दुर्गम क्षेत्रमा हवाई उडान गर्न जहाज अभाव भोगिरहेको बेला सरकारी ध्वजाबाहकलाई बलियो बनाउन सकिएको छैन । निजी क्षेत्र नाफामुखी मात्रै भएकोले सेवामूलक उडान प्राथमिकतामा पर्दैन । निजी क्षेत्रले आर्थिक क्षमता बलियो नहुँदै र दीर्घकालीन योजनाबिना नै जहाज कम्पनी सञ्चालन गर्न खोज्ने र नियामकको अंकुशका कारण अहिले पनि त्रिभुवन विमानस्थलमा ५ चिनियाँ जहाज बाहेक नै १० वटा निजी क्षेत्रका वायुयान थन्किएर बसेका छन् ।

काठमाडौं । आन्तरिक गन्तव्यमा प्रतिस्पर्धात्मक उडान गरिरहेका तीनवटा वायुसेवाका १० वटा जहाज वर्षोदेखि ग्राउण्डेड भएका छन् । एक हेलिकप्टर र तीन वायुसेवा कम्पनीसँग उडानयोग्य जहाज भएर पनि नियमित उडानमा भने प्रयोग हुन सकेका छैनन् ।
निजी क्षेत्रको हेलिकप्टर सेवाप्रदायक मुस्ताङ एयरले डेढ वर्षअघि एउटा नयाँ हेलिकप्टर ल्याएको छ । तर, उक्त हेलिले उडानै गर्न पाएको छैन ।
साढे चार वर्ष अगाडि एउटा हेलि ल्याएर उडान थालेको यो हेलिले अर्को थप गर्न नपाउँदै उड्डयन नियम पूरा गर्न नसकेको र तोकिएको मापदण्ड पालना गर्न नसकेको भन्दै प्राधिकरणले उडानमै रोक लगाइदिएको छ । २०७७ कात्तिकमा पहिलो हेलिकप्टर किनेर उडान शुरु गरेको मुस्ताङको आन्तरिक समस्याकै कारण अहिलेसम्म उडान गर्न नपाएको हो ।
उक्त हेलिकप्टर कम्पनीसँग दुईवटा एयरक्राफ्ट भएपनि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको शर्त तथा उड्डयन नियामकको प्रक्रिया पूरा गर्न नसक्दा वर्षोदेखि विमानस्थलमै थन्किएको छ ।
मुस्ताङ नामको उक्त हेलिकप्टर कम्पनीका उडानयोग्य २ वटा हेलि हुँदाहुँदै पनि यसले व्यवसायी उडान गर्न नसकेका कारण यसको करोडौंको लगानी डुबेको छ ।
मुस्ताङ हेलिका प्रबन्ध निर्देशक रोनन लामिछानेका अनुसार हेलि भित्रिएको ६ महिनासम्म उड्न नसक्दा नियमित मर्मतमा हुने खर्च र उडानयोग्य बनाइरहनुपर्ने चुनौती सबैलाई हुन्छ । उनका अनुसार मुस्ताङले हेलि उडानको तयारी पूरा गरिसकेकोले यही अप्रिल तेस्रो साताबाट उडाउने तयारी भइरहेको छ ।
‘हेलिको तर्फबाट उडान गर्न तयारी भइरहेको छ । प्राधिकरणले तोके अनुसारको आवश्यक रिक्वायरमेन्ट पूरा गरिसकेका छौं,’ लामिछानेले भने ।
यो वायुसेवा कम्पनीसँग २ वटा हेलि भए पनि प्राधिकरणले तोकेकाे आवश्यक प्रक्रिया पूरा गर्न नसकेका कारण यसले नयाँ ल्याएकोसहितको हेलि उडाउन नसकेको उड्डयन प्राधिकरणको भनाइ छ । प्राधिकरणले हवाई उड्डयन सुरक्षाका लागि तोकिएको प्रक्रिया पूरा नगरेका र आवश्यक तयारी पूरा नभएका कुनै पनि वायुसेवाले उड्न नपाउने बताएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पनि मुस्ताङलाई मात्रै नभएर आवश्यक प्रक्रिया पूरा नगरेका अरु वायुसेवाले पनि उडान अनुमति नपाएको बताए । ‘उड्डयन कानूनको पालना गरेर आएका र तोकिएको शर्त सबै पूरा गरेका वायुसेवालाई रोक्नुपर्ने कुनै कारण छैन,’ भुलले भने, ‘प्राधिकरण वायुसेवालाई सहजीकरण गर्न नै बसेको छ । यसले उड्ड्यन सुरक्षा सुधारमा जोड दिने कुनै पनि वायुसेवालाई रोक्ने र छेक्ने गर्दैन ।’
