
एजेन्सी । शनिबारबाट इन्डियन क्रिकेट लिग (आईपीएल) सुरु भएको छ । विश्व क्रिकेटमै धेरै हेरिने मध्येको लिग आईपीएल खेलप्रेमी युवाहरुका लागि विशेष बन्ने गरेको छ । भारतमा मात्रै नभएर विश्वभरका क्रिकेटप्रेमीहरुले आईपीएललाई विशेष चासो लिने गरेका छन् ।
शनिवारको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले विजयी सुररुआत गरेको छ । १८ औँ संस्करणको उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) लाई सात विकेटले हराउँदै बेङ्गलुरुले विजयी सुरुआत गरेको हो ।
प्रारम्भिक दिनहरुमा मनोरन्जनका लागि दर्शकलाई आकर्षित गरेको इन्डियन प्रिमियर लिग आईपीएल अब मनोरन्जन मात्रै रहेन । भारत सहित विश्वका करोडौं क्रिकेट प्रेमीहरुमाझ यसले क्रिकेट हेर्ने परम्परागत तरिकामै आमूल परिवर्तन ल्याएको छ ।
यससँगै खेलाडीहरुलाई पूर्ण रुपमा व्यावसायीक बनाएको थियो । र आईपीएलले विश्वभर नै खेल अर्थतन्त्रको नयाँ बेन्चमार्क स्थापित गरेको छ ।
आईपीएलले भारतको जीडीपीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्याइरहेको छ । यसले रोजगारी, व्यवसाय, पर्यटन, विज्ञापन, मिडिया, स्टार्टअप, खेलकुद उद्योग जस्ता विभिन्न क्षेत्रहरूलाई बढावा दिएको छ । आईपीएल केवल एउटा क्रिकेट लिग मात्र नभएर भारतको अर्थतन्त्रलाई बलियो बनाउने एउटा महत्वपूर्ण माध्यम पनि बनेको छ ।
भारतीय खेल उद्योगमा आईपीएल
यसबीचमा भारतको खेल उद्योगमा पनि उल्लेखनीय रुपान्तरण भएको छ । आईपीएल लगायत नियमित रुपमा हुने विभिन्न लिगले देशको खेल अर्थतन्त्रलाई नै चलायमान बनाइदिएका छन् ।
निजी लगानी, स्पोन्सरसिप तथा मिडियाको व्यापक प्रचार परसारसँगै विशेषगरी भारतीय क्रिकेट र अन्य खेललाई लोकप्रियता तथा व्यवसायिक सफलताको नयाँ उचाइमा पुर्याएको छ । खेलाडीहरुले आफूलाई व्यस्त राख्ने मौका मात्र पाएनन् उनीहरुले खेल क्षेत्रमा नयाँ अवसर पाउँदा विश्व रंगशालामा उनीहरुले आफ्नो प्रभाव छाडिरहेका छन् । आईपीएलका कारण स्पोर्ट्स एनालिसिस, डिजिटल कन्टेन्ट, युट्युब तथा सोसल मिडियामा आईपीएल सम्बन्धी कार्यक्रमहरूको वृद्धि भएको छ । आईपीएल धेरै ब्रान्डहरूका लागि ठूलो मार्केटिङ अवसर हुने गरेको छ । नयाँ तथा स्थापित कम्पनीहरूले आईपीएललाई आफ्नो उत्पादन प्रमोशनका लागि प्रयोग गर्छन् ।

भारतमा क्रिकेट बजारीकरणमा योगदान
खेलको रुपमा मात्रै रहेको क्रिकेट भारतमा पछिल्लो समय आफ्नो पारम्परिक स्थितिबाट माथि उठेर एक आकर्षक बजार बनिसकेको छ । र क्रिकेटको व्यावसायिकरणका लागि आईपीएललाई नै जिम्मेवार ठानिन्छ । जसले देशभर क्रिकेट खेल्ने र अवलोकन गर्ने तरिकामै रुपान्तरण ल्याइदिएको थियो । हाल दसौं करोड युवाहरुले आईपीएल नियालेका हुन्छन् ।
