
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन् ।
बिपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययनन तथा विकास संस्थापनले आज आयोजना गरेको ‘आगामी बजेटका प्राथमिकताहरु’ विषयक विशेष अन्तरसंवाद कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका डा महतले राजनीतिक पूर्वाग्रह नराखी योग्य र व्यावसायिक व्यक्तिलाई गभर्नर नियुक्त गरिनुपर्ने धारणा राखे ।
‘गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण कुरा हो’, प्रवक्ता डा महतले भने, ‘जसले निरपेक्ष भावले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्छ त्यस्तो व्यक्तिलाई गभर्नर नियुक्त गर्नुपर्छ।’
आगामी आर्थिक वर्षको बजेट सन्तुलित र अनुशासित हुनुपर्नेमा जोड दिँदै प्रवक्ता डा महतले भने, ‘बजेट वर्षभरिको आम्दानी र खर्चको विवरण हो । आम्दानी खर्च जुटाउने, स्रोतको सुनिश्चितता हुने र हाम्रा आवश्यकता तथा प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ।’ मौद्रिक नीति र वित्त नीतिलाई लयमा लैजानुपर्ने उहाँको भनाइ थियो ।
प्रवक्ता डा महतले प्रशासनिक खर्च घटाएर पुँजीगत खर्च बढाउनेगरी बजेट व्यवस्थापन हुनुपर्ने सुझाव दिए । देखाउनकै लागि ठूलो बजेट ल्याइने गरेको दृष्टान्त प्रस्तुत गर्दै उनले भने, ‘आम्दानी स्रोतको सुनिश्चितता हुनुपर्छ । पुँजीगत खर्च बढाउनुपर्छ, त्यसैले बजेट लोकप्रय हैन अनुशासित हुनुपर्छ । प्राथमिकीकरणका आधारमा बजेट बनाइनुपर्छ ।’
सामाजिक सुरक्षा, शिक्षा, पर्यटन, सूचना प्रविधि, उत्पादनमूलक क्षेत्र आदिलाई बजेटले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
नपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले मुलुकको विद्यमान आर्थिक अवस्थालाई सुधार्नेगरी आगामी बजेटले प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘देशको आर्थिक अवस्था लचिलो भएको छ । स्रोतसाधनको सही उपयोग गर्न आम्दानीभन्दा खर्च बढी छ । ऋणले खर्च धान्नुपरेको छ, यो अवस्थालाई सुधार्न बजेटले ध्यान दिनुपर्छ ।’
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले प्रतिफल दिने क्षेत्र र मुख्य पूर्वाधार सम्पन्न हुनेगरी बजेट विनियोजन गरिनुपर्ने बताए।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेलले अर्थतन्त्रलाई सही मार्ग दिन नीतिगत र संरचनागत सुधार जरुरी भएको औँल्याए ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बजेट परम्परागत हुने गरेको उल्लेख गर्दै आर्थिक क्षेत्रलाई चलायमान हुनेगरी प्राथमिकता प्राप्त आयोजना समेटिनुपर्नेमा जोड दिए । उनले बजेट स्रोतको सुनिश्चितता हुनेगरी सन्तुलित र पूर्वाधारमा लगानीयोग्य हुनुपर्ने सुझाव दिए।
को र कस्तो गभर्नर क्लिकमान्डुको विशेष श्रृंखला हेर्न यहाँ क्लिक गर्नुस् ।
प्रतिक्रिया