यी हुन् बैंकमा राष्ट्र बैंकले देखेका समस्याहरू: संगठित गतिविधिको शिकारदेखि बढ्दो निष्क्रिय कर्जासम्म

343
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको बैंकिङ क्षेत्रमा मुख्य ६ वटा समस्या औंल्याएको छ । केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले २०८०/८१ को बैंक सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै बैंकिङ क्षेत्रको ६ वटा समस्याहरु औंल्याएको हो ।

केन्द्रीय बैंकले बैंकिङ क्षेत्रको बढ्दो निष्क्रिय कर्जा र गैर–बैंकिङ सम्पत्तिलाई मुख्य समस्याको रुपमा औंल्याएको छ ।

कुल मागमा आएको संकुचनसँगै आर्थिक गतिविधिमा देखिएको सुस्तता, निर्माण क्षेत्रको देखिएको संकुचन, आवश्यकता भन्दा बढी प्रवाह भएको कर्जा र कर्जालाई स्विकृत भएको प्रयोजनभन्दा अन्यत्र प्रयोग गर्ने प्रवृत्ति जस्ता कारणले निष्क्रिय कर्जा र गैर बैंकिङ सम्पत्तीमा वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । रियल स्टेटको कारोबारमा आएको कमीले बैंकहरुको गैर बैंकिङ सम्पत्ति बढ्दै गएको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।

बैंकहरुमा बढ्दो निष्क्रिय कर्जाको प्रवृत्तिले पुँजी पर्याप्तता अनुपातमा थप दबाब सिर्जना गरिरहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ । वाणिज्य बैंकहरूले पुँजी पर्याप्तता अनुपातमा गत आर्थिक वर्षसम्म कुनै समस्या नरहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ । आव २०८०/८१ मा औसत पुँजी पर्याप्तता अनुपात १२.८४ प्रतिशत र प्राथमिक पुँजी पर्याप्तता अनुपात १०.१० प्रतिशत थियो । जसले बैंकहरूले ‘फाइनान्सियल सक’ को सामना गर्नसक्ने अवस्था भएपनि निष्क्रिय कर्जामा भएको वृद्धिसँगै निरन्तर घटेको पुँजीकोष बैंकिङ क्षेत्रको लागि समस्याको रुपमा देखिएको केन्द्रीय बैंकले औंल्याएको छ ।

‘सम्पत्तिको गुणस्तरमा लगातार गिरावट आयो भने केही बैंकहरूको स्थायित्व खतरामा पर्न सक्ने सम्भावना रहन्छ,’ राष्ट्र बैंकको वार्षिक बैंक सुपरिवेक्षण प्रतिवेदनमा भनिएको छ, ‘त्यसैले वित्तीय स्थायित्वको लागि अझ कडा जोखिम व्यवस्थापन उपायहरू र पुँजीको आधार बलियो बनाउनुपर्ने देखिन्छ ।’

बैंक सुपरिवेक्षण विभागले बैंकहरुको पुँजीकोषको अवस्थालाई उच्च निगरानी गरिरहेको बताएको छ । निष्क्रिय कर्जा बढ्दै गएमा पर्न सक्ने असरको मूल्यांकन गर्दै बैंकहरूलाई पर्याप्त पुँजी व्यवस्थापनको लागि आवश्यक कदमहरू चालिरहेको प्रतिवेदनमा उल्लेख छ ।

सुस्त कर्जा विस्तार र अधीक तरलता

पछिल्लो ३ आर्थिक वर्षयता बैंकिङ प्रणालीबाट हुने कर्जा प्रवाह सुस्त छ भने २ वर्षदेखि बैंकिङ क्षेत्र अधिक तरलताको मारमा छन् । अपेक्षाभन्दा कमजोर कर्जा वृद्धि र अधिक तरलता पनि बैंकिङ क्षेत्रको वर्तमान समस्याको रुपमा केन्द्रीय बैंकले औंल्याएको हो ।

‘पछिल्ला केही वर्षमा वित्तीय क्षेत्रको कर्जा वृद्धि निराशाजनक देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा कर्जा वृद्धि दर ६ प्रतिशत रह्यो, जुन अघिल्ला दशकको वार्षिक औसत १८ प्रतिशतको तुलनामा धेरै कम हो,’ राष्ट्र बैंककको बैंक सुपरिवेक्षण प्रतिवेदनमा भनिएको छ, ‘ऋणको मागमा कमीकै कारणले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था देखिएको छ ।’