आईपीएलले भारतीय क्रिकेटलाई विश्वकै ठूलो व्यावसायिक खेल उद्योगमध्ये एक बनाएको छ । युवा खेलाडीहरूले आईपीएलबाट ठूलो आम्दानी गर्न पाउने भएकाले खेल क्षेत्रमा नयाँ पुस्ता आकर्षित भएको छ ।
२०२२ मा आईपीएलको ब्रान्ड भ्यालु ९० हजार करोड भारतीय रुपैयाँ अर्थात् ११ बिलियन अमेरिकी डलर थियो । बीसीसीआईका अनुसार २०१५ मा भारतको जीडीपीमा १,१५० करोड भारतीय रुपैयाँ अर्थात् १४० मिलियन अमेरिकी डलर ओगटेको थियो ।
यससँगै २००८ देखि सुरु भएको आईपीएलले भारतमा पछिल्लो समय व्यापक रुपमा रोजगारी सिर्जना गर्नुका साथै पर्यटकहरु भित्र्याउने गरेको छ । जसले गर्दा प्रत्यक्ष रुपमा देशको अर्थतन्त्रमा लाभ हुने गरेको छ ।
भारत सरकारले आईपीएलसँग सम्बन्धित गतिविधिहरूबाट प्रत्यक्ष रूपमा कर संकलन गर्छ । टिकट बिक्री, विज्ञापन, प्रायोजन र खेलाडीहरूका आम्दानीबाट ठूलो मात्रामा कर संकलन हुन्छ । आईपीएलले विभिन्न क्षेत्रका हजारौं व्यक्तिलाई रोजगारी प्रदान गर्छ। होटल, ट्राभल, सुरक्षाकर्मी, खेल विश्लेषक, प्रसारण, विज्ञापन एजेन्सी, इभेन्ट व्यवस्थापनजस्ता क्षेत्रमा ठूलो रोजगारी सिर्जना भएको छ ।
यस्तै पछिल्लो समय थुप्रै व्यवसायीहरुले खेल उद्योगमा लगानीका लागि इच्छा देखाउने गरेका छन् । २००८ मा सोनी इन्टरटेनमेन्ट टेलिभिजनले १० वर्षका लागि ८२०० करोडमा आईपीएल प्रशारण अधिकार किनेको थियो ।

आईपीएलको ब्राण्ड भ्याल्यू कति ?
सन् २०२४ मा आईपीएलको ब्राण्ड भ्यालु २८ प्रतिशतले बढेर १०.७ अर्ब (१४ खर्ब २३ अर्ब) डलर पुगेको छ । यस्तो भ्याल्यू सन् २०२२ मा ८.४ अर्ब डलर थियो ।
ब्राण्ड फाइनान्सले जारी गरेको एक रिपोर्ट अनुसार आईपीएलको ब्राण्ड भ्यालू बढेको हो । यस वृद्धिका साथ लीगले डेकाकार्नको दर्जा पएको छ ।
डेकाकार्न यस्ती निजी कम्पनीलाई भनिन्छ जसको मूल्यांकन १० अर्ब डलर या त्यसभन्दा धेरै हुन्छ । सन् २०२२ मा आईपीएलको ब्राण्ड भ्याल्यू ८.४ अर्ब डलर थियो । सन् २००८ मा लीगको सुरुवातमा यसको ब्राण्ड भ्याल्यू २ अर्ब डलर थियो जसमा अहिलेसम्म ४३३ प्रतिशतको बढोत्तरी भएको छ ।
आईपीएलको ब्राण्ड भ्यालु नेपालको चालु आर्थिक वर्षको संशोधित बजेट अनुमान हाराहारी रहेको छ । नेपालको संशोधित बजेट अनुमान १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
यसवर्षको आईपीएल सुरु भइसक्दा यसको ब्राण्ड भ्यालू अझै बढ्ने बताइएको छ ।

सबैभन्दा महँगो क्लब कुन?
