क्लिक-टक

ब्याज कम भएकाले कर्पोरेट ग्राहक एभरेष्ट बैंकमा आए, खोसाखोस गरेका छैनौंः सुदेश खालिङ

सम्भावनाको विश्लेषण नगरी एउटाले लगानी गरेपछि सबै त्यतैतिर लाग्नाले बैंकिङ क्षेत्रमा समस्या आयो

5.3k
Shares

नेपालको बैंकिङ क्षेत्र पछिल्लो केही वर्षयता चुनौतीपूर्ण अवस्थामा छ । अर्थतन्त्रमा देखिएको शिथिलतासँगै बैंकहरुले कर्जा लगानी गर्न नसक्दा अधिक तरलताको समस्या भोगिरेका छन् भने अर्कोतर्फ बैंकहरुको रिकभरीमा समेत समस्या देखिएको छ । बैंकिङ क्षेत्रमाथि संगठित रुपमा नै आक्रमण गर्ने प्रयास हुने गरेका छन् ।

अर्थतन्त्रमा देखिएको सिथिलताले कर्जा रिकभरीमा समस्या झेलिरहेका बैंकमा यस्ता संगठित अभियानले झनै समस्या पारेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको भनाइ छ । धितो लिलामी र गैरबैंकिङ सम्पत्ति बुक गर्दा स्थानीय तहबाट पनि अपेक्षित सहयोग नपाएको उनको गुनासो छ ।

ब्याजदर दशकयताकै न्युन हुँदा समेत कर्जाको माग बढ्न सकेको छैन । यसैबीच केही बैंकहरुको भने कर्जा विस्तार सामान्य अवस्थाको भन्दा पनि उच्च देखिएको छ । कर्जा विस्तारमा एग्रेसिभ देखिएको बैंकको सूचीमा एभरेष्ट बैंक सबैभन्दा अगाडि छ । केही क्षेत्रका माग र आवश्यकताको तुलनामा अधिक लगानीले गर्दा पनि समस्या आउनसक्ने देखिएको खालिङको विश्लेषण छ । बैंकिङ क्षेत्रले एक तहको दबाब झेलिसकेकोले अब सुधारको चरणमा जाने उनी बताउँछन् ।

प्रस्तुत छ नेपालको पछिल्लो आर्थिक र बैंकिङ अवस्था, लगानीको वातावरण, बैंकिङ क्षेत्रको लगानी र रिकभरी तथा चुनौति लगायत विषयमा केन्द्रित भएर उनै खालिङसँग क्लिकमान्डुका लागि विजय पराजुलीले गरेको कुराकानीः

कोभिडपछि २/३ वर्षसम्म हाम्रो अर्थतन्त्र सुस्त देखिएकामा पछिल्लो समय आर्थिक गतिविधि चलायमान हुने संकेत मिलेको छ । बैंकिङ क्षेत्रले के महशुस गरेको छ ?

पछिल्लो ५/६ महिनाको तथ्यांकले के देखाउँछ भने देशमा रेमिट्यान्सको वृद्धि कायम छ । साथै निर्यात बढेको छ । देशका लागि यो राम्रो पक्ष हो । प्रशोधित तेललगायत वस्तुको निर्यात राम्रो दरमा भए पनि त्यसबाहेक अन्य क्षेत्रमा अपेक्षित सुधार देखिएको छैन । हाम्रो आन्तरिक मागमा ह्रास पनि आएको छैन, सुधार पनि भएको देखिँदैन ।

एभरेष्ट बैंकको गत वर्षको र चालू आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने कर्जा विस्तार राम्रो दरमा भएको देखिन्छ । बैंकिङ क्षेत्रको औसतभन्दा एभरेष्टको कर्जा विस्तार दर उच्च छ । बैंकमा कर्जाको माग कसरी र कुन क्षेत्रमा बढिरहेको छ ?

