
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पटकपटक नकारात्मक अभिव्यक्ति दिएको र सम्बन्धित वायुसेवालाई उडान तालिका राख्न प्रोत्साहन नगरेका कारण भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प भएको व्यवसायीको भनाइ छ ।
भैरहवाका व्यवसायीहरुको छाता संस्था सिद्धार्थ सञ्जाल रुपन्देहीले अधिकारीले भैरहवा विमानस्थल सञ्चालनमा सहयोग गर्नुको साटो पटक पटक नकारात्मक अभिव्यक्ति दिएको र सोही कारण यो विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान तथा अवतरण ठप्प भएको सञ्जालको भनाइ छ ।
सञ्जालले भनेको छ ‘अधिकारीको पटक पटकको नकारात्मक अभिव्यक्तिप्रति उद्योगी, व्यवसायी तथा पर्यटन व्यवसायी घोर भत्सना गर्दछौं । अधिकारीको कारण यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेकोले उनलाई कारवाही गर्नुपर्छ ।’
सञ्जालले २४ चैतमा एक प्रेस विज्ञप्ति जारी गरेरै अधिकारीलाई उड्डयन प्राधिकरणको महानिर्देशक (डीजी) पदबाट बखास्त गरेर यो विमानस्थल सञ्चालन गर्नुपर्ने आशयको माग गरेका छन् ।
सञ्जालले भनेको छ ‘अधिकारीलाई यथाशीघ्र कारवाही गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गर्नपर्नेमा जोड दिइएको छ । ’ सञ्जाललले अधिकारीलाई कारवाही नगरे र विमानस्थल सञ्चालनमा सहयोग नगरे आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया