विश्वको सवारी उद्योगमा चीन अग्रपंक्तिमा पुग्दै, के प्रतिस्पर्धाको लागि अमेरिका तयार छ ?

427
Shares

काठमाडौं । यो वर्षको शाङ्घाई अटो शोले दर्शकहरूलाई स्पष्ट सन्देश दिएको छः चीन अब नवप्रवर्तनको विश्व नेताको रूपमा उदाएको छ, र उसले विश्वलाई त्यो देखाउन चाहन्छ।

चीनको वित्तीय राजधानीमा दुई हप्तासम्म चलेको यो विशाल प्रदर्शनीमा ६० वटा फुटबल मैदान बराबरको क्षेत्रफल ओगटिएको थियो, जहाँ कार निर्माता कम्पनीहरूले नयाँ मोडलहरू प्रदर्शन गरे ।

ठूला ब्रान्डहरूले पाँच मिनेट चार्जमा सयौं माइल चल्ने ब्याट्रीदेखि लिएर उड्ने गाडी र अत्याधुनिक सहायक ड्राइभिङ प्रविधिसम्म उक्त प्रदर्शनीमा देखाएका थिए ।

अघिल्लो दशकहरूमा जिएम, फोल्क्सवागन वा बीएमडब्लुजस्ता परम्परागत कार निर्माता कम्पनीहरूले केन्द्र आकर्षण पाइरहेका थिए, तर यो वर्ष चीनका विद्युतीय सवारी साधनका अग्रणी कम्पनीहरू केन्द्रमा थिए।

उदाहरणका लागि सबैको ध्यान बीवाईडीको अत्यधिक प्रतीक्षित इलेक्ट्रिक स्पोर्ट्सकार डेन्जा जेडतर्फ थियो। बीवाईडी चीनको अग्रणी कार निर्माता कम्पनी हो।

यस नयाँ मोडलको अनावरण गर्दै बीवाईडीका डिजाइन निर्देशक, पूर्व अडी र लाम्बोर्गिनी डिजाइनर वोल्फग्याङ एगरले भने, ‘यो विशुद्ध भावनात्मक डिजाइनको प्रमाण हो ।’

जब उनले निलो रङको कुपे सार्वजनिक गरे, भीडले चिच्याएर स्वागत गरेका थिए ।

अर्को हलमा, इलेक्ट्रोनिक्स कम्पनीबाट कार निर्माता बनेको साउमीका गाडी हेर्न मानिसहरू लामबद्ध थिए। अरूले नियोको लक्जरी सेडान ईटी ९ को झलक लिन गर्दन तन्काउँदै थिए, जुन बीएमडब्लु ७ सिरिज वा पोर्शे पानामेराको प्रतिस्पर्धी मानिएको छ।

यो इवेन्टको भव्यता हेर्दा एकछिनका लागि भए पनि मानिसहरू ट्रम्प प्रशासनले लगाएको विभिन्न प्रकारका कर प्रणाली बिर्सन खोज्छन् । अमेरिका – चीन बीचको व्यापार युद्ध अझ चर्किंदै गएको छ । जसले ‘डिकप्लिङ’ (विच्छेदन) को खतरा उत्पन्न गरेको छ।

तर यही कारण हो कि चीनको ईभी उद्योगको द्रुत प्रगति राष्ट्रका लागि अत्यन्त महत्वपूर्ण बनिरहेको छ । किनभने यो विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र प्रविधिको अग्रणी राष्ट्र अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

कहिल्यै घटिया नक्कल उत्पादकको रूपमा चिनिएको चीन आज ईभी उद्योगको अग्रस्थानमा पुगेको छ । चीनले बहुआयामिक प्रविधि क्षेत्रमा शक्ति बन्ने लक्ष्य राखेको छ।

गत वर्ष, चीनको निजी क्षेत्रको राष्ट्रिय च्याम्पियन बीवाईडी ले अमेरिकी ईभी निर्माता टेक्सलालाई उसकै बजारमा बिक्रीमा उछिन्यो। बीवाईडीले चीनमा यात्रु गाडीको प्रमुख विक्रेता भक्सवागेनलाई पनि पछि पारेको छ। शाङ्घाईमा गिगाफ्याक्ट्री भएको टेक्सलाको भने यो प्रदर्शनीमा उपस्थिति थिएन ।

२०२३ देखि नै चिनियाँ उपभोक्ताहरूले घरेलु ब्रान्डलाई दोस्रो दर्जाको रूपमा हेर्न छाडिसकेका छन् । पछिल्लो समयमा चिनियाँ उपभोक्ताले चिनियाँ कम्पनीको गाडी किन्न थालेका छन्। ऊर्जा विश्लेषण संस्था र्हो मोसनका अनुसार, चीनले अहिले विश्व ईभी बजारको ६० % भन्दा बढी हिस्सा नियन्त्रणमा लिएको छ।

ट्रम्पको व्यापार युद्धले विश्वव्यापी कार निर्यात रणनीतिमा प्रभाव पार्दा पनि चिनियाँ ईभी निर्माता कम्पनीहरू तुलनात्मक रूपमा सुरक्षित छन् । किनभने बाइडेन प्रशासनको समयमा नै भारी महसुल र प्रतिबन्धहरू लागेपछि उनीहरूले अन्य बजारहरूमा केन्द्रित हुन थालिसकेका छन्।

अमेरिकामा विद्युतीय सवारी साधन क्षेत्रलाई प्रवर्धन गर्ने प्रयासहरूलाई उपेक्षा गर्दै ट्रम्पले फेरि परम्परागत अटो उद्योग फर्काउने लक्ष्य राख्दा, चीनको ईभी अग्रता ‘सफ्ट पावर’ को रूपमा पनि प्रयोग हुनसक्नेछ । यो व्यापार तथा प्रविधिको विश्व व्यवस्था पुनः परिभाषित गर्नसक्ने अवसर हो।

‘एकदम चाँडो परिवर्तन’
तर चीनमै भने प्रतिस्पर्धा अत्यधिक छ । जहाँ धेरै कम्पनीहरूले मूल्य युद्धमा होमिएर प्रविधिमा एक अर्कालाई पछि पार्ने प्रयास गर्दैछन्। उनीहरू विश्व बजारमा हिस्सेदारी कब्जा गर्ने होडमा छन्।

मार्चमा, बीवाईडीले नयाँ ब्याट्री ल्यायो जसले पाँच मिनेट चार्जमा २५० माइलको रेन्ज दिन्छ। यो टेक्सलाको ब्याट्रीभन्दा निकै छिटो थियो। तर केही सातापछि, क्याटल नामक चिनियाँ ब्याट्री कम्पनीले ३२० माइल रेन्ज दिने ब्याट्री ल्याउने घोषणा गर्यो।

स्मार्ट ड्राइभिङ पक्षमा हुवाइवे र मोमेन्टा जस्ता प्रविधि कम्पनीहरूले नयाँ प्रविधि ल्याइरहेका छन्। बीवाईडीले आफ्नो गुड्स आइ नामक सहायक ड्राइभिङ प्रणाली १०,००० डलरबराबरको गाडीहरूमा निःशुल्क उपलब्ध गराउने घोषणा गरेपछि प्रतिस्पर्धा झनै बढेको छ।

‘चीनमा प्रविधि बलियो छ, तर मूल्य विलासी छैन,’ शाङ्घाईका सवारी बिज्ञ वाङ छीगुआङले भने, ‘यो सबैलाई प्रविधिको समानता दिलाउने बनाएको छ, यही नै यसको सबैभन्दा राम्रो पक्ष हो।’

विश्लेषकहरूका अनुसार, यस वर्ष मार्चमा साउमी गाडी दुर्घटनामा परेपछि सरकारले सहायक ड्राइभिङको विज्ञापन र परीक्षणमा कडाइ गरेको छ । जसका कारण केही प्रविधिहरूले ठूलो परिमाणमा प्रचार पाउन सकेनन्।

चिनियाँ उपभोक्ताहरूका लागि गाडी चलाउने कुरा केवल उपयोगिता नभएर रमाइलो पनि हो। कार निर्माता कम्पनीहरूले अब मल्टि स्क्रिन, फोनसँग सजिलै जडान हुने प्रणाली, मसाज सिट र भ्वाइस कन्ट्रोल जस्ता सुविधा सस्तोमा उपलब्ध गराइरहेका छन्।

‘हामी पछाडि बसिरहेका थियौं, सिट तात्ने, भ्वाइस कन्ट्रोल, झ्याल पछाडिसम्म, धेरै खुट्टा फैलाउने ठाउँ। र जब हामी मूल्य हेर्छौं, थाहा हुन्छ २८,००० डलर मात्र, आधारभूत मोडल त २०,००० डलरमा पाइन्छ । यो त एकदमै अचम्म लाग्दो हो,’ एक अमेरिकी व्यवसायीले भने।

उनी र उनका सहकर्मीहरू, जो अटो पार्ट्स बेच्ने गर्छन्, शाङ्घाई आएका थिए । किनभने उनका मालिकले भनेका थिए, ‘चीन बजारमा के हुँदैछ हेर्नुपर्छ।’

बाइसीकलबाट विद्युतीय राजधानीसम्म
आजको सफलता हेर्दा अचम्म लाग्न सक्छ कि दुई दशकअघि चीनमा गाडी संस्कृति नै थिएन। १९७० को दशकको अन्त्यतिर, चीनलाई ‘बाइसीकलको देश’ भनिन्थ्यो।

२००० को दशकको सुरुवातमा, तीव्र आर्थिक विकासले लाखौं मानिसहरूलाई मध्यवर्गमा पुर्याएपछि गाडी स्वामित्व बढ्न थाल्यो।

विदेशी कार निर्माता कम्पनीहरूले संयुक्त लगानीमार्फत चीनमा प्रवेश गर्न थाले, र प्रविधि स्थानान्तरण गर्न बाध्य भए।

तर घरेलु ब्रान्डहरू दोस्रो दर्जाका रूपमा हेरिन्थे। एक प्रेम कार्यक्रमकी प्रतियोगीले भनेकी थिइन्स् ‘म साइकिलमा हाँस्नुभन्दा बीएमडब्लुमा रुन रोज्छु।’

तर २००९ देखि, जब अमेरिका सरकारले टेक्सलालाई लगभग ५०० डलर मिलियनको ऋण दियो, चीन सरकारले पनि ईभी क्षेत्रमा पूर्ण ध्यान केन्द्रित गर्यो।

सरकारले सार्वजनिक ट्याक्सी तथा बसहरूमा ईभी प्रयोग गर्ने नीति, चार्जिङ संरचना निर्माण, कर छुट र अनुदान जस्ता सहुलियतहरू उपलब्ध गरायो।

चिनियाँ सरकारको समर्थनको अनुमान फरक-फरक भए पनि, राज्य सञ्चालित मिडियाका अनुसार १० वर्षमा करिब २० अर्ब डलरबराबरको सहुलियत दिइएको छ।

केही विश्लेषकहरूले भने ५० अर्बदेखि २०० अर्ब डलरसम्मको सहायता रहेको बताएका छन्।

बीवाईडीको संस्थापक तथा इन्जिनियर वाङ छुआनफुले १९९५ मा ब्याट्री कम्पनी खोलेका थिए । पछि २००३ मा गाडी उत्पादन सुरु गरे। २००८ मा वारेन बफेटको कम्पनीले २३० मिलियन डलर लगानी गरेपछि बीवाईडीले विश्वको ध्यान तानेको हो।

१५ वर्षपछि, जब बीवाईले आफ्नो ५० लाखौं कार उत्पादन गर्यो, वाङ मंचमै भावुक भए।

‘चीनको कार युग सुरु भएको छ,’ उनले भने।

विशेषज्ञहरू भन्छन्, टेक्सलाको शाङ्घाईमा उत्पादन सुरु हुनु चीनको ईभी उद्योग सफल बनाउनमा सहायक रह्यो।

‘पश्चिमी कम्पनीहरू ईभीलाई धेरै महँगो मान्थे। मूल्यको यो तीव्र गिरावट चिनियाँ औद्योगिक प्रणालीले ल्याएको हो,’ अमेरिकी विश्वविद्यालयका प्राध्यापक जोन हेल्भेस्टनले भने।

आज चीनमा बेचिने नयाँ गाडीमध्ये लगभग आधा ईभी वा हाइब्रिड छन्। जबकि अमेरिका मा २०२३ को तेस्रो त्रैमासिकमा मात्र २० प्रतिशत यस्ता गाडी थिए।

नयाँ विश्व, नयाँ चुनौतीहरू
चीनको सफलताको प्रचार राज्य मिडियाद्वारा गरिएको छ। यसै वसन्तमा, अमेरिकी यूट्युबर आईशो स्पीडले बीवाईडीको लक्जरी ब्रान्ड याँगवाँगका कारहरूको भिडियो बनाएपछि चीनमा भाइरल बने।

अहिले परम्परागत विदेशी ब्रान्डहरू चिनियाँ प्रविधि प्रयोग गर्न इच्छुक छन्। भक्सवोगनले आफ्नो ‘चीनमा, चीनको लागि’ रणनीति घोषणा गरेको छ। स्टेलान्टीसले लिपमोटरसँग साझेदारी गरेको छ । टोयोटाले मोमेन्टासँग ईभी प्रविधिमा हात मिलाइएको छ । जीएमले वकमार्फत मोमेन्टा र क्याटलसँग सहकार्य गरि काम गरिरहेको छ ।

‘विदेशी ब्रान्डहरूको यो प्रतिआक्रमण हो,’ उद्योग विशेषज्ञ लेई सिङ भन्छन्,’उनीहरूसँग अब चिनियाँ प्रविधि छ, र उनीहरूले सिकेका छन् भन्ने देखाउन खोजिरहेका छन्।’

व्यापार युद्धको खतरा
तर यो सबै द्वन्द्वन्त्मक समयमा भइरहेको छ। ट्रम्पले गाडीमाथि २५ प्रतिशत महसुल लगाएका छन्, पार्ट्समाथि पनि यति नै शुल्क लगाइएको छ। अहिले अमेरिका र चीनले एकअर्काको सामानमाथि १०० प्रतिशतभन्दा बढी महसुल लगाइरहेका छन्।

फोर्डले चीनमा गाडी पठाउनु बन्द गरिसकेको छ। चिनियाँ ईभी निर्माता कम्पनीहरूले अमेरिकी बजारलाई छोडेर अन्यत्र ध्यान दिइरहेका छन्।

चिनियाँ कम्पनी पोनी एआईका प्रमुख जेम्स पेंगले भने, ‘हामीले विकल्प खोजिरहेका छौं। अमेरिका संग व्यापार गर्न अझ गाह्रो हुँदैछ।’

अन्तमा, वासिङ्टनका प्राध्यापक हेल्भेस्टन भन्छन्, ‘अब दुई पृथक् बाटोहरू देखिन्छन्- एउटा चीन, जसले विद्युतीय युगलाई नेतृत्व गर्छ, अर्को अमेरिका छ, जसले अझै पेट्रोल गाडीमै अडिएको टापुजस्तै हुनेछ।’ एजेन्सी