विदेशमा बसेका नेपालीले खाता खोल्दा राष्ट्रिय परिचय पत्र नचाहिने

476
Shares

काठमाडौं । विदेशमा बसेका नेपालीले बैंक खाता खोल्दा राष्ट्रिय परिचय पत्र नचाहिने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको एक निर्देशन अनुसार विदेशमा बसेर खाता खोल्ने नेपाली नागरिकलाई यस्तो परिचयपत्र नम्बर नचाहिने व्यवस्था गरेको हो ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइनमार्फत बैंक खाता खोल्न दिएको यो सुविधा नेपाल फर्र्किएपछि भने अद्यावधिक गर्नुपर्ने छ ।

यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिइ अद्यावधिक गराउनुपर्ने व्यवस्था भएको छ । विदेशमा बसेका नेपालीलाई सहजीकरण गर्न यस्तो व्यवस्था गरेको राष्ट्र बैैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था पनि भएको छ ।