पोखरा विमानस्थलमा भ्रष्टाचार: उपसमितिको प्रतिवेदन बाहिरिएको भन्दै समितिमा चर्काचर्की

336
Shares

काठमाडौं । पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानबिनका लागि गठन भएको लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा छलफल नै नभइ बाहिरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

सांसदहरुले आपत्ति जनाएपछि उपसमिति सदस्यसमेत रहेका पूर्वपर्यटन मन्त्री प्रेमबहादुर आलेले १० जना रहेको समितिमा कसैले पनि प्रतिवदेन बाहिर नलगेको बताए ।

उनले अध्ययन समितिका सदस्यलाई धन्यवाद दिनुपर्नेमा उल्टै प्रश्न किन उठेको भनेर आक्रोश पोखे । आलेले ८ अर्ब लागत बढाए भ्रष्टाचार भएको दाबीसहित उपसमितिले प्रतिवेदन पेश गरेको बताए । उनले पोखरा विमानस्थलमा भ्रष्टाचार भएका विषयमा उपसमितिले शीर्षकगत भ्रष्टाचार भएको दाबी गरे ।

आलेले कतिपय सांसदले सञ्चारमाध्यममा गएर भ्रष्टाचारीको पक्षपोषण गरेको भन्दै आक्रोश पोखे । उनले भने, ‘ १४ अर्बको ठेक्का २२ अर्ब पुर्याएको छ । समितिका सदस्यले नै भ्रष्टाचारी जोगाउन प्रतिवेदन बाहिर लगेको हो कि त्यसको अध्ययन गर्नुपर्छ।’

त्यसअघि ‘उक्त प्रतिवदेन समितिमा नआई किन बाहिरियो ?’ सांसद राजेन्द्र केसीले प्रश्न गर्दै भने, ‘प्रतिवेदन समितिमै नआइ बाहिर किन लगियो त्यस विषयमा जवाफ दिनुपर्छ ।’

हस्ताक्षर नभएको प्रतिवेदन सार्वजनिक नभएको भन्दै समितिका सदस्यहरुले प्रश्न गरे ।

रास्वपा सांसद मनिष झाले हस्ताक्षर नभएको प्रतिवेदन बाहिरिएको विषयमा कडा आपत्ति जनाए । उपसमिति संयोजक राजेन्द्र लिङदेनले भने सदस्यहरु सबैलाई प्रतिवेदन बाँडिएको भन्दै कसरी बाहिरियो भन्नेबारे जानकारी नभएको बताए ।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले केही तथ्य आइसकेको भन्दै थप तथ्य ल्याउनु पर्ने बताए ।

सांसद राजन दाहालले प्राविधक रूपमा पर्याप्त छलफल नभइ आएको प्रतिवदन जस्तो देखिएको बताए ।

‘यो सामग्री मात्रै भयो । थप अनुसन्धान गर्नुपर्छ,’ उनले भने, ‘पोखरासँगै भैरहवा पनि जोडेर परिपक्व प्रतिवेदन तयार गर्न सकिन्छ।’

उपसमिति संयोजक लिङ्देनले भने आयोजनास्थलमा गएर सम्बन्धित पदाधिकारी र विज्ञसमेतसँग छलफल गरेर प्रतिवेदन दयार गरेको बताए ।

सांसद अमनलाल मोदीले समितिले छलफल गर्न सक्दैन भनेर सानो उपसमिति बनाएर छफलल गर्ने अभ्यास अनुसार नै उपसमिति बनाइएको र त्यस अनुसार अध्ययन भएको बताए ।

Skip This