एउटा बैंकको तथ्यांक भन्दा पनि समग्र बैंकिङ क्षेत्रलाई हेर्ने हो भने कर्जाको वृद्वि भएको छैन । राष्ट्र बैंकले प्रक्षेपण गरेको भन्दा पनि कम वृद्वि भइरहेको छ । त्यसमा केही बैंकहरूको कर्जा विस्तार बढेको देखिन्छ । त्यसका विभिन्न कारण छन् । नयाँ कर्जाको माग भएको छैन । सिमित बैंकको कर्जा बढ्नुका कारण ठूला व्यवसायी हुन् । जहाँ ब्याजदर कम हुन्छ, उहाँहरू त्यतातिर जानुहुन्छ । एभरेष्ट बैंकको पनि गत वर्षदेखि नै ब्याजदर अन्य बैंकहरूभन्दा केही कम भएकोले कर्जाको माग बढेको हो । नयाँ परियोजना अगाडि बढेर समग्र कर्जाको मागमा सुधार भएको छैन ।

कोभिडको समयमा अर्थतन्त्र अलिक प्रतिकुल हुँदा तुलनात्मक रूपमा एभरेष्ट बैंक सचेत रहेको देखियो । एभरेष्ट बैंक सम्पत्ति गुणस्तरमा केन्द्रित भएजस्तो देखिन्थ्यो । कोभिडमा केही बैंकहरूले एग्रेसिभ ग्रोथ गरे । ती एग्रेसिभ ग्रोथ गरेका बैंक अहिले सम्पत्तिको गुणस्तरमा समस्या आउन थालेको छ । अहिलेको एग्रेसिभ ग्रोथमा रहेको एभरेष्ट बैंकले सम्पत्ति गुणस्तरमा सम्झौता गरेको छैन भन्नेमा स्टेकहोल्डरहरु कसरी विश्वस्त हुने ?

कर्जा लगानीमा हामी एकदमै चनाखो भएर जान्छौं । माग बढ्यो भन्दैमा हाम्रो गुणस्तरलाई सम्झौता गर्दैनौं । अहिलेको अवस्था पक्कै पनि चुनौतीपूर्ण छ । तर पनि हामीले व्यवस्थापन गर्न सकेका छौं । त्रैमासिक रिपोर्टबाट पनि यो कुरा देखिरहेकै छ ।

बैंकिङ क्षेत्रकै औसत निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा माथि छ । गैरबैंकिङ सम्पत्तिलाई जोड्ने हो भने झन् त्यो माथि जान्छ । अर्थतन्त्रसँगै समग्र बैंकिङ क्षेत्रमा प्रतिकुल अवस्था देखिँदै गर्दा एभरेष्ट कसरी निष्क्रिय कर्जा व्यवस्थापन गर्न सफल भयो ? चुनौतीलाई फेस गरिरहेको छ ?

समग्र बैंकिङ क्षेत्रलाई हेर्दा जुन क्षेत्रमा कर्जा बिग्रिएको छ, ती क्षेत्रमा एभरेष्टको लगानी कम छ । यसले पनि हामीलाई सहयोग गरेको छ । एभरेष्टमा पनि सम्पत्तिको गुणस्तरमा कुनै दबाब नै नभएको अथवा पूर्णरूपमा केही नभएको भन्ने होइन । हाम्रोमा पनि गैरबैंकिङ सम्पत्ति गत वर्षभन्दा बढेर गएको छ । हाम्रो कर्जा नबिग्रिएको पनि होइन । तर, समग्रमा हेर्दा हाम्रो ठूलो कर्जा बिग्रिएको छैन । केही साना तथा मझौला उद्योगमा समस्या देखिन्छ । त्यो क्षेत्रमा हाम्रो रिकभरीको प्रयास सधैं नै भइरहेकै छ । यसमा बैंकका सम्पूर्ण कर्मचारी लागिरहेका छौं ।

कर्जा प्रवाह गर्दा कर्जा लिनेको विश्लेषण र मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