आईपीएलको सबै फ्रेन्चाइजीमा मुम्बई इन्डियन्स क्लब सबैभन्दा मूल्यवान हो । कम्पनीको मूल्यांकन ८.७ करोड डलर छ र टीम सन् २०२० बाट शीर्ष स्थानमा रहेको छ।
मुम्बई इन्डियन्सपछि चेन्नई सुपर किंगस दोस्रो स्थानमा छ जसको मूल्यांकन ८.०६ करोड डलर रहेको छ । तेस्रो स्थानमा कोलकता नाइट राइडर्स रहेको छ जसको मूल्यांकन ७.८६ करोड डलर रहेको छ । त्यसपछि रोयल च्यालेन्जर्स बेंगलुरु रहेको छ जसको मूल्यांकन ६.९८ करोड डलर रहेको छ ।
सन् २०२३ को सिजनमा आईपीएल टेलिभिजनमा प्रभावशाली ५०५ मिलियन दर्शक र डिजिटल प्लेफर्ममा अतिरिक्त ४५० मिलियन दर्शकमा पहुँच पुगेको थियो ।
गत सिजनको आईपीएलको पहिलो १० खेलले टीभीमा लाइभ टेलिकास्टको पछिल्लो सिजनको रेकर्ड तोडिएको छ ।
आईपीएलका पहिला १० खेलमा ३५ करोड दर्शकले टीभीमा खेलको प्रत्यक्ष प्रसारण हेरेको र यो गत सिजनको भन्दा २० प्रतिशत धेरै भएको बताइएको छ ।

खेलाडीमा करोडौंको खर्च
आईपीएलमा क्लबहरुले खेलाडीका लागि करोडौं रुपैयाँ खर्च गर्ने गरेका छन् ।
शनिबारबाट सुरु आईपीएलका सबैभन्दा महँगा खेलाडी ऋषभ पन्त हुन् । उनी आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडीसमेत बनेका छन् । लखनऊ सुपर जायन्ट्सले उनलाई २७ करोड भारु खर्चेर आफ्नो टोलीमा समावेश गरेको हो । यसअघि कोलकाता नाइट राइडर्सले अस्ट्रेलियन मिचेल स्टार्कलाई २४.७५ करोडमा लिएको थिए । कार दुर्घटनापछि चमत्कारी पुनरागमन गरेका पन्तले २०२४ मा दिल्ली क्यापिटल्सको कप्तानी गरे पनि यसपटक लखनऊले उनलाई आकर्षक प्रस्तावले जित्यो ।
श्रेयस अयर (पंजाब किंग्स): २६.७५ करोड (भारु)
गत वर्ष कोलकातालाई च्याम्पियन बनाउने कप्तान श्रेयसलाई पंजाब किंग्समा अनुवन्धन भए । उनी दोस्रो सर्वाधिक महँगा खेलाडी बने।
वेंकटेश अयर (कोलकाता नाइट राइडर्स): २३.७५ करोड
कोलकाताले आफ्नै पूर्व खेलाडी वेंकटेशलाई रोयल च्यालेन्जर्स बेंगलुरूसँग प्रतिस्पर्धा गरेर यो रकममा खरिद गर्यो । गत सिजनमा उनले ३७० रन र ३ विकेट लिएका थिए।
युजवेन्द्र चहल र अश्रदीप सिंह (पंजाब किंग्स): १८ करोड
पंजाबले टोली मजबूत पार्न अनुभवी लेगस्पिनर चहल र ऑलराउन्डर अश्रदीपलाई समान रकममा खरिद गर्यो। अश्रदीपले भारतका लागि टी-२० मा ९५ विकेट लिइसकेका छन्।
जोस बटलर (गुजरात टाइटन्स): १५.७५ करोड
इंग्ल्यान्डका विस्फोटक विकेटकिपर ब्याट्सम्यान बटलर यसपटक महँगा विदेशी खेलाडी बने। उनले आईपिएलमा मुम्बई इन्डियन्सका लागि पनि खेलेका छन् । यीसँगै अन्य खेलाडी ल्याउन पनि क्लबहरुले ठूलो धनराशि खर्च गरेका छन् ।
सन् २०२५ को आईपीएल लिलामीमा कुल ६ जना प्रमुख खेलाडीहरूमा क्लबहरूले जम्मा १२९.२५ करोड भारतीय रुपैयाँ खर्च गरेका छन् ।
ऋषभ पन्त, श्रेयस अयर, वेंकटेश अयर, युजवेन्द्र चहल,अश्रदीप सिंह, जोस बटलरलाई मात्र क्लबहरुले यति रकम खर्च गरेका छन् ।
प्रत्येक आईपीएल टोलीले २०२५ को सिजनको अनुमानित स्यालरीका आधारमा ८० करोड भारु भन्दा बढी खर्च गर्न पाउँदैन । प्रत्येक टोलीले २५ वटा खेलाडी (भारतीय र अन्तर्राष्ट्रिय) छनोट गरेका छन् । धेरैजसो खेलाडीहरू २ करोड भन्दा कम मूल्यमा अनुबन्धित हुन्छन् ।

आईपीएलको एक खेलको कमाइ कति ?
एक खेलबाट हुने कमाइको पक्षबाट हेर्दा आईपीएल विश्वभरकै सबैभन्दा धेरै कमाइ गर्ने अमेरिकी लिग एनएफएलभन्दा एक स्थानले मात्रै पछि रहेको छ । एक खेलमा प्राप्त हुने दर्शक, विज्ञापनदाता, अनुमति खरिद र टिकटको बिक्रीजस्ता आम्दानीका स्रोतबाट हेर्दा आईपीएलमा १३० करोड भारतीय रुपैयाँ आम्दानी हुन्छ । गत सिजनको आईपीएलमा ७४ खेल भए । जसअनुसार बीसीसीआईले आईपीएलबाट करिब ९ हजार ६ सय करोड (करिब १ खर्ब ५३ अर्ब नेपाली रुपैयाँ) भारतीय रुपैयाँ कमाइ गरेको छ ।
कसरी गर्छ बीसीसीआईले कमाइ ?