विगतमा अधिक तरलता सुरु भएसँगै बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएर एकबैंकले अर्को बैंकको ग्राहक तान्न आधार दर र त्यसभन्दा पनि कम ब्याजदरमा कर्जा दिने प्रतिस्पर्धा चल्दै आएको थियो । यसपटक पनि गत आर्थिक वर्षसम्म खासै नदेखिएको त्यस्तो प्रतिस्पर्धा चालु आर्थिक वर्षमा भने तिव्र रुपमा बढेर गरेको छ ।

गलत सूचना प्रवाह र बैंकिङ क्षेत्रमाथि बढ्दो आक्रमण

पछिल्लो समय बैंकिङ क्षेत्र विभिन्न संगठित गतिविधिहरूको शिकार भइरहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ । गलत सूचना फैलाउने, जनतालाई भ्रमित पार्ने जस्ता गतिविधि बैंकिङ क्षेत्रको समस्याको रुपमा रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ । बैंकहरुमा सर्वसाधारणले विश्वस गरेर ठूलो निक्षेपको ट्रस्टीको रुपमा काम गरेको अवस्थामा गलत प्रचार र अफवाह बैंकिङ क्षेत्रको समस्याको रुपमा देखिँदै गएको छ । यसले बैंकहरुको कर्जा असुलीमा समेत समस्या पारेको केन्द्रीय बैंकले आफ्‌नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाविरुद्ध अभियान चलाउने, कर्मचारीहरूलाई धम्की दिने वा आक्रमण गर्ने, ‘कर्जा नतिर्नु’ भन्ने जस्ता गतिविधिहरू भइरहेका छ,’ प्रतिवेदनमा भनिएको छ । ‘यसले बैंकहरूको सहज सञ्चालन, कर्जा भुक्तानी र असुली प्रक्रियामा बाधा पुर्‍याइरहेको छ ।’

यस्ता गतिविधिले बैंकिङ प्रणालीप्रतिको विश्वास र भरोसा कायम राख्नु अहिलेको महत्वपूर्ण मुद्दा बनेको प्रतिवेदनमा उल्लेख छ ।

बैंकिङ क्षेत्रमाथि सुनियोजिक आक्रमाण् मात्रै नभएर ठगीजन्य गतिविधिहरू बढ्दो क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ । यस्ता घटनामा ग्राहक, कर्मचारी, व्यवस्थापन पक्ष र कतिपय अवस्थामा सञ्चालक समितिका सदस्यहरूको समेत संलग्नता देखिएको छ। ‘बैंकिङ क्षेत्रका ठगीका स्वरूपहरूमा नक्कली धितो राख्ने, बचतकर्ताको निक्षेपको दुरुपयोग गर्ने, ऋणलाई अन्य उद्देश्यमा प्रयोग गर्ने, झुटो मूल्यांकन गर्ने गतिविधिहरु देखिएका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

बैंकहरूले यस्ता गतिविधिहरू नियन्त्रण गर्न संस्थागत सुशासनलाई बलियो र पारदर्शी बनाउँदै सूचना प्रवाहको परिपाटी बसाल्न आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ । यस्तै जोखिम व्यवस्थापन प्रणालीमा सुधार र कर्मचारीको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने राष्ट्र बैंकले बताएको छ ।

डिजिटल बैंकिङको विकासँगै बढेको प्रविधि जोखिम

बैंकिङ क्षेत्रमा सुविधा र दक्षताको कारण डिजिटल बैंकिङको प्रयोग तीव्र रूपमा बढेको छ । तर, यससँगै प्रविधिसम्बन्धी जोखिम र नकारात्मक असरहरू पनि बढिरहेका राष्ट्र बैंकले जनाएको छ ।

‘बैंकिङ क्षेत्रमा साइबर सुरक्षासम्बन्धी खतरा, डाटा गोपनीयता समस्याहरू, ठगी तथा पहिचानको चोरी, तेस्रो पक्ष सेवा प्रदायकसँग सम्बन्धित जोखिमहरू बढेका छन्,’ राष्ट्र बैंकले प्रतिवेदनमा भनेको छ । राष्ट्र बैंकले नै डिजिटल बैंकिङलाई प्रबर्द्धन गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूले डिजिटल वित्तीय चेतना, कर्मचारीहरूको निरन्तर सीप विकासमा ध्यान दिनुपर्ने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्ः

‘वाणिज्य बैंकहरु नै ब्याजदर उतारचढावको जोखिम विश्लेषण नगरी प्रोडक्ट पेपर बनाउँछन्

कर्जा दुरुपयोग भए/नभएको अनुगमन गर्ने प्रणाली वाणिज्य बैंकमै छैन: राष्ट्र बैंक

राष्ट्र बैंककै रिपोर्ट भन्छ: दुरुपयोग भएकाे कर्जा पनि असल प्रकारमा वर्गीकरण गर्छन् बैंक