सबैले आआफ्नो मापदण्ड अनुसार कर्जा प्रवाह गर्छन् । तर, केही क्षेत्रहरूमा देखिएको आर्थिक मन्दीले गर्दा पनि बैंकहरूमा समस्या परेको हुनसक्छ । कर्जा लगानीको सन्दर्भमा अनुभवको कुरा पनि हुन्छ । कर्जा लगानी गर्ने तथा कर्मचारीहरूलाई तालिममा खर्च पनि गर्नुपर्छ । यसका साथै केही नीति परिवर्तनशील हुन्छन् । कुनै रणनीतिले काम गरेनन् भने तुरुन्तै परिवर्तन गर्नुपर्ने हुन्छ । ऋणीलाई हेर्ने तरिका, मूल्याङ्कन गर्ने तरिका, अध्ययन गर्ने तरिकामा हामी चनाखो हुनुपर्छ । यसो गर्दा गुणस्तर कायम हुन्छ ।

अर्थतन्त्र सुस्त हुँदै गर्दा कर्जाको गुणस्तरमा बढी समस्या कुन क्षेत्रमा देख्नुभएको छ ?

विशेष गरी निर्माण क्षेत्रमा समस्या देखिन्छ । साना तथा मझौला व्यवसायको कर्जामा पनि समस्या देखिएका छन् । यसबाहेक होटल लगायत सेवा क्षेत्र पनि समस्या छन् ।

बैंकको समस्या कुनै क्षेत्रमा लगानीको डिमान्ड र सप्लाइमा विचार नपुर्‍याएको हो कि जस्तो देखिन्छ । जस्तै एउटा लगानीकर्ताले कुनै क्षेत्रमा होटेल खोल्यो भने सबै त्यतैतिर लाग्ने अवस्था छ । हामीसँग लगानी गर्ने क्षेत्र सीमित भएर पनि हो कि ? यस्तो समस्या देखिन्छ ।

सिमेन्ट, डन्डी, होटेल व्यवसाय लगायत सबै क्षेत्रमा समस्या छ । सायद सानो अर्थतन्त्र भएर होला ।

सिमेन्ट क्षेत्रमा जुन किसिमको लगानी विगतमा भयो त्यस किसिमको माग नहुँदा सिमेन्ट उद्योगहरूमा समस्या आइरहेको छ । त्यस्तै, होटेल क्षेत्रमा समस्या छ भनिरहनुभएको छ । अझै ठूला ठूला होटेलका परियोजना निर्माणाधीन छन् । भोलिका दिनमा होटेल क्षेत्रमा पनि समस्या आउला कि ! यस्तो क्षेत्रमा लगानी गर्दा बैंकहरूले पनि सोच्नुपर्ने होइन ?

बैंकहरूले सोचेरै लगानी गरेका हुन्छन् । विश्व अर्थतन्त्रमा परेको प्रभावले पनि बैंकिङ क्षेत्रमा समस्या सिर्जना गरिरहेको छ । पर्यटक आउने क्रम सुधार भएको जस्तो देखिन्छ तर नेपालमा आउने पर्यटकले यहाँ गर्ने खर्च अन्य देशको तुलनामा कम हो कि जस्तो लाग्छ । किनभने नेपालमा सबै स्तरका होटल छन् तर पनि होटलहरुलाई आफ्नो कर्जा नियमित गर्न समस्या भइरहेको छ । यसैगरी अन्य देशहरूको तुलनामा हामीले मूल्य पनि लिन सकेका छैनौं ।

साना तथा मझौला क्षेत्रका ऋणी इमानदार हुन्छन् यस्ता ऋणीहरूबाट कर्जा रिकभरी राम्रो हुन्छ भन्छन् । अहिले साना तथा मझौला उद्योगहरूमै समस्या आउनुको कारण के देख्नुहुन्छ ?

साना तथा मझौला उद्योग बैंकहरूको नजरमा हुन्छ । यो क्षेत्रमा लगानी गर्दा विविधता हुन्छ । यसका साथै कर्जाको सीमा पनि सानो हुन्छ।

यो क्षेत्रमा पनि माग घटेको छ । उपभोग गर्ने जनशक्ति पलायन भइरहेका छन् । यसले नेपालीको खर्च गर्ने क्षमतामा कमी आएको अर्थ दिन्छ । हामीले कर्जा प्रवाह गरेकाहरूको व्यापार हेर्दा पहिलेको भन्दा घटेको छ । समग्र माग नै बढाउन नसक्दा साना तथा मझौला व्यवसायमा लगानी गर्ने लगानीकर्ता नै पलायन भएका छन् । जसले उक्त क्षेत्रको कर्जामा समस्या आएको छ ।

समान्यतय ब्याजदर न्यून हुँदा माग बढ्ने र ब्याजदर बढ्दा माग घट्ने हुन्छ । तर, हाम्रोमा ब्याजदर इतिहासकै न्यून बिन्दुमा हुँदा पनि माग बढ्न सकेन । के कारणले यो अवस्था आइरहेको छ ?

