सेयर बजारमा तीब्र उतारचढाव, सूचक ९.६६ अंकले बढ्दा साढे ४ अर्बको कारोबार

42
Shares

काठमाडौं । तीब्र उतार चढाबकाबीच सेयर बजारमा सामान्य सुधार आएको छ ।

बुधबार कारोबारको सुरुवाती समयमा सामान्य अंकले उकालो लागेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११ बजेर १५ मिनेटमा २६७३.२३ बिन्दुमा खुम्चिन पुग्यो । त्यसपछि उकालो लागेर नेप्से ११ बजेर ४४ मिनेटमा २७०१.०९ विन्दुसम्म पुगेपनि त्यसबाट घटेर १२ बजे २६८५ बिन्दुुमा कायम भयो ।

यसपछि साढे १२ बजे नेप्से पुनः २७०० नजिक पुगेपनि उक्त बिन्दुमा टिक्न सकेन । साढे १२ बजेपछि बजार निरन्तर घट्दै २ बजेर ३६ मिनेटमा २६७२.२२ बिन्दुसम्म खुम्चियो । तर, अन्तिम समयमा भने बजार उकालो लाग्दै ९.६६ अंकको वृद्धिका साथ २६७६.२८ बिन्दुमा रोकिएको छ ।

बुधबार नेप्से बढेपनि कारोबार भने घटेको छ । आज नेप्सेमा कुल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा ५ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये १५४ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ । यस्तै, एकको सेयर मूल्य भने स्थिर छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.९९ प्रतिशतले बढेको छ ।

यस्तै, सिन्धु विकास बैंकका सेयर मूल्य भने ७.४७ प्रतिशतले घटेको छ । बुधबार बैंकिङ र व्यापार समूह बाहेक सबै समूहको सेयर मूल्य बढेको छ । आज बैंकिङ समूह इन्डेक्समा ०.०३ प्रतिशतको गिरावट आउँदा व्यापार समूह ०.४० प्रतिशतले घटेको छ । होटल तथा पर्यटन समूहको सेयर मूल्य २.४४ प्रतिशतले बढ्दा लगानी समूहमा १.४८ प्रतिशत र उत्पादन समूहमा १.३६ प्रतिशतको सुधार आएको छ ।