के असारबाट ग्वार्को फ्लाइओभर सञ्चालनमा आउला ?

581
Shares

काठमाडौं । सरकारले आगामी असारबाट ग्वार्को फ्लाइओभर सञ्चालनमा ल्याउने गृहकार्य सुरु गरेको छ । तर सुक्खा समयले साथ दिएको अवस्थामा मात्रै असारबाट यो फ्लाइओभर सञ्चालनमा आउनेछ ।

गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार अहिले ठेक्केदार कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीले निर्माणको क्रममा औंल्याएको ६ प्रकारका गम्भीर त्रुटीलाई सुधार गरी तिव्र गतिमा निर्माण कार्य गरिरहेकाले आगामी वर्षात महिनाअगावै सञ्चालनमा ल्याइनेछ ।

‘आगामी असारदेखि जसरी पनि ग्वार्को फ्लाइओभर सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको छ,’ क्लिकमान्डुसँग केन्द्रका सिनियर डिभिजनल इन्जिनियर पुजन गिरीले भने, ‘तर अहिलेको जस्तै जेठ महिनामा पनि बर्षा भइरह्यो भने असारबाट सञ्चालनमा ल्याउन सकिदैंन ।’

उनका अनुसार निर्माणसम्बन्धी केहि महत्वपूर्ण काम गर्न बाँकी रहेकाले उक्त निर्माण कार्य सम्पन्न गर्न सुक्खा समय चाहिन्छ । दुई ब्रीज जोड्न स्ल्याव निर्माण र वाल निर्माण, ब्रीज र वालबीचको ग्याप भर्न कंक्रिटको ढलान र कालोपत्रे गर्ने काम बाँकी छ ।

यस्ता महत्वपूर्ण निर्माणहरु बर्षा अगावै जसरी पनि सक्नुपर्ने ठेक्केदार कम्पनीलाई ठूलो दबाब छ । अहिलेकै जस्तो बर्षा भइराख्यो भने ति महत्वपूर्ण निर्माणका काम प्रभावित भएर आगामी असारबाट फ्लाई ओभरलाई सञ्चालनमा ल्याउन लक्ष्य तुहिन सक्ने गिरीले जानकारी दिए ।

दुई ब्रीज जोड्न स्ल्याव निर्माण र वाल निर्माण गर्न कम्तिमा १५ देखि २० दिनको अवधी लाग्छ । यस्तै ब्रीज र वालबीचको ग्याप भर्न कंक्रिटको ढलान गरिसकेपछि जमाउनको लागि कम्तिमा २८ दिनसम्म फ्लाइओभरमा सवारी साधन गुडाउन नपाइने गरी अवधी कुर्नुपर्छ । त्यसपछि कालोपत्रे गर्ने कामको लागि २ देखि ३ दिनको समय लाग्छ ।

यसरी हेर्दा यस्ता महत्वपूर्ण निर्माणका कार्यका साथै अन्य छुटफुट कामहरु सक्न अझै करिब ५१ दिन जति लाग्ने भएको छ । यो समयअनुसार आगामी जेठको २४ गतेभित्र सम्पूर्ण निर्माण कार्य सक्नुपर्ने दबाब ठेक्केदार कम्पनीलाई छ ।

‘ठेक्केदार कम्पनीलाई हामीले जसरी पनि आगामी जेठ मसान्तभित्र काम सम्पन्न गर्न समयसीमा दिएका छौं,’ उनले भने,‘निर्माण सक्नुपर्ने समयसीमाको चर्को दबाब भएपनि सरकारले तोकेको मापदण्डअनुसार नै ठेक्केदार कम्पनीले निर्माण गर्नुपर्छ । गुणस्तरमा कुनै पनि प्रकारको हेलचेक्राई अब सरकारले सहँदैन ।’

फ्लाइओभरको सम्पूर्ण निर्माण सम्पन्न पश्चात् आगामी ५ वर्षसम्म त्यसको सञ्चालन र मर्मत सम्भारलगायतका जिम्मेवारी निर्माणकर्ता कम्पनीकै हुने भएकाले निर्माणको क्रममा कुनै त्रुटी पुनः पाइए सोहि कम्पनीले आफ्नो खर्चमा सुधार गरी निर्माण गर्नुपर्ने गिरीले जानकारी दिए ।

फ्लाइओभर निर्माणको क्रममा ठेक्केदार कम्पनीले मापदण्डविपरित निर्माण भएको फ्लाइओभरको पुल र मेकानिक्याली स्टाब्लिजाइड अर्थ वाल (एमएसई वाल) सहित ६ प्रकारका गम्भीर त्रुटी गरेको थियो ।

सातदोवाटोतर्फबाट कोटेश्वर आउने क्रममा बायाँतर्फको मंगलबजारतर्फ र्याम्प वालमा गम्भीर त्रुटी पाइएको थियो ।

यो सहित ६ वटा त्रुटीलाई सुधार गर्न केन्द्रले ठेक्केदार कम्पनीलाई पटक पटक तत्कालीन समयमा पत्राचार गरेको थियो । यो पत्राचारका कारण ठेक्केदार कम्पनीले पहुँचको भरमा केन्द्रका तत्कालीन प्रमुख इन्जिनियर प्रभात झालाई केन्द्रबाट सरुवा गराएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो ।

