चैतमा भयो वर्षकै उच्च जग्गा कारोबार, सहरका महँगो जमीनले राजस्व पनि सर्वाधिक

1k
Shares

काठमाडौं । चालु आर्थिक वर्षमा घरजग्गाको कारोबार अघिल्लो वर्षको तुलनामा घटे पनि राजस्व भने बढेको छ । गत वर्षको जस्तो कम मूल्यांकन भएका जग्गाको भन्दा पनि बढी मूल्यांकन भएका (सहरका) जग्गाको कारोबारमा वृद्धि हुँदा चालु आर्थिक वर्षमा घरजग्गाको कारोबारमा हुने लिखत पारित घटेपनि राजस्व भने बढेको देखिन्छ ।

चैतमा चालु आर्थिक वर्ष लागेपछिकै धेरै कित्ताकाट र राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको असार मसान्तमा ४४ हजार ५७१ लिखत पारित हुँदा ५ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्ष लागेपछि लिखत पारित त्यसभन्दा माथि भएपनि राजस्व नाघ्‌न सकेको छैन । तर, चैतमा भने चालु आर्थिक वर्षकै धेरै लिखत पारित र राजस्व संकलन भएको हो । यद्यपी गत वर्षको असारको भन्दा तलै छ ।

चैतमा ४९ हजार ८३२ लिखत पारित हुँदा ४ अर्ब ३९ करोड ७४ लाख राजस्व संकलन भएको भुमिव्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । यसअघि पुसमा ४८ हजार १५६ लिखत पारित हुँदा ४ अर्ब २५ करोड २२ लाख राजस्व संकलन भएको थियो । यस्तै फागुनमा ४६ हजार ६१ लिखत पारित हुँदा ४ अर्ब १२ करोड राजस्व संकलन भएको थियो । आर्थिक वर्षको अरु कुनै पनि महिनामा राजस्व ४ अर्ब पुग्ने सकेको छैन ।

माघयता लिखत पारित अघिल्लो वर्षको तुलनामा लगातार घटेको भएपनि राजस्व भने बढेको छ । माघमा १४.७२ प्रतिशतले बढेको राजस्व, फागुनमा १४.६८ प्रतिशत र चैतमा ११.२९ प्रतिशतले बढेको हो । चैतमा लिखत पारित यो आर्थिक वर्षकै उच्च भएपनि अघिल्लो वर्षको तुलनामा ०.८४ प्रतिशतले घटेको छ ।

आर्थिक वर्षको तेस्रो त्रैमास सकिँदा घरजग्गा कारोबारमा लिखत पारित अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.५८ प्रतिशतले घटेको छ । तर, घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्व भने यस अवधिमा १३.८१ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको चैतसम्म कुल ३ लाख ७४ हजार १७१ लिखत पारित हुँदा ३३ अर्ब २२ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा ३ लाख ८० हजार १७५ लिखत पारित हुँदा २९ अर्ब १९ करोड ३५ लाख राजस्व प्राप्त भएको थियो । आर्थिक वर्ष २०७९/८० को चैतसम्म ३ लाख २१ हजार ३ सय ७ वटा लिखत पारित हुँदा ३० अर्ब २ करोड २५ लाख राजस्व संकलन भएको थियो ।

गत आर्थिक वर्षमा घरजग्गाको लिखत पारित उल्लेख्य बढेपनि राजस्व बढ्न सकेको थिएन । तर, चालु आर्थिक वर्षमा भने लिखत पारित गत वर्षको तुलनामा घटेपनि राजस्व बढेको छ ।

घरसहितको जग्गा र तुलनात्मक रुपमा उच्च मूल्यांकन भएका सहरी क्षेत्रमा जग्गाको कारोबार हुँदा लिखत पारित कम भएपनि राजस्वमा वृद्धि हुने भुमिव्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता वेद प्रसाद अर्याल बताउँछन् ।

