
एजेन्सी । सोमवारको रात भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलेको आईपीएल (इण्डियन प्रिमियर लिग) को रोमाञ्चक खेलमा १४ वर्षीय वैभव सूर्यवंशीले अद्भुत प्रदर्शन गर्दै नयाँ इतिहास रचेका छन् । गुजरात टाइटन्सले प्रस्तुत गरेको २१० रनको विशाल लक्ष्यलाई राजस्थान रोयल्सले मात्र १५.५ ओभरमै पूरा गर्दै जित हासिल गर्यो । यस विजयी यात्रामा वैभवको विस्फोटक १०१ रनको पारी निर्णायक रह्यो ।
खेलको प्रारम्भमा गुजरातले निर्धारित २० ओभरमा २०९ रन बनायो । यो स्कोर पछ्याउने क्रममा राजस्थानको सुरुआत साधारण देखिएको थियो । तर जब वैभव सूर्यवंशी क्रिजमा आए, खेलको गति नै बदलियो। जम्मा दुई खेलको अनुभव बोकेका वैभवले पहिलो ओभरमै मोहम्मद सिराजको पहिलो बलमा स्ट्रेट ड्राइभबाट छक्का हानेर संकेत दिएका थिए कि उनी आज केही विशेष गर्न आएका छन्।
वैभवले चौथो ओभरमा अनुभवी बलर ईशान्त शर्माको ओभरमा २८ रन बटुले । यस ओभरमा उनले तीन छक्का र दुई चौका हानेका थिए। यो ईशान्तको आईपीएल करियरकै सबैभन्दा महँगो ओभर बन्यो। पाँचौं ओभरमा वैभवले मात्र १७ बलमा आफ्नो अर्धशतक पुरा गर्दै आईपीएलको यो सिजनको सबैभन्दा छिटो फिफ्टी बनाएका थिए।
त्यसपछि १०औं ओभरमा अफगान बलर करीम जन्नतको ओभरमा उनले लगातार ६ बलमा चौका वा छक्का हान्दै ३० रन बटुले । आईपीएलको कुनै बलरको डेब्यू ओभरमा यति धेरै रन पहिलो पटक देखिएको हो । त्यसपछि उनले ३८ बलमा ११ छक्का र ७ चौकासहित १०१ रन पूरा गरे। यो आईपीएल इतिहासको दोस्रो छिटो शतक हो । पहिलो स्थानमा क्रिस गेल छन्, जसले ३० बलमा शतक बनाएका थिए ।
वैभवको पारी त्यतिमै रोकिने भएन । उनले कुल १०१ रन बनाएर प्रसिद्ध कृष्णाको बलमा बोल्ड भए । तर त्यतिबेलासम्म राजस्थानको जित लगभग सुनिश्चित भइसकेको थियो । अन्ततः राजस्थानले १५.५ ओभरमै लक्ष्य पूरा गर्दै २०० भन्दा बढी रन चेज गर्ने नयाँ टी २० कीर्तिमान कायम गर्यो।
खेलपछि वैभव सूर्यवंशी ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले भने, ‘आईपीएलमा शतक बनाउनु सपना पुरा हुनुजस्तै हो। म महिनौं देखिको तयारी गर्दै थिएँ, त्यसको फल आज देखियो।’