प्राधिकरणबाट उडान सञ्चालन अनुमति लिन नसकेका कारण एउटा जहाज दुर्घटनापछि अर्को एउटा जहाज भएको सौर्य एयरलाइन्स पनि गत साउन ९ देखि ग्राउण्डेड छ । यो वायुसेवा कम्पनीले अहिलेसम्म उड्डयन प्रक्रिया पूरा गरेर अर्को एउटा जहाज उडाउन सकेको छैन । यसले जहाज उडानमा गरेको गम्भीर त्रुटीका कारण ९ साउनमा दुर्घटनामा परेको जहाजका यात्रुले बिमा रकम अझै पाउन सकेका छैनन् ।
यो वायुसेवा कम्पनीको आर्थिक अवस्था कमजोर भएका कारण यसले तत्कालै जहाज दुर्घटनामा परि ज्यान गुमाएका परिवारका सदस्यलाई बिमा रकमसहितका विषय सम्बोधन गर्न नसकेको कारण यसको उड्डयन भविष्य नै डामाडोल भएको छ । सौर्यले अर्को जहाज समेत ल्याउन सकेको छैन् ।
पटकपटक जहाज सञ्चालनको प्रयास गरेको गुण एयरलाइन्ससमेत लामो समयदेखि थन्किएको छ । यो वायुसेवा कम्पनीसँग ७ वटा जहाज छन् । जहाज भएर पनि उड्डयन प्राधिकरणबाट पूरा गर्नुपर्ने उड्डयन मापदण्ड पूरा नगरेका कारण गुण एयरलाइन्सले उडान गर्न नपाएको हो ।
कर्मचारीको दायित्व भुक्तानी गर्न नसकेको, बक्यौता राखेर जहाज उडाउँदा वायुसेवा कम्पनी आर्थिक संकटमा फसेकोले यसबाट हवाई उडान सुरक्षामा कमजोरी हुनसक्ने भन्दै उड्डयन प्राधिकरणले ८ फागुन २०७९ मा गुणलाई उडानमा रोक लगाएको थियो ।
गुणले उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने दायित्वको जरिवानासहित पौने ७ करोड १६ असार २०८१ चुक्त गरेर पुनः उडान अनुमतिको माग गर्यो । तर, यसले समयमा नै उडान गर्न नसक्दा पर्यटन मन्त्रालयबाट लिनुपर्ने इजाजतपत्रको अविधि २०८१ वैशाखमै सकियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर गत असोजमा तेस्रो साता इजाजतपत्र नवीकरण गराएको भएपनि यसले अब पुनः नयाँ इजाजतसरह सुरुदेखिकै प्रक्रिया पूरा गर्न उड्डयन प्राधिकरणले निर्देशन दियो ।
प्राधिकरणले पुनः नयाँ प्रक्रिया सुरु गर्नुपर्ने भनेपछि भर्खरै यो वायुवाले प्रारम्भिक चरणको पहिलो प्रक्रिया पूरा गरेको छ । प्राधिकरण गुण एयरलाइन्सप्रति नकारात्मक भएका कारण हालसम्म उडान उडन नसकेको हो ।
प्राधिरकणका महानिर्देशक प्रदीप अधिकारी गुण एयरलाइन्सप्रति सकारात्मक छैनन् । सोही कारण यसले बक्यौता तिरेर र भएकै जहालाई उडाउँदै नयाँ ल्याउने तयारी गर्न खोज्दा अधिकारीले दिएनन् । हवाई उड्डयनमा नियामककै असहयोगले गुण एयरलाइन्सले उड्न नपाएको चर्चा छ ।
त्यसो त गुण एयरलान्सले तीन वटा जहाज बिक्रीको अन्तिम तयारीमा छ । यसले तीन वटा जहाज बेचेर एटीआरमा जाने योजना बनाएको छ । हाल ५ वटा जेटस्ट्रीम र २ वटा डोर्नियर जहाज रहेको गुण एयरले भएका जहाज उडान गर्दै नयाँ रणनीति बनाउने बताएको छ ।
गुण एयरलाइन्सका महाप्रवन्धक योगराज शर्मा कँडेलका अनुसार नियामकले सुरुदेखि नै प्रक्रिया पूरा गर्न भनेकोले सोही अनुसारको तयारी भएको बताए । यो वायुसेवाले नियामकलाई तिर्नुपर्ने दायित्व पूरा गरेर नयाँ रणनीतिका साथ अगाडि बढ्दै छ । हालका जहाजलाई उडान गर्दै नयाँ विकल्पमा जाने गरी भएकै केही जहाज उडाउने तयारीलाई गुणले तीब्रताका साथ अगाडि बढाएको पनि शर्माले बताए ।