‘घरसहितको जग्गा बिक्री हुँदा त्यसबाट राजस्व बढी उठ्छ । मूल्य बढी भएको क्षेत्रमा २/४ वटा मात्रै कारोबार भएमा पनि त्यसले राजस्वमा धेरै असर गर्छ,’ उनले भने, ‘लिखत पारित कम भएपनि बढी मूल्यका जग्गाहरु कारोबार भएमा त्यसले राजस्व बढाउन सहयोग गर्छ ।’

लिखत पारित कम भएपनि राजस्व बढ्नुले महँगो मूल्यका जग्गा कारोबार भयो भन्ने देखिने अर्यालले बताए । यद्यपी कोशी पूर्वको तराई र मधेश प्रदेशको पनि केही नयाँ सहरको रुपमा विकास हुँदै गरेको क्षेत्रमा नै घरजग्गाको कारोबार उच्च देखिएको उनले बताए ।

नबिल बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली चैतमा बैंकहरुले तेस्रो त्रैमासको वित्तत्तीय विवरण प्रकाशित गर्नुपर्ने भएकोले गैर बैंकिङ सम्पत्ती बेच्न पनि बल गरेको बताउँछन् ।

साथै केही ऋणीले जग्गा बेचेर भएपनि ऋण तिर्ने प्रयासले घरजग्गाको कारोबार र राजस्वमा पनि सुधार आएको हुनसक्ने बताउँछन् । अर्थतन्त्रको अन्य गतिविधमा पनि केही सुधारउन्मुख देखिएको र घरजग्गा तथा सेयर बजारमा पनि केही सकारात्मक संकेत देखिँदा बैंकहरुको रिकभरीमा पनि केही सुधार भएको ज्ञवाली बताउँछन् ।

राजस्वमा काठमाडौं उपत्यका र कारोबारमा पुर्वी तराई अगाडि
राजस्व संकलनमा काठमाडौं उपत्यका अगाडि देखिँदा कारोबारमा भने पुर्वी तराईका शहरउन्मुख क्षेत्रका मालपोत कार्यालय अगाडि देखिन्छन् । लामो समयदेखि लिखत पारितमा सुनसरीको इनरुवा मालपोत कार्यालय अगाडि देखिन्छ । चैतमा पनि उक्त मालपोतबाट सर्वाधिक १ हजार ८९६ लिखत पारित भएको छ ।

त्यस्तै झापाको भद्रपुर मालपोतमा १ हजार ८०४ लिखत पारित हुँदा मोरङको बेलवारी मालपोतमा १ हजार ७१४ लिखत पारित भएको भुमि व्यवस्थापन तथा अभिलेख कार्यालयको तथ्यांक छ । धनुषाको जनकपुरधाम मालपोतबाट १ हजार ५३८, सप्तरीको राजविराज मालपोतबाट १ हजार ४०९, सर्लाहीको मलंगवा मालपोतबाट १ हजार २४७ र सिराहा मालपोत कार्यालयबाट १ हजार १६१ लिखत पारित भएको छ ।

त्यस्तै कैलालीको धनगढी मालपोत कार्यालयबाट १ हजार ८५, भक्तपुर मालपोतबाट १ हजार ६१ र मोरङको विराटनगर मालपोतबाट १ हजार २३ लिखत पारित भएको भुमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

चैतमा पनि राजस्व संकलनमा ललितपुरको लगनखेल पालपोत नै अगाडि छ । उक्त कार्यालयबाट ३७ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै काठमाडौंको कलंकी मालपोतबाट ३३ करोड ४५ लाख, काठमाडौंको डिल्लिबजार मालपोतबाट ३१ करोड ५७ लाख, तथा काठमाडौंकै चावहिल मालपोतबाट २९ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको भुमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

यस्तै भक्तपुर मालपोतबाट २७ करोड २६ लाख, कास्की मालपो्‌तबाट २३ करोड ८२ लाख चितवन मालपोतबाट १३ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसले पनि चैतमा सहरी क्षेत्रका महँगो मूल्य भएका घरजग्गा कारोबार भएको देखाउँछ ।