कुनै पनि क्षेत्रमा लगानी गर्दा प्रतिफल खोजिन्छ । यसमा लगानीकर्ताको कन्फिडेन्सको कुरा आउँछ । अन्य राष्ट्रहरूको तुलनामा नेपालको बैंकिङ क्षेत्रमा तरलतामा धेरै नै उतारचढाव हुन्छ । अहिलेको ब्याजदर कहिलेसम्म रहन्छ कसैले अनुमान गर्न सक्ने अवस्था छैन । अहिले नै उद्योग अथवा कुनै पनि व्यवसाय सुरु गर्न सकिँदैन । समय लाग्छ । तर, त्यतिबेलासम्म ब्याजदर कहाँ पुग्छ कसैले अनुमान गर्न सक्दैन ।

हाम्रा नीति पनि स्थिर भएनन् । त्यसले गर्दा कसैले पनि उद्योगमा तत्काल लगानी गर्न सक्ने अवस्था छैन । सर्ट टर्म ट्रेडिङ हो भने गर्न सके तर समय लाग्ने परियोजनामा लगानी गर्नका लागि वातावरण स्वस्थ छैन भन्न सकिन्छ । त्यसैले अहिले लगानीको माग नै आउन सकेको छैन ।

बैंकहरूको ब्याजदर उतारचढावले निजी क्षेत्रलाई उत्पादनमा भन्दा पनि ट्रेडिङलाई बढी सहज बनाइदिएको हो ?

उद्योगबाट होस् या ट्रेडिङबाट होस्, अन्तिममा लागत (मूल्य) ट्रान्सफर उपभोक्तामा हुने हो । विगतमा पनि वातावरण सबै ठिक भएको भए अहिलेको अवस्था आउने थिएन । आजको दिनको ब्याजदर घटबढले कति फरक पार्‍यो भन्दा पनि विश्वव्यापी रूपमा मानिसहरूलाई केही समय पर्खेर बस भन्ने अवस्था जस्तो छ । सधैं यस्तो रहँदैन । केही समयपछि माग बढ्छ कि !

ब्याजदरको उतारचढावमा बैंकहरूको दीर्घकालीन रणनीति नभएर थोरै समय पनि तरलता व्यवस्थापन गर्न बैंकहरूले दीर्घकालीन योजना बनाउन नसकेको हो ?

केही हदसम्म यो कुरा सत्य पनि हो । हामीले दीर्घकालीन योजना बनाउन नसकेको हो कि जस्तो देखिन्छ । ब्याजदरमा उतारचढाव भइरहन्छ भन्दै बैंकहरूले पनि यसलाई सहज रूपमा लिने गरेको हो कि जस्तो पनि छ । तर, अहिले बैंकहरूले सतर्क भएर योजना बनाइरहेका छन् ।

अहिले निक्षेप उठाएर पनि लगानी गर्ने क्षेत्र छैन । कर्जा बाहेक बैंकलाई अरु उपकरण छैनन् । लगानीका क्षेत्र सीमित भए ।

निक्षेपकर्ताको पनि व्यवहार हेर्ने हो भने, कम ब्याजदर भएका बेला बढी समयका लागि निक्षेप नराख्ने प्रवृत्ति छ । डाइभर्सिफाइड अर्थात् औसत प्रतिफल हेर्ने भन्दा पनि ब्याजदर बढेको बेला निक्षेप राखिहालौं र ब्याजदर घट्दा छोटो समयका लागि राखौं भन्ने भेटिन्छन् ।

