
अमेरिकालाई पुनः औद्योगिकीकरणको बाटोमा डोहोर्याएर महान् बनाउने उद्देश्यका साथ अन्य मुलुकबाट अमेरिकामा आयात हुने वस्तुमा अतिरिक्त कर लगाउने घोषणा गरेलगत्तै राष्ट्रपति डोनल्ड ट्रम्प त्यसलाई अस्थायी रोक लगाउन बाध्य भएका छन् ।
अमेरिकाको समकक्षी प्रतिद्वन्द्वी चीनका विरुद्ध १४५ प्रतिशत आयातकरको घोषणा ट्रम्पले गरेका थिए । चीनलाई चर्को आयातकरको तरवार झुण्ड्याएर आफूसँग सम्झौता गर्न बाध्य बनाउन सकिने सोचका साथ उनले यो घोषणा गरेको भए पनि चीन झुकेन । उल्टो, चीनले त्यसको सशक्त प्रतिकार गर्दै अमेरिकी वस्तुको आयातमा १२५ प्रतिशत कर लगायो । यस व्यापारयुद्धमा आफू अन्तिमसम्म डटिरहने उद्घोष चीनले गरेपछि ट्रम्पले स्मार्टफोन, कम्प्युटर तथा अन्य विद्युतीय सामानको आयातमा लगाइएको अतिरिक्त कर अस्थायी रूपमा निलम्बन गर्ने घोषणा गरे ।
एप्पल र एनभिडिया जस्ता विशाल प्रविधि कम्पनीहरू चिनियाँ उत्पादनमा निर्भर छन् । त्यसैले चीनबाट आउने सामानमा कर बढाउँदा उनीहरूलाई अप्ठ्यारो पर्छ । प्रविधि कम्पनीहरूको समर्थनमा राष्ट्रपति बनेका ट्रम्पले उनीहरूलाई गाह्रो हुने निर्णयमा कायम रहन असम्भव थियो । विश्वव्यापी आपूर्ति शृंखलालाई अनायास तोडेर अमेरिकालाई प्रविधि लगायत सबै क्षेत्रमा पूर्णतया आत्मनिर्भर बनाउने ट्रम्पको सपना तत्कालै साकार हुने छैन भन्ने तथ्यलाई यस प्रकरणले साबित गरेको छ ।
बाइडन प्रशासनले मूल्यवृद्धिमा नियन्त्रण गर्न नसकेको भन्दै आक्रोशित मतदाताले ट्रम्पलाई जिताएको कुरा पनि स्मरणीय छ । चिनियाँ विद्युतीय उत्पादनमा कर लगाउँदा अमेरिकी ग्राहकहरूलाई त्यही सामान महंगो पर्न जाने र उनीहरूको आक्रोश बढ्ने सम्भावनालाई ट्रम्प प्रशासनले विचार गरेको देखिन्छ ।
हुन पनि सन् २०२४ मा चीनबाट अमेरिका भित्रिएका वस्तुहरूको सूचीमा स्मार्टफोन सबभन्दा माथि थियो । त्यो वर्ष ४१.७ अर्ब डलर बराबरका स्मार्टफोन चीनबाट अमेरिकामा आयात गरिएका थिए भने ३३.१ अर्ब डलर बराबरका ल्यापटपहरू आएका थिए भनी अमेरिकाको सेन्सस ब्यूरोको आँकडाले देखाउँछ ।
यस्तो स्थितिमा चिनियाँ आयातमा १४५ प्रतिशत त परैको कुरा जम्मा ५४ प्रतिशतको आयातकर लगायो भने मात्र पनि एप्पलको आईफोनको मूल्य अहिलेको १६ सय डलरबाट बढेर २३ सय डलर पुग्ने अर्थविद्हरूको प्रक्षेपण छ । अनि चीन र अमेरिकाले एकअर्काका विरुद्ध १२५ प्रतिशत आयातकर लगाउने हो भने त द्विदेशीय व्यापार लगभग ठप्प नै हुने उनीहरू आकलन गर्दछन्।
त्यसैले चीनलाई झुकाएर आफूअनुकूलको सम्झौता गराउन सकिने ट्रम्पको अपेक्षा नै मूर्खतापूर्ण देखिन्छ । चीनका विरुद्ध ट्रम्पको आर्थिक दबाबको रणनीति तीनवटा गलत अनुमानमा आधारित छ ।
