
काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंकले सो कार्यका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैंकले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० अनुपात कायम गर्न प्रिमियम मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकबाट एफपीओ निष्कासन गर्ने अनुमति पाएको बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट यो प्रस्ताव अनुमोदन गरेको छ ।
राष्ट्र बैंकको स्वीकृती र साधारण सभाको अनुमोदनसँगै सेयर निष्कासन प्रकृयाका लागि बैंक सेबोनमा पुगेको हो ।
क्यापिटल एडुकेसी फ्रेमवर्कअनुसार वाणिज्य बैंकहरुले ६ प्रतिशत प्राथमिक पुँजीमा २.५ प्रतिशत क्यापिटल कन्भर्सेसन बफरसहित ८.५ प्रतिशत न्यूनतम प्राथमिक पुँजीकोष (टायर वान) कायम गर्नुपर्छ । साथै पुरक पुँजीबाट २.५ प्रतिशत गरी कुल ११ प्रतिशत पुँजीकोष चाहिन्छ ।
चैत मसान्तसम्म बैंकको प्राथमिक र कुल पुँजीकोष पुुगेको छैन । प्राथमिक पुँजीकोष ८ प्रतिशत मात्रै छ । यस्तै बैंकको कुल पुँजीकोष अनुपात ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ । चैत मसान्तसम्म हिमालयन बैंकको यस्तो अनुुपात १०.८४ प्रतिशत रहेको छ ।
यसले गर्दा बैंकले राम्रो आयोजनामा लगानी गर्न सक्ने स्थिती छैन । बैंकले एफपीओ निष्कासन गरेर पुँजी थप्ने र पुँजीकोष तोकिए अनुसार पुरा गरेर लगानी गर्न सक्ने छ ।
बैंकले प्रिमियम मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्न लागेको हो । १ अर्ब बढीको सेयर निष्कासन गर्ने जनाइएको छ ।








प्रतिक्रिया