पूर्व क्रिकेटर सचिन तेन्दुलकर, युवराज सिंह, युसुफ पठान, आकाश चोपडा लगायत धेरैले वैभवको तारिफ गरेका छन् । युसुफ पठानले त सामाजिक सञ्जालमार्फत वैभवलाई बधाई दिँदै लेखे, ‘मैले बनाएको भारतीय खेलाडीको सबैभन्दा छिटो आईपीएल शतकको रेकर्ड भंग गर्नु गर्वको कुरा हो । त्यो पनि राजस्थान रोयल्सकै लागि खेल्दै।’
यसैगरी कोच राहुल द्रविड समेत वैभवको शतकपछि सम्मानमा उभिएर ताली बजाएका थिए । खुट्टाको चोटका कारण व्हीलचेयरमा रहेका द्रविडको यो प्रतिक्रिया सबैका लागि भावुक बन्यो।
१४ वर्ष ३२ दिनको उमेरमा शतक बनाउने वैभव टी२० इतिहासमै सबैभन्दा कम उमेरका शतकवीर बनेका छन् । साथै, उनको १०१ रनमध्ये ९४ रन चौका र छक्काबाट आएको थियो जुन टी२० क्रिकेटमा शतक बनाउँदा उच्चतम प्रतिशत हो।
वैभव सूर्यवंशीको यो अविश्वसनीय प्रदर्शनले न केवल राजस्थानलाई जित दिलायो आईपीएल इतिहासमा एक नयाँ नायकको उदय भएको सन्देश पनि दियो । अहिले सारा क्रिकेट संसार यो नाबालक खेलाडीको साहस, आत्मविश्वास र प्रतिभाको प्रशंसा गरिरहेको छ।
को हुन् वैभव ?
वैभव सूर्यवंशीको जन्म २७ मार्च २०११ मा भारतको बिहार राज्यको समस्तीपुर जिल्लाको ताजपुर गाउँमा भएको थियो । उनका पिता संजीव सूर्यवंशी किसान हुन् जसले छोराको क्रिकेट सपना पुरा गर्न आफ्नै जमिन बेचेर आर्थिक सहयोग गरेका थिए । वैभवले चार वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेका थिए र नौ वर्षको उमेरमा समस्तीपुरको एक क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन थाले ।
वैभवले १२ वर्षको उमेरमा बिहारको तर्फबाट रणजी ट्रफीमा डेब्यु गरेका थिए जसमा उनी भारतको प्रथम श्रेणी क्रिकेटमा खेल्ने दोस्रो कान्छा खेलाडी बने । त्यसपछि उनले भारतको अन्डर-१९ टोलीमा समावेश भई अस्ट्रेलियाविरुद्धको युथ टेस्टमा ५८ बलमा शतक बनाएका थिए जुन अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो छिटो शतक हो । १३ वर्षको उमेरमा वैभवलाई राजस्थान रोयल्सले १.१ करोड भारतीय रुपैयाँ (१ करोड ७६ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो । जसले उनलाई आईपीएल इतिहासको सबैभन्दा कान्छो खेलाडी बनायो । उनको आधार मूल्य ३० लाख भारु थियो, तर दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीचको प्रतिस्पर्धात्मक बोलकबोलपछि अन्ततः राजस्थानले उनलाई १.१० करोड भारुमा अनुबन्ध गर्न सफल भएको थियो । उनको कूल सम्पत्ति हाल करिब २.५ करोड भारु रहेको अनुमान गरिएको छ ।
१९ अप्रिल २०२५ मा उनले लखनऊ सुपर जायन्ट्सविरुद्ध डेब्यु गर्दै पहिलो बलमै छक्का हानेर सबैको ध्यान खिचे ।
२८ अप्रिल २०२५ मा गुजरात टाइटन्सविरुद्ध वैभवले ३८ बलमा १०१ रन बनाए जसमा ११ छक्का र ७ चौका समावेश थिए । यो शतक आईपीएल इतिहासको दोस्रो छिटो शतक हो र भारतीय खेलाडीहरूमा सबैभन्दा छिटो । उनको यो प्रदर्शनले राजस्थानलाई १५.५ ओभरमै २१० रनको लक्ष्य पूरा गर्न मद्दत गर्यो ।
वैभवले बनाएका रेकर्डहरू
युसुफ पठानको सबैभन्दा छिटो भारतीय शतकको रेकर्ड तोडे
आईपीएलको दोस्रो सबैभन्दा छिटो शतक (सबैभन्दा छिटो: क्रिस गेल, ३० बल)
१४ वर्ष ३२ दिनमा टी२० मा शतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी
वैभवका १०१ रनमध्ये ९४ रन चौका/छक्का (९३.०६%)
करीम जन्नतको डेब्यु ओभरमा ३० रन – आईपीएल डेब्यु ओभरमा सबैभन्दा धेरै रन
१५.५ ओभरमै २१० रन चेज – २००+ स्कोर चेज गर्न लिएको सबैभन्दा कम ओभर

- शीर्षक सच्याइएको- सम्पादक








प्रतिक्रिया