‘वाणिज्य बैंकहरु नै ब्याजदर उतारचढावको जोखिम विश्लेषण नगरी प्रोडक्ट पेपर बनाउँछन्’

371
Shares

काठमाडौं । वाणिज्य बैंकहरुले नै ब्याजदर जोखिम तथा विदेशी विनिमय जोखिमको पहिचान, मापन तथा न्यूनीकरणका लागि नीति, कार्यविधि विकास नगरेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बैंक सुपरिवेक्षण रिपोर्ट सार्वजनिक गर्दै ब्याजदरको उतारचढावले बैंकको वासलातमा पार्ने असरलाई विश्लेषण नगरी आफ्ना प्रोडक्ट पेपर तयार पारेको बताएको छ ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनमा त्यस्तो जोखिम विश्लेषण गरेर मात्रै प्रोडक्ट पेर बनाउनुपर्ने व्यवस्था गरे पनि बैंकहरुले त्यसलाई वेवास्ता गरेक हुन् । केही बैंकहरूसँग ब्याजदरको उतारचढावबाट उत्पन्न हुने जोखिमको मूल्यांकन तथा सम्बोधनका छुट्टै वृहत् नीति नबनाएको राष्ट्र बैंकले उल्लेख गरेको छ । ब्याजदर जोखिम न्यूनीकरणका लागि यस्तो नीति आवश्यक भए पनि बैंकहरुले त्यसलाई व्यवस्था गरेका हुन् ।

बैंकहरुको सम्पत्ति तथा दायित्व समितिको बैठक निक्षेप तथा कर्जामा लाग्ने ब्याजदरको पुनरावलोकन र प्रकाशन, बजार ब्याजदरको तुलनात्मक विश्लेषण, र व्यक्तिगत ग्राहकहरूको कमिसन तथा शुल्कको उतारचढावमा केनिद्रत भएको केन्द्रीय बैंकको निष्कर्ष छ । तर, उक्त समितिको बैठक लगानी पोर्टफोलियोको समीक्षा, लगानी रणनीति रणनीतिक विषयमा केन्द्रित हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

बैंकहरुले विदेशबाट ल्याएको ऋणमा समेत पर्याप्त जोखिम विश्लेषण नभएको केन्द्रीय बैंकले जनाएको छ । ‘बैंकहरूले बाह्य व्यवसायिक ऋण लिँदा सम्बन्धित जोखिमहरू, ऋण सम्झौताको नकारातमक प्रभावरुको मूल्यांकन भएको देखिएन,’ वार्षिक बैंक सुपरिवेक्षण प्रतिवेदनमा भनिएको छ, ‘बैंकहरुको जोखिम व्यवस्थापन विभागहरुले पनि यस्ता ऋणहरूको समीक्षा गरेका छैनन्। यसरी ल्याएको ऋणको प्रयोग नियामकिय व्यलवस्था अनुसार भएको छैन ।’

केही बैंकहरूले विदेशी मुद्रामा रहेको सम्पत्ति र दायित्वहरूको तरलता अन्तरबाट हुने जोखिमको तयारी तथा निगरानी गर्ने अभ्यास नगरेको केन्द्रिय बैंकले जनाएको छ । केही बैंकहरूले विदेशी विनियमको नेट ओपन पोजिसनका लागि जोखिम स्वीकृति सीमा समेत नतोकेको बैंब सुपरिवेक्षणको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

बैंकहरुले बाह्य परिस्थितिबाट उत्पनन हुने वित्तीय जोखिमलाई ध्यान नदिएको केन्द्रिय बैंकले उल्लेख गरेको छ । ‘आकस्मिक वित्तीय योजना तयार गर्दा महामारी, प्राकृतिक प्रकोप, तरलता संकट जस्ता बाह्य परिस्थितिबाट उत्पन्न हुने जोखिमलाई ध्यान दिएका छैनन्,’ प्रतिवेदनमा भनिएको छ ।

बैंकहरूको सम्पत्ति-दायित्व समितिले समपत्ती र दायित्वको अवस्थाको रिपोर्टिङ मात्रै गरेको तर, सम्पत्ति-दायित्व व्यवस्थापनमा सक्रिय सोच, उपाय र सुझावहरु अभाव देखिएको प्रतिवेदनमा उल्लेख छ । ‘सम्पत्ती दायित्व समितिले वासलता भन्दा बाहिरिको जोखिम, त्यसको प्रवृत्ति र ती जोखिमहरूलाई लगानी गर्दा हुने प्रभावको विश्लेषण गरेको देखिएन,’ प्रतिवेदनमा भनिएको छ ।

केही बैंकहरूले लगानी तथा निष्कासनसम्बन्धी विवरणहरू सेयरको लागत, प्राप्त बोनस तथा लाभांश, भुक्तानी गरिएका शुल्क तथा कमिसन, हालको बजार मूल्यको आधारमा नाफा-नोक्सान जस्ता विवरण अझै पनि म्यानुअल अभिलेखमार्फत राख्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

बैंकहरूमा अझै पनि भण्डार भल्ट र नगद व्यवस्थापनमा सुधारको खाँचो देखिएको केन्द्रिय बैंकले जनाएको छ । भल्ट प्रवेशको अभिलेख राम्रोसँग नराख्ने, भल्टको पहुँच नियन्त्रणमा कमजोरी, नगद ओसारपसराको अनुचित व्यवस्थापन, ‘क्लिन नोट’ नीति पालनामा कमजोरी रहेको केन्द्रिय बैंकले जनाको छ ।

बैंकहरुमा चेक तथा कार्ड व्यवस्थापनसम्बन्धी अभिलेख राख्ने कार्यमा समेत कमजोरी देखिएको छ। हस्ताक्षर प्रमाणीकरणमा त्रुटि, चेक तथा कार्ड जारी गर्दा अभिलेख राख्नमा कमजोरी जस्ता समस्याहरू देखिएका जनाएको हो । केही बैंकका शाखाहरूमा डिपोजिट भौचरमा सिस्टम प्रिन्टेड सूचनाको व्यवस्था नभएको केन्द्रिय बैंकले जनाएको छ । बैंकहरुले सीसीटीभी व्यवस्थापन ९० दिनभन्दा कम ब्याकअप, धमिलो दृश्य, बिग्रिएका क्यामेरा जस्ता समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।