
काठमाडौं । नेपालबाट पछिल्लो ९ महिनामा १ खर्ब ८८ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि चैत सम्ममको ९ महिनामा भएको यो निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६५ प्रतिशतले बढेको छ । गत वर्षको चैतसम्ममा नेपालबाट भएको निर्यात १ अर्ब १३ अर्ब रुपैयाँको थियो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापार करिब १५ खर्ब रुपैयाँको भएको छ । यो व्यापार गत वर्ष यही अवधिको तुलनामा भने १६.८९ प्रतिशतले बढेको देखिएको छ । विभागकाअनुसार गत वर्ष १२ खर्ब ८१ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।
नेपालमा पछिल्लो ९ महिनामा १३ खर्ब ३० अर्ब रुपैयाँको आयात भएको छ । यस्तो आयात पछिल्लो ९ महिनामा ११ खर्ब ६७ अर्ब रुपैयाँको थियो । गत वर्षको तुलनामा यो वर्षको चैतसम्ममा निर्यात १२.८१ प्रतिशतले बढेको पनि तथ्यांकले देखाएको छ ।
यो अवधिमा नेपालको व्यापार घाटा ११ खर्ब २१ अर्ब रुपैयाँको छ ।
यस्तो व्यापार घाटा पछिल्लो ९ महिनामा ६.४५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यो अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ८१ अर्ब रुपैयाँ थियो ।
यो अवधिमा नेपालमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । नेपालमा पछिल्लो ९ महिनामा सबैभन्दा बढी आयात डिजेलको भएको छ । डिजेल ९१ अर्ब २६ करोड रुपैयाँको आयात भएको छ ।
यो अवधिमा पेट्रोल ४७ अर्ब ७७ करोड रुपैयाँको आयात भएको छ भने ग्यास ४६ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ।
नेपालमा पछिल्लो ९ महिनामा २५ अर्ब रुपैयाँको स्मार्ट फोन आयात भएको छ ।
नेपालमा पछिल्लो ९ महिनामा १६ अर्ब ३ करोड रुपैयाँको सुन आयात भएको पनि तथ्यांकले देखाएको यस्तो सुन आयात गत वर्ष २०८०/८१ मा २ अर्ब ३६ करोड रुपैयाँको आएको थियो । अघिल्लो वर्ष २०७९/८० मा २ अर्ब २३ करोड रुपैयाँको सुन आयात भएको थियो ।
यस अघि सबैभन्दा बढी २०७८/७९ मा ३५ अर्ब ६८ करोड रुपैयाँको सुन आयात भएको थियो । त्यस अघि कारोना काल २०७७/७८ मा २७ अर्ब ३४ करोड रुपैयाँको सुन आयात भएको पनि भन्सार विभागको तथ्यांकले देखाएको छ।








प्रतिक्रिया