परेको परेको छ ।
सहरी विकासको मात्रै १४ अर्बका आयोजनाले बजेट नपाउने
सहरी विकास मन्त्रालयका मात्रै करिब १४ अर्ब रुपैयाँका आयोजना यस वर्ष ‘आयोजना बैंक’मा पर्नबाट बञ्चिन भएसँगै बजेट नपाउने भएका छन् । सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनाली तीन करोड रुपैयाँभन्दा कमका आयोजनाले बजेट नपाउने भएसँगै यो वर्ष पूरा हुन नसकेका आयोजना अधुरै हुने छन् ।
ती आयोजनालाई स्थानीय र प्रदेश सरकारले स्वीकार गरेर बजेट दिए अगाडि बढ्न सक्ने अन्यथा अहिलेकै आयोजना बैंकको मापदण्ड अनुसार भने धेरै साना आयोजना अधुरो हुने छन् ।
सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८१ को लागि ९२ अर्ब ६३ करोड रुपैयाँको बजेट पाएको छ । यस्तो बजेट गत आर्थिक वर्ष २०८०/८१ मा ६६ अर्ब १७ करोड रुपैयाँको थियो । सहरीको बजेट बढ्नुमा टुक्रे आयोजना धेरै हुनु पनि एउटा कारण हो ।
देश संघीयतामा गएपनि योजना केन्द्रमा र खर्च गर्न सक्ने तल्ला तहमा गएका कारण बर्षेनी सरकारको बजेट खर्चमा संकुचन आइरहेको उल्लेख छ । संघीयताको मर्म अनुसार चलाउन पनि तीन करोड भन्दा कमका आयोजना प्रदेश र स्थानीय तहमा पठाउने नीति सरकारले अवलम्बन गर्न थालेको उल्लेख छ । यस्तो नीति आगामी आवको बजेटबाट कडा रुपमा लागू गर्न खोजिएको हो ।
वर्षेनी सिलिङभन्दा धेरै बजेट माग आइरहेको भएपनि सबैलाई समेट्न नसक्दा न्युनतम सीमा तोक्नुलाई सकारात्मक मान्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकास सिंहले बताए । उनका अनुसार यस वर्ष पनि तीन करोड रुपैयाँभन्दा ठूला आयोजनालाई मात्रै बजेट राख्ने भनिएपनि साना आयोजनाको माग र दबाब भने कम भएको छैन् ।








प्रतिक्रिया