अहिले जति पनि निक्षेप परिपक्व भइरहेको छ । अथवा नयाँ पैसा छ भने पनि बचत र मुद्दतीको ब्याजदर एउटा एउटै भएपछि मुद्दतीमा किन राख्ने ? बचत नै भइरहोस् भन्ने भाव पनि निक्षेपकर्तामा छ । अहिले बैंकहरूको बचत हेर्ने हो भने बढेको छ । सबै बैंकहरूको बचत खातामा भएको रकम बढेको छ भने मुद्दतीमा निक्षेपमा कमी आएको छ । निक्षेपकर्ता स्मार्ट भएको पनि बुझ्न सकिन्छ ।

राष्ट्र बैंकले नन्–डेलिभरेबल फर्वार्ड ‘एनडीएफ’ मा लगानी गर्ने सीमा बढायो । यो बाहेक बैंकिङ क्षेत्रले लगानी गर्न लगानीको माग नभएको समयमा लगानी गर्न सक्ने अर्को क्षेत्र कुन हो ? राष्ट्र बैंकले यसमा खेल्नुपर्ने भूमिका के देख्नुहुन्छ ?

बैंकहरूको नाफालाई मात्रै केन्द्रित भएर औजार सिर्जना गर्ने दायित्व स्वयं राष्ट्र बैंकको पनि होइन । त्यसैले यो नै क्षेत्रलाई खुल्ला गर्नुस् भन्ने माग छैन । अहिलेको अवस्था राष्ट्र बैंकले सहजीकरण गर्ने हो । सरकारले आन्तरिक ऋण परिचालन गरेर पुर्वाधार निर्माण पनि गर्न सक्छ । हुन त हाम्रो जीडीपीको कति प्रतिशत आन्तरिक ऋण लिने भन्ने पनि हुन्छ । ऋणको भार बढी भयो भन्ने पनि छ । सरकारले केही रकम उठाएर निर्माण क्षेत्रलाई भुक्तानी दिन सकेको अवस्थामा सस्तो ब्याजदर भएको बेला सहजीकरण हुने थियो कि ! निर्माण क्षेत्रलाई भुक्तानी दिँदा पूरा अर्थतन्त्र नै चलायमान बनाउन सहयोग हुन्छ । यसो गर्दा बैंकहरुलाई मात्रै होइन अर्थतन्त्र र सरकारी वित्तको लागि पनि राम्रो हुन्छ ।

पछिल्ला दुई आर्थिक वर्षभन्दा यस वर्षमा कर्जा विस्तारमा सुधार आएको हो कि जस्तो देखिन्छ । अहिले कुन क्षेत्रमा कस्ता परियोजनाका लागि माग आएको हो ?

पछिल्लो ६ महिनामा हामीले देखेको क्षेत्र भनेको ‘इम्पोर्ट फाइनान्सिङ’ हो । विशेषगरी प्रशोधन गर्ने कच्चा तेलको लागि कर्जाको माग बढेको छ । त्यो छोटो समयमा हुने कुरा हो । ३/४ महिनाका लागि बैंकसँग कर्जा लिने, कच्चा तेल आयात गर्ने र प्रशोधन गरी निर्यात गर्ने साइकल चलिरहेको छ । यसमा कर्जाको माग बढिरहेको छ ।

यसैगरी जलविद्युत् परियोजना बन्ने क्रममा छन् । हाइड्रोपावरको कर्जा तालिका हेर्ने हो भने सुरुवातमा सुस्त हुन्छ । सुरुवातको समयमा कम हुँदै जान्छ, निर्माणको समयमा बैंकको लगानी बढी हुन्छ । केही ठूला जलविद्युत परियोजना सम्पन्न हुने चरणमा छन् । त्यसमा पनि लगानी बढिरहेको छ ।

छड तथा डण्डी बनाउनका लागि आवश्यक कच्चा पदार्थ आयातका लागि पनि केही मात्रामा कर्जाको माग बढेको छ । प्रतिशतको हिसाबले सानो भए पनि केही वृद्धि यसमा पनि छ । अन्य क्षेत्रमा गत वर्षभन्दा लगानीको माग बढेको छैन ।

यो वर्ष एभरेष्ट बैंकमाथि एग्रेसिभ ग्रोथ गर्‍यो भन्ने आरोप लागेको छ । अन्य बैंकको ग्राहक खोसेर लाग्यो भन्ने आरोप लगाउँछन् । यो खालको प्रतिस्पर्धा बैंकहरूमा सुरु भएको हो ?