पहिलो, चिनियाँ अर्थतन्त्र पूर्णरूपमा निर्यातमा आधारित छ भनी ट्रम्प प्रशासनले विश्वास गरेको छ । तर वास्तवकिता के हो भने चीनको राष्ट्रिय स्तरमा उपभोग (डोमेस्टिक कन्जम्पशन) ले आर्थिक वृद्धिको ४४.५ प्रतिशत ओगटेको छ र देशभित्रैको उपभोगले चीनको कुल गार्हस्थ्य उत्पादनमा २.२ प्रतिशतले वृद्धि गरेको छ ।
दोस्रो, अमेरिका नै चीनको सबभन्दा ठूलो बजार हो त्यसैले अमेरिकी बजारमा रोक लगाउँदा चीनलाई झुकाउन सकिन्छ भन्ने ट्रम्प प्रशासनको सोच छ । तर ट्रम्पको अघिल्लो कार्यकालको तुलनामा चिनियाँ वस्तुको अमेरिकी निर्यात निकै घटेको छ । चीनको कुल निर्यातको १५ प्रतिशत भन्दा कम भाग मात्र अमेरिकी बजारले ओगटेको छ जबकि सन् २०१८ मा यो लगभग १९ प्रतिशत थियो । चीनले अमेरिकाबाट गर्ने आयात पनि घटाएर वैकल्पिक स्रोतहरू विकसित गरिरहेको छ । जस्तै, कृषिजन्य उत्पादनहरूका लागि चीनले अमेरिकाको साटो ब्राजिल र अस्ट्रेलियासँग व्यापार बढाएको छ ।
तेस्रो, चीनका विरुद्ध चर्को आयातकर लगाउँदा अमेरिकी व्यापारिक प्रतिष्ठानहरू अमेरिकामै उत्पादनका लागि फर्किन्छन् (रिशोरिङ) भन्ने ट्रम्प प्रशासनको अपेक्षा थियो । त्यसो गर्दा अमेरिकामा रोजगारी सिर्जना हुने र विदेशी आपूर्ति शृंखलामा परनिर्भरता कम हुने ट्रम्पको सोच थियो । तर अधिकांश अमेरिकी कम्पनीहरूले अमेरिकामा उत्पादन गर्नुको साटो चर्को आयातकरबाट उत्पन्न शुल्कवृद्धिलाई सहँदा वा श्रम मूल्य न्यून भएका मेक्सिको र भियतनाम जस्ता मुलुकमा कारखानाहरू सार्दा आफूहरूलाई सस्तो पर्ने निष्कर्ष निकालेका छन् ।
यी कटुसत्यहरूको सामना गरिरहेको ट्रम्प प्रशासनले मुक्ति दिवस (लिबरेशन डे) नाम दिँदै भियतनाम (४६ प्रतिशत) र कम्बोडिया (४९ प्रतिशत) जस्ता मुलुकमा चर्को आयातकर लगाउनुको प्रमुख कारण पनि चीन नै हो (भलै अहिले त्यसमा अस्थायी रोक लगाइएको छ) । ती देशमा चिनियाँ लगानीमा अभिवृद्धि भइरहेकाले त्यहाँ उत्पादित वस्तुमा चर्को कर लगाउँदा त्यो लगानी निरुत्साहित हुने ट्रम्प प्रशासनको विश्वास छ । त्यसबाट बच्नका लागि भियतनामले चिनियाँ व्यापारमा केही रोक लगाउने सोच बनाइरहेको बताइन्छ ।
तर ट्रम्पका यस्ता कदमहरूले चीनलाई झुकाउन नसक्ने देखिएको छ । विभिन्न दबाब खेपिरहेको भए पनि चिनियाँ अर्थतन्त्रले उत्थानशीलता र रणनीतिक दूरदर्शिता देखाउँदै आएको छ । मेड इन चाइना २०२५ नामक पहलमार्फत चीन अहिले विद्युतीय गाडी, द्रुत गतिको रेल, सोलार प्यानल तथा लिथियम ब्याट्री जस्ता हरित प्रणालीहरूमा अग्रणी मुलुक बनेको छ । एआईको क्षेत्रमा तीव्र प्रगति गर्दै चीनले च्याटजीपीटीलाई पनि पछि पार्ने गरी डीपसीक एआई ल्याएको छ । यसरी प्राविधिक प्रगतिमा जोड दिएर चीनले बाह्य आर्थिक दबाबको जोखिम न्यून गर्न सफलता पाएको छ ।