सम्झौता मापदण्डअनुसार गुणस्तर कायम गरि निर्माण गर्न ठेक्केदारलाई ‘नोटिस टु करेक्ट’ पत्राचार भएपछि गत पुस १८ गतेदेखि माघको २२ गतेसम्म गरी एक महिनासम्म ठेक्केदार कम्पनीले निर्माणको काम अलपत्र पारेका थिए ।

चौतर्फी दबाब परेपछि ठेक्केदार कम्पनीले औंल्याइएको त्रुटीलाई सुधार गरी निर्माण कार्य अघि बढाउन सहमत भएपछि गत माघ २३ गतेबाट पुनः निर्माण कार्य सुचारु गरेको थियो ।

गिरीका अनुसार ग्वार्को फ्लाइओभरको गवार्को–बालकुमारी(उत्तरतर्फ) ३२० मिटर र ग्वार्को–सातदोवाटो(दक्षिणतर्फ) १८० मिटरको र्याम्प मध्ये दक्षिणतर्फको छोटो र्याम्पमा बैज्ञानिक मापदण्डअनुसार माटोको गुणस्तर समान नरहेको र समान रुपमा ति माटोलाई नदवाइका(कम्प्रेसन) ले उक्त र्याम्पमा समस्या आएको थियो ।

यो समस्याका कारण दक्षिणतर्फको प्रिकास्ट प्यानल वाल सम्पूर्ण रुपमा भत्काएर नयाँ निर्माण गरिएको छ ।

ठेक्का अन्तर्गत ३० मिटर स्पान भएको ४ लेन प्रिकास्ट गिर्डर पुल, मेकानिक्याली स्टावलाइज्ड अर्थ वाल (एमएसई वाल) भएको ५ सय मिटर एप्रोच सडक, सबवेस निर्माण र ट्राफिक लाइट जडानको काम गर्नुपर्ने थियो । सम्झौताअनुसार फ्लाइओभर ४९० मिटर रहनेछ । फ्लाइओभरको उचाई भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६ मिटरको राखिएको छ ।

आठ लेनको कोटेश्वर सातदोवाटो सडकको बीचको चार लेनमा यो फ्लाइओभर निर्माण भइरहेपनि दायाँबायाँका सर्भिस लेन भने हालकै अवस्था अनुसार रहनेछ ।

फ्लाइओभर निर्माणपछि चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभू सडक खण्डमा सवारी साधनलाई सुरक्षित, सहज तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा प्राप्त हुने विश्वास लिइएको छ ।

यसमध्ये पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यस्तै क्रयास ब्यारिएरको काम भइरहेको छ । कोटेश्वरतर्फ ३२० मिटरमध्ये हालसम्म करिब ३ सय मिटरको हाराहारीमा निर्माण सम्पन्न भएको छ ।

यसैगरी ३२० मिटरको सबवेसमध्ये अहिलेसम्म १५० मिटरको काम सम्पन्न भएको छ । अब यसमा १७० मिटर निर्माण गर्न बाँकी छ । एप्रोच सडक र एमएसई वालमध्ये सातदोवाटोतर्फ एसएमई वालको निर्माण कार्य पनि अहिले भइरहेको छ ।

बैशाखभित्र एमएसई वालको काम सकेर त्यसमा कंक्रिट ढलान गर्ने लक्ष्य राखिएको गिरीले जानकारी दिए ।

‘निर्माण गर्दा गर्दै त्रुटी पाइएपछि भत्काएर पुनः निर्माण गर्नुपर्ने र निर्माण सम्पन्न नहुँदासम्म भौतिक प्रगतिमा गणना गर्न नमिल्ने भएकाले हालसम्म ८२ प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको छ,’ गिरीले भने ।

सरकारले ईन्जिनियरिङ खरिद निर्माण (इन्जिीनियरिङ्ग प्रक्योरमेन्ट कन्ट्रक्सन–ईपीसी) अवधारणाअन्तर्गत ग्वार्को फ्लाइओभर निर्माण गर्न आशिष–समानान्तर–रेलिगेर जेभीसँग २०७८ फागुन १२ गते सम्झौता गरेको थियो । यो फ्लाइओभरको लागत खर्च १७ करोड ६ लाख ८८ हजार रुपैयाँ थियो ।

सम्झौताअनुसार यो फ्लाइओभर २०८० फागुन १५ गतेसम्म गर्नुपर्ने अवधी तोकिएको थियो । त्यो अवधीमा निर्माण सम्पन्न नहुँदा २०८१ पुष ८ गते निर्माण सक्नुपर्ने समयसीमा दिएर पहिलो पटक म्याद थप गरिएको थियो ।

तर यो अवधीमासमेत निर्माण सम्पन्न नभएपछि कूल ठेक्का रकममा ०.५ प्रतिशत हर्जाना (दैनिक करिब ८५ हजार रुपैयाँ जरिवाना) लाग्ने गरी ठेक्केदार कम्पनीलाई २ सय दिनको समय थप गरिएको थियो

पटक पटक म्याद थप भएपनि यो फ्लाइओभरको निर्माण सम्पन्न नहुँदा ग्वार्को चोकमा हुने जामका कारण सर्वसाधारणले सास्ती व्यहोर्नुका साथै धुलो खान बाध्य छन् । ललितपुरको ग्वार्को चोकमा हुने चर्को ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यले सडक विभागले यो फ्लाई ओभरको निर्माण गराइरहेको छ ।

Skip This