सन् २००७ बाट सुरु भएको आईपीएल अहिले भारतको एउटा खेलको उत्सव मात्रै नभएर व्यापारिक तवरले पनि ठूलो घटनामध्येमा पर्छ । यसको सञ्चालनको पूर्ण जिम्मा बीसीसीआईसँग रहेको छ ।
आईपीएलबाट बीसीसीआईले गर्ने कमाइ मुख्यतः तीन भागमा हुने गरेको छ ।
पहिलो भाग हो सेन्ट्रल पुल । सेन्ट्रल पुलमा तीन स्रोतहरुबाट कमाइ हुन्छ । यसरी भएको कमाइको विभाजन पनि तीन भागमा हुन्छ ।
मिडिया तथा प्रसारणको अनुमति, विज्ञापन र टाइटल स्पोन्सरसिपबाट यो भागमा आम्दानी हुने गर्छ । र यसरी भएको आम्दानी बीसीसीआई, फ्रेन्चाइजी र पुरस्कार राशीमा खर्च हुने गर्छ ।
आईपीएलको कमाइको दोस्रो भाग भनेको फ्रेन्चाइजी हो । यसमा पनि तीन क्षेत्रबाट कमाइ हुन्छ । टिकटकको बिक्री, स्पोन्सरसिप र मचेन्डाइजको बिक्रीबाट हुने आम्दानी यो भागमा पर्छ । यसरी हुने आम्दानीको ८० प्रतिशत हिस्सा फ्रेन्चाइजीका लागि जान्छ भने बाँकी रकम बीसीसीआईलाई प्राप्त हुन्छ ।
आईपीएलको आम्दानीको तेस्रो भाग हो फ्रेन्चाइजीका लागि तिरिने शुल्क । आईपीएलमा खेल्न आउने हरेक टिम ‘ओनर अक्सन’बाट तय हुन्छ । सबैभन्दा धेरै रकमको बोली लगाउने टिमलाई नै फ्रेन्चाइजी वितरण गरिन्छ । यो भागबाट हुने कमाइको पुरा रकम बीसीसीआईलाई नै प्राप्त हुन्छ ।
आईपीएलमा सबैभन्दा धेरै रकम मिडिया अनुमतिको बिक्री तथा प्रसारण अनुमतिबाट हुने गर्छ । आईपीएलका खेलहरुको प्रत्यक्ष प्रसारण गर्ने अनुमतिदेखि हाइलाइट्सजस्ता कुराहरु पनि तीनै कम्पनीले देखाउन पाउँछन्, जोसँग बीसीसीआईले सम्झौता गरेको हुन्छ । लिलामी प्रक्रियाबाट गरिने प्रसारण अनुमतिको बिक्रीका लागि विभिन्न कम्पनी तथा व्यापारिक घरानाहरुले करोडौं रुपैयाँ लगानी गर्छन् ।
२००८ मा आईपीएलको पहिलो सिजनको खेल प्रसारणका लागि सोनी इन्टरटेनमेन्टसँग सम्झौता भएको थियो । सोनीले १० वर्षका लागि प्रसारण अनुमति किनेको थियो । त्यो बेला ८ हजार २ सय करोड भारतीय रुपैयाँमा यो अनुमति बिक्री भएको थियो।
२०१८ देखि २०२२ सम्म स्टार स्पोटर्सले यो अनुमति पायो । यसका लागि स्टार स्पोटर्सले १६ हजार ३४७ करोडमा प्रसारण अनुमति किनेको थियो ।
२०२३ देखि २०२७ सम्मका लागि भने स्टार स्पोटर्स र जियो सिनेमाले संयुक्त रुपमा प्रसारण अनुमति पाएको छ । यसका लागि बीसीसीआईलाई यी कम्पनीहरुले ४८ हजार ३९० करोड भारतीय रुपैयाँ तिरेका थिए ।
बीसीसीआईले सन् २०२३ मा आईपीएलबाट ६.२ अर्ब डलर कमाएको थियो । आम्दानी धेरै हुने भए पनि आईपीएलले खेलाडीमाथि गर्ने खर्च भने निकै कम भएको भन्दै आलोचना हुने गरेको छ ।
प्रतिक्रिया