त्यसका अतिरिक्त, चीनले बेल्ट यान्ड रोड इनिशिएटिभ (बीआरआई) मार्फत विश्वव्यापी प्रभाव बढाएको छ । नेपाल सहित संसारभरिका १४० भन्दा बढी मुलुकहरू सदस्य रहेको बीआरआईले क्षेत्रीय सम्पर्क अभिवृद्धिको लक्ष्य लिएको छ । यससँग सन् २०४० सम्ममा विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनलाई ७१ खर्ब डलरले बढाउने क्षमता रहेको विश्लेषकहरू बताउँछन् । यस्ता पहलहरूले संसारभरि चीनको आर्थिक सम्बन्ध बढाउने मात्र नभई वैकल्पिक बजारमा पहुँच पनि बढाउँछ । त्यो अवस्थामा अमेरिकी आयातकरको खासै असर पर्दैन ।
साथै, चीनसँग रहेको विशाल विदेशी मुद्रा सञ्चितिले पनि उसको आर्थिक स्थिरतामा योगदान गरेको छ । पछिल्लो आँकडा अनुसार, चीनसँग ३२ खर्ब डलरभन्दा बढीको विदेशी मुद्रा सञ्चिति छ । यसले विश्वव्यापी आर्थिक समस्याहरूका विरुद्ध कवचको काम गरेको छ र चीनका राष्ट्रिय/अन्तर्राष्ट्रिय उद्योग/व्यापारहरूमा रणनीतिक लगानी गर्न चीनलाई समर्थ बनाएको छ।
यही बलले गर्दा चीनले अमेरिकासँगको व्यापारयुद्धमा सुदृढ अडान देखाएको हो । त्यसो त आर्थिक सबलताका कारण मात्र नभई अमेरिकाको चर्को तथा अन्यायपूर्ण आयातकरलाई चीनले आफ्नो विगतको इतिहास र राष्ट्रिय पहिचानसँग पनि जोडेको छ । उन्नाईसौं र बीसौं शताब्दीमा विदेशी शक्तिहरूले चीनमाथि गरेको दमनलाई चिनियाँहरू लज्जाको शताब्दी (सेन्चुरी अफ ह्युमिलिएशन) का रूपमा वर्णन गर्छन् । ट्रम्पको चर्को आयातकर त्यही विदेशी दमनको नयाँ रूप हो भन्ने चिनियाँहरूको सोच छ र त्यसको सशक्त प्रतिकार गर्न उनीहरू प्रतिबद्ध छन् । यस भावनाले गर्दा चिनियाँ जनता बाह्य दबाबको प्रतिरोध गर्ने आफ्नो सरकारको नीतिलाई समर्थन गर्छन् ।
चिनियाँ वस्तुमा चर्को आयातकर सम्बन्धी नीतिमा अस्थायी रोक लगाउने ट्रम्प प्रशासनको निर्णयले विश्व व्यापारको जटिलता र एकपक्षीय संरक्षणवादी नीतिको सीमिततालाई उजागर गरेको छ । चीनको रणनीतिक आर्थिक पहल, प्राविधिक विकास तथा स्थिर आर्थिक स्रोतले अमेरिकी आयातकरको असरलाई न्यूनीकरण गरेको मात्र नभई चीनलाई बलियो विश्वव्यापी आर्थिक शक्तिका रूपमा पनि उभ्याएको छ ।
वास्तवमा भन्ने हो भने अमेरिकाले चीनसँग जित्न नसकिने व्यापारयुद्ध गर्नुको साटो भौतिक पूर्वाधार, शिक्षा, अनुसन्धान तथा प्रविधिमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्छ । चीनको उदयलाई रोक्ने व्यर्थको प्रयासलाई छोडेर सहअस्तित्वको सिद्धान्तलाई अंगीकार गर्दै वस्तुगत सम्बन्ध कायम राख्नुपर्छ । डलरको प्रभुत्वको बलमा संसारभरि दादागिरी गर्दै आएको अमेरिकाले अब संसार बहुध्रुवीय बनिसकेको यथार्थलाई स्वीकार गर्नुपर्छ ।
आयातकर प्रकरणले सुसंगतिपूर्ण तथा रणनीतिक नीतिनिर्माणको महत्त्वका बारेमा अमेरिकालाई गतिलै पाठ पढाएको देखिन्छ । विश्व अर्थतन्त्रको वास्तविकतालाई विचार नगरिकन ढुलमुले रूपमा आयातकर लगाउने र हटाउने अनि चीन तथा अन्य मुलुकहरूका विरुद्ध आक्रामक व्यापारनीति अंगीकार गर्ने ट्रम्प प्रशासनको कदम स्वयं अमेरिकाका लागि नै प्रत्युत्पादक ठहर्छ।
प्रतिक्रिया