अरूले भनेजस्तो हामीले ग्राहक खोसाखोस गरेका छैनौं । अन्य बैंकहरूबाट ग्राहक हाम्रोमा आएका छन् । हाम्रो बैंकबाट पनि ग्राहक गएका छन् । यो स्वाभाविक हो । जता ब्याजदर कम हुन्छ ग्राहक त्यतै जान्छन् । एउटा बैंकबाट अर्को बैंकमा जाँदा ग्राहकले आफ्नो फाइदा हेर्छ । हाम्रोमा ब्याजदर कम हुँदा त्यस्तो ग्राहक आउनु भएको होला तर हामीले खोसाखोस गरेको पटक्कै छैनौं ।

यसरी अन्य बैंकको ग्राहक आउँदै गर्दा अन्य बैंकहरूले मूल्याङ्कन गरेर प्रवाह गरेको कर्जा र एभरेष्ट बैंकले गरेको मूल्याङ्कन फरक हुँदा हिजोको दिनमा अन्य बैंकहरूले झेलेका समस्या एभरेष्ट बैंकका लागि पनि चुनौती होला नि !

हामीले आँखा नै चिम्लेर लगानी गर्ने कुरा होइन । स्वाप भनेको ठूलाठूला कर्पोरेट लोनमा नै बढी हुन्छन् । सानातिना त बैंकहरूलाई पनि थाहा नहोलान् ।

ग्राहकले अहिले विगतमा जस्तो २/३ वटा ब्यालेन्स सिट बनाउँदैनन् । अहिले सबै पर्फमेन्स एकदमै पारदर्शी छन् । त्यसको आधारमा बैंकले लगानी गर्ने हो । आफ्नो स्ट्यान्डर्ड भित्र लगानी गरेको छ भने बैंकले प्रवाह गर्ने कर्जामा समस्या आउँछ जस्तो मलाई लाग्दैन ।

ब्यालेन्स सीटको डबल स्ट्यान्डर्ड छैन भन्नुभयो । तर, पछिल्लो समय एउटा कम्पनी खडा गर्ने त्यही कम्पनीको गलत सेल्स अथवा गलत विवरण देखाउने भूमिका चल्छ भन्छन् । यस्तो अवस्था कतिको झेल्नुभएको छ ?

हामीले अहिलेसम्म यस्तो अनुभव गर्न पाएका छैनौं । कहीँ कतै भएको हुनसक्छ । तर, जहाँसम्म मलाई लाग्छ यसरी विवरणको गलत दुरुपयोग भएको छैन । मैले सुनेको पनि छैन ।

सरकारले नयाँ बजेट बनाउने काम गरिरहेको छ । त्यसगलत्तै मौद्रिक नीति पनि आउँछ । अहिले यो समग्र मागलाई बढाउनका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?

बजेट अनुसार पुँजीगत खर्च गर्ने प्रकृतिमा सुधार आयो भने धेरै हदसम्म अहिलेको अवस्थामा सुधार आउँछ ।

बैंकिङ क्षेत्र रिकभरी फेजमा गएको जस्तो तथ्यांकले देखाउँदै गर्दा समग्र बैंकिङ क्षेत्र र एभरेष्ट बैंकको आर्थिक वर्षको चौथौ त्रैमासको वित्तीय विवरण कस्तो अपेक्षा गर्न सकिन्छ ?