त्यसो त लामो समयदेखि उडान सञ्चालन गर्न खोजेको बीबी एयरवेजले पनि उडान गर्न नसेको छैन । यो वायुसेवालाई उड्डयन प्राधिकरणले एयरवसका ३ वटा न्यारोबडी ल्याउन एक वर्ष अगाडि नो नब्जेक्सन सर्टिफिकेट (एनओसी) दिएको थियो ।
प्राधिकरणले २०८० फागनु २९ मा बीबी एयरवेजलाई जहाज ल्याउन अनुमति दिएको थियो । उक्त अनुमति २७ फागुनबाट सकिएपछि फेरि अर्को अनुमति बनाउने दौडधूपमा बीबी एयरवेज छ । तर, यसको पनि जहाज आउने टुंगो भने छैन् ।
गैरआवासीय नेपाली भवन भट्टको यो वायुसेवाले पटक पटक जहाज उडानको तयारी गरेको भए पनि अहिलेसम्म यसको योजनाले सार्थकता पाउन सकेको छैन् । बीबीले नो अब्जेक्सनको समयसीमा घर्काएकोले अब फेरि नयाँ प्रक्रियाबाट जानुपर्ने भएको छ । बीबीले भने तीनवटा न्यारोबडी जहाजको खोजी गरिरहेको छ पनि बताएको छ ।
यसअघि आफैंले जहाज खरिद नगरी भाडामा ल्याउँदा डुबेको बीबी एयरवेजले १२ वर्षपछि फेरि उडान सुरु गर्न जहाज खोज्दा पनि भाडाकैलाई बढी जोड दिएको छ । यसले अहिले बजारमा खोजेजस्तो जहाज नपाएको र एयरवसको ३२० प्रकृतिको जहाज नभेट्टाएको कारण विभिन्न कम्पनीसँग भाडामा ल्याउने विषयमा कुराकानी भने नरोकेको दाबी गरिरहेको छ ।
हवाई उड्डयन क्षेत्रका जानकाहरुका अनुसार बीबीले लगानी गर्न नसकेको र उपयुक्त योजना बनाएर काम गर्न नसक्दा पटक पटक असफल भएको देखिएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई सेवा सञ्चालन गर्न खोज्ने र लगानीकर्ता कमजोर धरातलमा उभिएका कारण उनीहरुको प्रयास पटकपटक असफल भइरहेको छ । प्राधिकरणको चाहना कुनै पनि वायुसेवालाई रोक्ने र छेक्ने काम नगरेको उनले बताए ।
सम्बन्धित वायुसेवाले नै तोकिएको मापदण्ड पूरा नगर्ने, उड्डयन मापदण्ड र शर्त पूरा गरेर आउन नसकेको र कमजोर आर्थिक धरातलमा सेवा सञ्चालन गर्न खोजेका कारण समस्या देखिएको पनि भुलले बताए । उनका अनुसार वायुसेवा कम्पनीको आर्थिक अडिट गर्न पाउनुपर्ने अधिकार प्राधिकरणलाई नहुँदासम्म समस्या आइरहन सक्छन् ।
सम्बन्धित वायुसेवा आर्थिक अडिट गर्न कानूनी व्यवस्था गरेर दिनुपर्ने र यसले वायुसेवा कम्पनीलाई बेलैमा सचेत गराएर थप आर्थिक क्षति हुनबाट रोक्न सक्ने अधिकार प्राधिकरणलाई चाहिएको पनि उनले बताए । नियामक निकायले पालना गर्न नसक्ने शर्त नराखेको र सेवाप्रदायक नै कमजोर हुँदा उड्डयन क्षेत्रको सकारात्मक सन्देश नै जान सकेको छैन् ।
त्यसो त नेपालमा जहाज उडाएर लाभ गर्न नसक्ने जहाज ल्याएका कारण नेपाल वायुसेवा निगमको ५ वटा जहाज त्रिभुवन विमानस्थलमा कोरोना महामारिपछि अलपत्र छ ।
२०७७ साउनदेखि थन्किएका यी जहाज उडाउँदा पनि घाटा र थन्काउँदा पनि घाटा भइरहेकाले यसलाई विस्थापन कसरी गर्ने भन्ने विषय निगमको टाउको दुखाइ बनेको छ ।निगमका लागि सरकारले चिनियाँ ऋणमा ल्याएको यो जहाज कमिसनका लागि आएको र निश्चित व्यक्तिको स्वार्थ पूरा भए पनि जहाज थन्किएको छ ।
प्रतिक्रिया