एभरेष्ट बैंकको मात्रै कुरा गर्दा हामीले रिकभरीको प्रक्रियामा नै छौं । कर्जाको वर्गीकरण गरिसकेको अवस्थामा खराब कर्जालाई पनि सुधार गर्ने प्रयास गरिरहेका छौं । समग्रमा एभरेष्टको ब्यालेन्स सिट राम्रै आउँछ भन्ने अपेक्षा गरेका छौं ।

बैंकिङ क्षेत्रलाई हेर्दा बैंकहरूले गर्नुपर्ने कर्जाको वर्गीकरण गरिसकेको अवस्था देखिन्छ । केही मात्रामा पनि कर्जा असुलीमा सुधार हुने हो भने राम्रो रिजल्ट निकाल्न सक्ने अवस्था छ ।

सरकारले निर्माण क्षेत्रमा मात्रै सहजीकरण गरिदिने हो भने पनि बैंकहरुको ब्यालेन्स सिटमा धेरै सुधार आउँछ । त्यसबाहेक चौथो त्रैमासमा सामान्यतया बजेट खर्च बढी हुने भएकोले पैसा बजारमा आउँछ । त्यसले गर्दा केही सुधार बैंकहरूको रिर्पोटमा पक्कै पनि ल्याउँछ ।

बैंकहरूको ऋण तिर्नु पर्दैन भन्ने जस्ता अभियान चल्दै गर्दा रिकभरीमा कस्तो प्रभाव पर्ने रहेछ ?

यस्ता अभियानको प्रभाव हुने रहेछ । हामीले पनि महसुस गर्‍यौं । केही क्षेत्रमा यस्तो समस्या नहोला तर केही क्षेत्रमा समस्या देखिन्छन् । हामीले यस्ता अभियानहरूको प्रतिवाद गर्ने भन्दा पनि आफ्नो प्रक्रिया अनुसार गइरहेका छौं । नेपाल बैंकर्स संघले विज्ञप्ती जारी गर्‍यो । बैंकले पनि ठूलो रूपमा सङ्गठित भएर प्रतिवाद गर्ने गरेका छैनौं ।

केही मात्रामा सहुलियत दिने समयमा सबै बैंकहरूले गरी नै रहेका छन् । अहिले यस्तो किसिमको गतिविधि हुँदा बैंक झन् सतर्क भएका छन् । अहिले हामी संयमित भएर लागिरहेका छौं । रिकभरीमा जाँदा, रिकभरीमा जाने कर्मचारीहरूलाई के बोल्ने, कसरी बोल्ने, के नबोल्ने, कसरी प्रस्तुत हुने र कसरी प्रस्तुति दिने भन्ने कुरा बैंकले सिकाएको हुन्छ । त्यसैले गर्दा अहिलेसम्म त्यस्तो ठूलो घटना भएको सुनिएको छैन । केही स-साना गतिविधि भएका छन् नभएका होइनन् ।

यस्तो गतिविधि गर्ने धेरै दिन टिक्छन् जस्तो लाग्दैन । बैंकबाट पैसा लिएपछि त्यो फिर्ता गर्नैपर्छ । त्यो जनताको पैसा हो । समय लाग्ला कर्जा लिनेले त्यो बुझ्छन् र बैंकलाई सहयोग गर्छन् ।

यस्ता अभियानले रिकभरीमा धितो लिलामी अथवा गैर बैंकिङ सम्पत्ति विक्री गर्नका लागि चुनौती सामना गर्नुपरेको छ ?

हाल स्थानीय तहहरूबाट सहयोग भएको छैन । जग्गा लिलामीमा आउने कुरा त्यो भइरहन्छ । एउटा प्रक्रिया हो । बैंकमा कर्जा डिफल्ट भएपछि बैंकले कर्जा असुल गर्छ नै । गैर बैंकिङ सम्पत्ति सकार्ने प्रक्रियामा स्थानीय तहबाट सिफारिसले गर्दा असहज भएको छ । उहाँहरूमा पनि केही जोखिम हुनसक्छ । त्यसैले स्थानीय तहबाट हुनुपर्ने सिफारिसमा असहयोग भइरहेको पाइन्छ ।

जुन काम सहजै हुन्थ्यो । अहिले समस्या देखिएको छ । तर, त्यसो भयो भनेर ठप्पै रोकिएको पनि होइन । सबै क्षेत्रमा पनि होइन । केही केही स्थानीय तहहरूमा भइरहेको छ । त्यसलाई ठूलो समस्याको रूपमा देखेको छैन ।

क्यामेरा/भिडियो सम्पादनः प्रभात खनाल

Skip This